५५ वर्ष अघिको गीतको व्यथा अझै उस्तै: ‘बागलुङको बजार,पधेर्नीलाई दुःख हजार’


खेमराज गौतम, बागलुङ

पूर्व बग्ने कालिगंगा, पश्चिम काठेखोला,
थाप्लो माथीको बागलुङेले कहिले फेर्ने चोला
बागलुङको बजार, पधेर्नीलाई दुःख हजार

कुखुराको भाले बासो हे..पधेर्नी उठ,
पधेरामा भइसक्यो पानी लुटालुट
बागलुङको बजार, पधेर्नीलाई दुःख हजार

जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा तत्कालिन धौलागिरी अञ्चलको अञ्चलाधीसको कार्यालय हालको जिल्ला प्रशासन कार्यालय बागलुङको प्राङ्गणमा गाउनुभएको गीत हो ‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’ । जनकवि केशरी बागलुङ जिल्ला भ्रमणमा आएका बेला बागलुङ बजारमा भएको खानेपानीको हाहाकार र पानीका लागि महिला(पधेर्नी)हरुको दुःख देखे पछि तयार गरिएको गीत २०२३ सालमा धौलागिरीका तत्कालीन अञ्चालधीश कार्यालयको प्राङ्गणमा आयोजना गरेको सांगीतिक साँझमा गाउँदा उपस्थित धेरैको मन जितेको थियो ।

उक्त कार्यक्रममा प्रस्तुत गीत सुनेर प्रत्यक्ष ताली बजाएको स्मरण बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा आचार्यले सुनाउनुहुन्छ । साँगीतिक साँझमा पुगेका अधिकाँश बागलुङबासीले बागलुङ बजारको खानेपानी दुःख र समस्याका विषयमा तत्कालै बनाएर गाएको गीत छोटो समयमे जनजिब्रोमा झुण्डिएको थियो । गीतका धेरै टुक्का मध्ये दुई टुक्का रामरेखा निवासी ८४ वर्षिय दुर्गा आचार्यलाई अझै सम्झना छ । २८ वर्षको ठिटो हुँदा सुनेको गीतमा प्रस्तुत गरिएको व्यथा अझै पनि जस्ताको तस्तै रहनु दुर्भाग्य रहेको आचार्यको भनाई छ ।

५५ वर्ष अघि धर्मराज थापाले गीत गाएपछि नेपालमा धेरै कुरा परिवर्तन भयो । बागलुङमा विकासले धेरै फड्को मा¥यो तर खानेपानीको समस्या उस्तै छ । अहिले पहिले जस्तो विहान विहानै पधेरामा धाउनु पर्ने बाध्यता त छैन । तर, घरमै भएको धारामा बेला बेलामा लामो समय देखिने खानेपानीको समस्याले बजारबासीलाई सकस दिने गरेको छ ।

बर्खायाममा बागलुङमा खानेपानी समस्या र खानेपानीका लागि स्थानीय बजार बाहिर धाउनुपर्ने बाध्यता नियमित जस्तो बन्ने गरेको छ । “धेरै कुरा फेरिए, पधेराको साटोमा घरमै धारा आए, तर खानेपानीको दुःख सकस अझै कायमै छन्” आचार्यले भन्नुभयो “बाहिरबाट बागलुङ बजार आउने जो कोहीले खानेपानीको समस्या सहजै अनुमान लगाउन सक्दछन्, गाग्री, भाँडाकुडा बोकेर हिँडेका स्थानीय बागलुङ बजारमा जताततै देखिन्छन् ।” आचार्यका अनुसार अझै गीतमा भनिएको जस्तो समस्या छ ।
अहिले तित्याङको फड्केडाँडा, गैडाकोट, उपल्ला चौरको हाँडेपाला लगायतको क्षेत्रमा बजारका स्थानीय खानेपानी ल्याउन विहान बेलुका भीड लाग्ने गरेको छ ।

बागलुङ नगर खानेपानीले वितरण गर्दै आएको खानेपानी वर्षा हुँदा साथ फोहोर आउने गरेको छ । पानीमा कोलिफर्मको मात्रा देखिदा बागलुङ बजारमा आएको पानी पिउनमा पनि कम प्रयोग गर्न थालिएको छ । हिउँदमा आवश्यकता भन्दा थोरै र बर्खामा धमिलो पानी आउने, पहिरोका कारण खानेपानी अबरुद्ध हुँदा उपभोक्ताले समस्या झेल्दै आएका छन् ।

दैनिकजसो आफूले खानेपानी तित्याङको फड्केडाँडाबाट ल्याउँदै आएको बागलुङ बजारमा डेरा गरी बस्ने माया थापाले बताउनुभयो । “हिउँदमा खानेपानी थोरै आउदा समस्या भएर पानी ल्याउन आउँछौ, बर्खामा खानेपानी आउदैन, आए पनि खोलाको भल जस्तै आउँछ, त्यस्तो पानी प्रयोग गर्ने कुरा भएन, हिँडेरै बोकेरै आवश्यकता टार्ने गरेका छौ ।” उहाँका अनुसार दैनिक १ घण्टाको समय खानेपानी ल्याउन खर्चिने गरेका छन् ।

खानेपानीको मुहान रहेको काठेखोला गाउँपालिका भौगोलिक रुपले जटिल हुनु नगरपालिका आउने पाइप लाइन उपर्युक्त स्थानबाट नल्याउदा बर्खा लाग्दा साथ पहिरोले ठाउँ ठाउँमा पाइप बगाउने गर्दा खानेपानी बितरणमा समस्या हुँदै आएको बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा लिएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । हालै मात्र पनि बागलुङ बजारमा नियमित खानेपानीको आपूर्तिमा एक साता बढी समस्या देखिएको थियो ।

डेढ दर्जन स्थानमा पहिरोका कारण पाइप लाइनमा क्षति पु¥याउँदा खानेपानीको आपूर्तीमा समस्या भइरहेको प्रबन्धक शर्माले जानकारी दिनुभयो । “जिल्ला सदरमुकाममा तीन मुहानबाट खानेपानी ल्याइएको छ, अहिले चार दिनको मर्मतपछि रेश मुहानको पानी आपूर्ती भइरहेको छ तर भूदी खोला र रिठेखोलाको पानी ल्याउन अझै मर्मत कार्य चलिरहेको छ” शर्माले भन्नुभयो “विपत्ती संग त कस्को के लाग्छ र ? अहिले रात्माटाको खानेपानी रिजर्भ ट्यांकीमा समेत पहिरोका कारण जोखिममा पु¥याएको छ ।”
नगरवासीलाई प्रयाप्त शुद्ध खानेपानी खुवाउने उद्देश्यले बागलुङ नगरपालिका र खानेपानी तथा ढल निकास विभागको समन्वयमा झण्डै ४५ करोड खर्चेर बागलुङ बजार भन्दा तल काठेखोलाको पानी लिफ्ट मार्फत शुद्धिकरण गरेर बितरण गर्ने योजना तीन वर्षदेखि निर्माणधीन छ । डिजाईन, भौगोलिक जटिलताका कारण निर्माणमा ढिला भइरहेको छ । शुद्ध खानेपानीका लागि उक्त लिफ्ट आयोजनानै कुर्नु पर्ने नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । बागलुङ जिल्ला सदरमुकाममा प्रतिसेकेण्ड ४० लिटर खानेपानी आपूर्ती गर्दै आएपनी माग भने प्रति सेकेण्ड ६० लिटर भन्दा माथी रहेको खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।

पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर, खानेपानी वितरणको जिम्मेवारी पाएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले भने वर्षा पछिको बाढी र पहिरोले अवरोध पु¥याएको समयमा बाहेक अरु बेला पानीको नियमित आपूर्ति हुने गरेको दावी गर्दै आएको छ । आर्थिक अवस्था राम्रो भएकाले जारको शुद्ध पानी खरिद गरेर पिउदै आएको भएपनि कमजोर आर्थिक अवस्था भएका नागरिकलाई भने पानी बोक्न जानुको विकल्प नभएको स्थानीयको गुनासो छ । सामाजिक सञ्जालमा वर्खाको भेल र नगरखानेपानीले वितरण गर्दै आएको पानीमा कुनै फरक नभएको समेत टिप्पणी हुँदै आएको छ ।

स्वास्थ्य कार्यालयले खानेपानीको परीक्षण गर्दा पनि नगरको खानेपानीमा पटक पटक कोलिफर्म भेटिएको थियो । आकाशबाट पानी पर्दा साथ बजारवासीको धारमा सोझै धमिलो पानी आउने गर्दछ । अहिले वितरण गर्दै आएको खानेपानी कुनै शुद्धिकरण नगरी वितरण गरिदै आएको उपभोक्ताको गुनासो छ । खानेपानीले सामान्य रुपमा शुद्धिकरण गर्दै आएको र पूर्ण रुपमा शुद्धिकरण गर्न शुद्धिकरण प्लान्ट बिग्रेको बताउदै आएको छ ।

हाल डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको ४५ करोड रुपैयाँको सह–लगानीमा काठेखोलाको पानी लिफ्टमार्फत प्रशोधन गरी वितरण गर्ने आयोजना निर्माणको काम भइरहेको यसको निर्माण पश्चात बागलुङ नगरपालिकामा खानेपानीको समस्याको समाधान हुने बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले बताउनुभयो । “बागलुङमा लामो समयदेखि पानीको चर्को समस्या भएको हामीलाई बोध भएको छ, हामी आएपछि दीर्घकालीन समाधानका लागि जिल्लामै ठूलो लिफ्ट आयोजना बनाइरहेका छौं, उक्त आयोजना बनेपछि उपभोक्ताको धारमा २४ सै घण्टा खानेपानी आउनेछ ।

खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो । तर अदालतले गरेको परमादेशको समेत अवज्ञा हुँदै आएको छ । शुद्ध खानेपानी पाउनुपर्ने नागरिकको अधिकार भएपनि बागलुङ बजार बासीले अशुद्ध पानी प्रयोग गर्दै आएका छन् । पानी नआउने र धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखला जस्ता स्वास्थ्य समस्या देखिन भएकाले उमालेर मात्रै खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *