बागलुङ १ मा संघीय सरकारको १० योजनामा ८ करोड बजेट

आदर्श अनलाइन, बागलुङ
संघीय सरकारले बागलुङ क्षेत्र नम्बर १ मा शहरी विकास मन्त्रालय अन्तर्गत १० योजना स्वीकृत गरेको छ । बागलुङ जिल्लामा दुई वटा निर्वाचन क्षेत्र मध्ये जिल्ला सदरमुकाम समेटिएको क्षेत्र नम्बर १ मा शहरी विकास मन्त्रालय अन्तर्गत १० ठूला योजनामा ८ करोड बिनियोजन भएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

सडक स्तरोन्नती, सडक कालोपत्रे, नाली निर्माण सहितका भौतिक पूर्वाधार निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयले योजना छनोट गरेर बजेट व्यवस्था गरेको हो । पञ्चकोटमा कलश, भ्यू टावर देखि बलेवामा एकीकृत बस्ती निर्माण गर्ने योजना पनि छ । लामो समयको प्रयास पछि बागलुङ क्षेत्र नम्बर १ मा १० योजनामा ८ करोड बजेट बिनियोजन भएको निर्वतमान संघीय सांसद डा.सूर्य पाठकले जानकारी दिनुभयो ।

“पञ्चकोटले धेरै पर्यटक तान्दै आएको छ, बलेवामा एकीकृत बस्ती बनाउने भनेका थियौ, बागलुङ बजारको सडक र ढल सुधार गर्न आवश्यक थियो” डा.पाठकले भन्नुभयो “८ करोडको सबै काम भएको खण्डमा बागलुङ क्षेत्र नम्बर १ का जनताले माग गरेको बजेट तथा कार्यक्रम सम्बोधन संगै विकास हुने अपेक्षा छ ।”

शहरी विकास मन्त्रालय अन्तर्गत बागलुङ जिल्लाको अमलाचौर–गिठे–धापाखेल सडक स्तरोन्नती गर्न एक करोड, गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक स्थल बागलुङ कालिका मन्दिर आसपास पूर्वाधार निर्माण गर्न एक करोड, बागलुङ नगरपालिका–१३ जलजला देखि र वडा नम्बर १२ मा रहेको भैरवस्थान मन्दिर पुग्ने सडक कालोपत्रे गर्न ५० लाख बिनियोजन भएको छ । अहिले जलकिनि घुम्टीदेखि कालोपत्रे गर्ने तयारी भएकोमा आगामी आर्थिक वर्षमा भैरवस्थान सम्म सडक कालोपत्रे हुनेछ ।

बागलुङ नगरपालिका–१२ को गिठेदेखि अमलाचौर बजार, धापाखोला हुँदै पाग्जा जोड्ने सडक कालोपत्रे गर्न ५० लाख, बागलुङ नगरपालिका–१० ठाडे तालदेखि मान्दै हुँदै बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख, बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो कलश निर्माण गर्न रु. ५० लाख, जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजार ढलान तथा ढल निर्माण गर्न ५० लाख, बागलुङ नगरपालिका ठूलो ढुङ्गा देखि सामुदायिक भवन सम्मको सडक स्तरोन्नती गर्न ५० लाख, बागलुङ बजारमा सघन शहरी विकास अन्तर्गत मुख्य सडकको नाली तथा सडक स्तरोन्नती गर्न २ करोड र बलेवामा एकीकृत बस्ती विकासको पूर्वाधार निर्माण गर्न एक करोड बजेट विनियोजन भएको छ ।

बागलुङ बजारमा गत वर्ष देखि सडकको नाली तथा सडक स्तरोन्नतिको काम भइरहेको र थप काम गर्नका लागि दुई करोड बजेट विनियाजन गरिएको हो । विकासको आवश्यकता, जनताको माग अनुसार योजना छनौटमा समन्वय गरेको डा. पाठकले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *