बागलुङकै सुविधा सम्पन्न सभाहल ताराखोलामा

आदर्श अनलाइन, बागलुङ
जिल्लाको मात्रै होइन, साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिका बागलुङ नगरपालिका हो । अहिले बागलुङ नगरपालिका कृषि कार्यालयको भवनमा छ ।

२०५२ सालमा स्थापना भएको जेठो र ठूलो नगरपालिकाले नवौं नीति, बजेट तथा कार्यक्रम होटलमा सञ्चालन भयो । जबकि २०७३ सालमा स्थापना भएका बागलुङ नगरपालिका बाहेकका ९ पालिका मध्ये अधिकांशले आफ्नै भवन, आफ्नै सभाहलमा बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफ्नै भवन नभएका पालिका जैमिनी नगरपालिका लगायतका पालिकाले जग्गाको जोहो गर्दैछन् भने बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिकाले प्रशासकीय भवन समेत बनाइरहेका छन् ।
दुर्गम पालिका मध्येको एक ताराखोला गाउँपालिकाले भने नवौं नीति, बजेट तथा कार्यक्रम आफ्नै सुविधा सम्पन्न भवनमा सम्पन्न गरेको छ । उक्त सुविधा सम्पन्न सभाहल जिल्लाकै १० पालिका मध्ये पहिलो समेत भएको छ ।

ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलमा करिव ५०० सिट क्षमताको सभाहल निकै आर्कषक र सुविधा सम्पन्न छ । गाउँपालिकाको गाउँसभाको समाचार संकलन गर्न पुग्नुभएको नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान सचिव राम थापाले सभाहल भित्र पस्दा गाउँपालिकामा समेत सुविधा सम्पन्न सभाहल देखेर निकै खुसी लागेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको रु. एक करोड ६८ लाख र गाउँपालिकाको रु.एक करोड १२ लाख गरी २ करोड ८१ लाख ३६ हजार लागतमा निर्माण भएको सभाहल गाउँपालिकाका लागि ठूलो पूर्वाधार भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । घर्तीका अनुसार सभाहल निर्माण सम्पन्न भइसकेको छ भने संग्रहालय तथा प्रशासकीय भवन निर्माणको चरणमा छन् ।

“भौतिक पूर्वाधार बिना गाउँपालिकाको प्रशासनिक काम गर्न र अन्य योजनामा समेत समस्या हुँदो रहेछ, त्यसैले सुविधा सम्पन्न प्रशासनिक भवन, सभाहल तथा संग्रहालय निर्माण गरेका हौं” गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो “अहिले गाउँपालिकाको आफ्नै कार्यालय भए पनि साँघुरो भएको र सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण पछि अहिले भएको भवनलाई कर्मचारी आवासमा रुपान्तरण गर्नेछौं ।”

जिल्लामै सुविधा सम्पन्न पालिकाको मात्रै हैन, नीजि स्तरबाट समेत यतिको सभाहल जिल्लामा नभएको गाउँपालिकाको दाबी छ । स्थानीयले दिएको ५ रोपनी जग्गामा गाउँपालिकाको आफ्नो गौरवको योजनाको रुपमा सभाहल निर्माण गरेको हो । सभाहल बनेपछि ताराखोलाका प्रशासनिक क्रियाकलाप, सभा समारोह यसै भवनमा गर्न थालिएको छ ।

सभाहलमा राष्ट्रिय जीवन, राजनीति र सशस्त्र द्वन्द्वमा मारिएका सहीदको चित्र समेत कोरिएको छ । ताराखोलाका मात्रै २५ जना सहिद छन् । यो सभाहल भित्रै सार्वजनिक शौचालय, ड्रेसिङ कक्ष, विद्युत आपूर्ति कक्ष, स्टोर, चमेना गृह, रेष्टुराँ, बार र पार्किङको सुविधा समेत समावेश गरिएको छ ।

सभाहल निर्माण भएको अर्गल क्षेत्रमा मात्रै वर्षमा एक दर्जन बढी साँस्कृतिक महत्वका मेला हुने गर्छन् । सभाहल नहुँदा वर्षात र अन्य समस्याका कारण मेला तथा महोत्सव खर्चिलो हुँदै आएको थियो ।

गाउँपालिकाको प्रशासनिक भवनदेखि १ किमीको दुरीमा बनेको सभाहल जाने सडक स्तरोन्नती गर्ने योजना गाउँपालिकाको छ । यस्तै, घुस्मेलीदेखि गाउँपालिका केन्द्र हुँदै सभाहल पुग्ने सडक स्तरोन्नतीका लागि चालु वर्ष १ करोड ६६ लाख बजेट विनियोजन छ । उक्त बजेटमा आगामी वर्ष १ करोड थप गरेर काम पुरा गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले बताउनुभयो ।

गाउँपालिकाले गाउँपालिकाले वडा नं. १ को अमरभूमी भुस्कातमा औद्योगिक ग्राम समेत निर्माण गर्न थालिसकेको छ । औधोगिक ग्रामका लागि रु.५५ करोड लागत लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । ताराखोला गाउँपालिकाले ठूला पूर्वाधार निर्माणमा अन्य स्थानीय तहलाई पछि पारेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *