सुनसान पातीहाल्ने र रिगताल

डम्मर बुढा मगर, बागलुङ
उच्च पहाडी ठाउँ, चिसो हावापानी, शान्त वातावरण । मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । त्यही माथि सयौँ प्रेमिल जोडी र पारिवारिक घुमघामले चहल पहल भइरहने पातीहाल्ने र रिग ताल यति बेला सुनसान छ । कोरोनाको पहिरो लहरमा समेत आन्तरिक पर्यटकको चहल पहल रहेको यस क्षेत्रमा अहिले आगमन शून्य प्रायः छ ।

यहाँबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको थियो । पातीहाल्ने र रिग तालको सौन्दर्यमा मोहित हुने दर्जनौ नागरिक कोरोनोको दोस्रो लहरका कारण घर भित्रै कैद छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यस क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको स्थानीय बताउँछन् ।

प्रयाप्त सम्भावना बोकेको यस क्षेत्र पाँच वर्ष पहिले सम्म गुमनाम अवस्थामा थियो । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार प्रसार तीव्र रुपमा हुन थाल्यो । अझ भनौ लोकमार्ग कालोपत्रे भए पछि यस क्षेत्रको मुहारै फेरिएको छ । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिग ताल पर्यटकीय गन्तव्यको रुपमा विकास हुने परिकल्पना स्थानीयले गरेका थिएनन् ।

तर, समय परिस्थिति बदलिए पछि पातीहाल्ने क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । कोरोना कहरका कारण आजभोली पातीहाल्ने कोही पुगेका छैनन् । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्याधिक भिडभाड हुन्छ । अन्य समयमा भने सानो संख्यामा पर्यटकहरु घुमघाम गर्न आउँछन् । पुस मागको समयमा पर्यटकहरु गाडी लिएर नै हिउँ खेल्न जान्छन् भने बैशाख, जेठ, असार महिनामा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् ।

गत कोरोना माहामारीकै बेला पनि सयौँ पर्यटकहरु गर्मी छल्न र हिउँ खेल्न गए भने यस वर्ष अहिलेसम्म जिल्लामा बन्दाबन्दी जारी भएको हुँदा उनीहरु त्यहाँ पुग्न सकेका छनैन् । गत वर्ष कोरानाकै बेला पनि धेरै पर्यटक गाडी नै लिएर आउने गरेकोमा यस वर्ष नआएको निसीखोला गाउँपालिका वडा नम्बर ६ की स्थानीय पुनिकला घर्ती मगरले जानकारी दिनुभयो । यसवर्ष कोरोनाबाट बढी नागरिक प्रभावित भएकाले पातीहाल्नेमा पर्यटकको चहलपल शून्य भएको उहाँ बताउनुहुन्छ । ‘गत वर्ष अहिलेको भन्दा कम जोखिम थियो, जसले गर्दा बढी मानिस गाडी लिएर घुम्न आउने गर्नुहुन्थ्यो भने अहिले हाम्रो पालिकामा पनि धेरैमा कोरोना देखियो, त्यसले गर्दा पनि होला अहिले पातीहाल्ने सुनसान छ,’ उहाँले भन्नुभयो ।

५/७ वर्ष अघिसम्म गाउँका भेडी गोठालेहरुले पानी खाने ताल र घना जंगलले ढाकिएको पातीहाल्नेमा अहिले सडकले गर्दा बस्ती बिस्तार हुन थालेको छ । ‘अहिले जुन ताल छ, त्यो पहिलो भेडीगोठालाहरुले पानी खाने ठाउँ हो, अझै पनि यहाँबाट गोठालेहरुले पानी भरेर उपयोग गर्ने गर्छन्, तर पहिलेको जस्तो रहेन, अहिले त थप व्यवस्थित भएको छ, गाउँपालिकाले पनि संरक्षण गर्न थालेको छ, पर्यटकहरु आउन थालेका छन्, निकै प्रचार पो भयो,’ उहाँले भन्नुभयो ‘पातीहाल्ने र रिग ताल सडकले गर्दा यति धेरै चर्चामा आएको छ, पहिले त त्यस्तो केही थिएन, जो कोही पुगेका पनि थिएनन् ।’

पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिग ताल पातीहाल्नेबाट १५ मिनेट उत्तर तर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नको लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ ।

रिग तालको नाम खास गरि मगर खाम भाषबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वत लगायतका ठाउँहरुको देख्न सकिन्छ भने माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका दर्जनौँ हिमश्रृंखला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । हरेक वर्ष यस क्षेत्रमा हजारौँ आन्तरिक पर्यटकहरु आउने स्थानीय बताउँछन् ।

ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्णधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको प्रचारप्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष पौडेलको भनाई छ । उहाँले यसको विकासका लागि डिपिआर तयार पारेको र तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने बताउनुभयो । ‘ताललाई थप आर्कषक बनाउनका लागि केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरि योजना बनाएका छौँ, केही कामहरु भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *