गण्डकी प्रदेशमा धौलागिरी अस्पताल उत्कृष्ट

आदर्श अनलाइन, बागलुङ
बागलुङको धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा तीन पटक सम्म गरेको मुल्याङ्कनका आधारमा ५० बेडको अस्पताल मध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० वेड क्षमता (सेकेण्डरी ए) का गोर्खा अस्पताल, म्याग्दी अस्पताल र धौलागिरी अस्पताल मध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताउनुभयो ।

अघिल्लो वर्षदेखि शुरु भएको उक्त सर्वेक्षण कार्यक्रममा गत वर्ष समेत धौलागिरी अस्पताल तीन वटा अस्पतालमै उत्कृष्ट छनोट भएको थियो । गत वर्ष ६६ प्रतिशत पाएको धौलागिरी अस्पतालले अहिले ७३ प्रतिशत पाएको छ । गत वर्षको तुलनामा अस्पतालमा धेरै सकारात्मक परिवर्तन भएको पाइएको दानीले बताउनुभयो ।

म्याग्दीको बेनी अस्पतालले ६६ प्रतिशत र गोर्खा अस्पतालले ४० प्रतिशत प्राप्त गरेको छ ।
(सेकेन्डरी ए) लेवलका गण्डकी प्रदेशमा जम्मा तीन मात्रै अस्पताल छन् । जिल्ला अस्पताल मध्येमा पर्वत जिल्ला अस्पताल उत्कृष्ट बनेको छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्यांकनका आधारमा धौलागिरी अस्पताल उत्कृष्ट भएको हो । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अंक प्रदान गरिएको थियो ।

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका रणनीतिक योजना, गण्डकी प्रदेश सरकार, जनप्रतिनिधि, स्थानीय तह तथा अन्य संघ संस्थाको सहयोग र अस्पतालको सिङ्गो टिमको सक्रियताका कारण अस्पतालको सेवामा बृद्धि भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । धौलागिरी अस्पताल बागलुङको न्युनतम सेवा मापदण्डको चालु आर्थिक वर्षमा स्थलगत अनुगमन गरिएको थियो ।

निर्देशनालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा ५७ प्रतिशत, मध्यमा ६५ प्रतिशत र आर्थिक वर्षको अन्त्यमा ७३ प्रतिशत प्राप्त गरेको हो । प्रत्येक पटकको अनुगमनमा अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुसारका कामहरु भए नभएको र देखिएका कमीकमजोरीलाई सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ ।

अस्पतालले अझै केही पक्षमा सुधार गर्ने हो भने ९० प्रतिशत ल्याउने निर्देशनालयको भनाई छ । निर्देशनालयका अनुसार इमरजेन्सी कक्ष र शल्यक्रिया कक्षमा केही परिवर्तन गर्न जरुरी रहेको सुझाव समेत दिइएको थियो ।

निर्देशनालयले दिएको सुझाव अनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

‘तीन अस्पतालमा उत्कृष्ट भएको छ, मन्त्रालयबाट आएको यो खबरले हाम्रो अनवरत खटाईको मुल्यांकन भएको महसुस भएको छ,’ डा.पोखरेलले भने, ‘अस्पतालमा अझै धेरै व्यवस्थापन र सुधार गर्नुपर्ने छ, जनशक्तिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ, हामी यो अस्पताललाई प्रदेशकै गुणस्तरिय सेवा र सुधार सहितको अस्पताल बनाउन चाहन्छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *