स्वास्थ्यकर्मी नै संक्रमित भएपछि तमानखोलामा कोरोना नियन्त्रणमा समस्या

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकामा फेरि कोरोना संक्रमणको बढ्दै दर गएको छ । दुई साता अगाडि शून्य संक्रमित भएको पालिकामा पछिल्लो हप्ता संक्रमितको संख्या ४५ पुगेको छ । एकै पटक स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा संक्रमित थपिँदा कोरोना संक्रमण नियन्त्रणमा समस्या देखिन थालेको छ ।

गाउँपालिकामा अहिले ४५ सक्रिय संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताउनुभयो । गाउँपालिकाका पाँच जना स्वास्थ्यकर्मी, एक कार्यालय सहयोगी समेत संक्रमित भएर होम आइशोलेसनमा रहेको छन्त्यालको भनाई छ । सिमित जनशक्ति भएको पालिकामा एकै पटक पाँच स्वास्थ्यकर्मी संक्रमित हुँदा कन्ट्रयाक टेसिङ र उपचारमा समस्या आउन थालेको छन्त्यालको भनाई छ ।

‘सिमित स्वास्थ्यकर्मी थियौँ, त्यसमध्ये पाँच जनाको कोभिड पोजेटिभ आएर होम आइसोलेशनमा हुनुहुन्छ, उहाँहरुनै कन्ट्रयाक ट्रेसिङ लगायत अन्य कार्यमा संलग्न हुनुहुन्थ्यो, उहाँहरु संक्रमित भएपछि विभिन्न वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी लिएर काम गर्नु पर्ने अवस्था छ,’ स्वास्थ्य शाखा संयोजक छन्त्यालले भन्नुभयो ‘अहिले त जसोतसो व्यवस्थापनमा जुटेका छौँ, संक्रमित थपिँदै गए समस्या पर्ने देखिन्छ ।’

स्वास्थ्यकर्मी संक्रमित बनेपछि वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीलाई झिकाएर कोरोना नियन्त्रणमा जुट्दा अन्य बिरामीको उपचारमा समेत समस्या देखिएको छ । संक्रमित मध्ये अधिकांश बोङ्गादोभान बजारका छन् । बोङ्गादोभान बजार गाउँपालिकाको केन्द्र समेत भएको र नागरिकहरुको आवत जावत बढी हुने भएको हुँदा संक्रमण फैलिएको छ । ४५ जना मध्ये एक जना वडा नम्बर ४ लामेला र अन्य ४४ जना बोङ्गादोभान बजारको रहेको छन्त्यालले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि बोङ्गादोभान बजार एक साताको लागि बन्द गरिएको उहाँको भनाई छ । बजारका होटल व्यवसाय बन्द गरे पनि गाउँपालिकाका कार्यालय र बैंक भने संचालनमा रहेको उहाँको भनाई छ । असार मसान्त नजिकिएसँगै योजानका भुक्तानी गर्नु पर्ने हुँदा बैंक तथा कार्यालय खुल्ला रहेको छन्त्यालले बताउनुभयो ।

‘संक्रमणको दर ह्वात्तै बढेको छ, संक्रमण नियन्त्रण गर्न बजार क्षेत्र बन्द गरिएको छ, तर बैंक भने खुल्लै छ, असार मसान्त लाग्न थाल्यो, योजनाको भुक्तानीहरु गर्नु पर्ने भएकाले थप संक्रमण फैलिने जोखिम छ, तर पनि व्यवस्थित गराउने प्रयासमा छौँ,’ छन्त्यालले भन्नुभयो ‘यो बेला सबै बन्द गरेर नियन्त्रणमा जुट्नु पर्ने हो तर, समय पनि त्यस्तै भयो ।’

स्वास्थ्य संयोजक छन्त्यालले सिकिस्त बिरामी परे पछि मात्रै नागरिकहरु परीक्षण गर्न आउँदा संक्रमितको संख्या बढ्न थालेको बताउनुहुन्छ । उहाँले नागरिकले लापरवाही गर्दा अहिलेको अवस्था सिर्जना भएको भन्दै कोराना संक्रमणको शंका लागे समयमै परीक्षण गराउँदा अरुमा सर्न नसक्ने र संक्रमितले पनि बेलैमा उपचार पाउन सक्ने बताउनुभयो ।

‘खासगरी नागरिकहरुको लापराहीका कारण संक्रमण बढे्न थालेको हो, उहाँहरुले सरकारले निर्देश गरेको स्वास्थ्य मापदण्डलाई पालना नगर्नु, स्वास्थ्यमा जटिल समस्या नआँदासम्म घरमै बस्ने गर्दा संक्रमण फैलिन थालेको हो, सबैले समयमै स्वास्थ्य परीक्षण र सजकता अपनाउन सके संक्रमण नियन्त्रण गर्न सहज हुने थियो’ उहाँले भन्नुभयो ‘अहिले थोरै संक्रमित छौँ तर पनि हामी निरन्तर संक्रमण नियन्त्रणका लागि लागि रहेका छौँ ।’

संक्रसमत मध्ये ५ जना बोङ्गादोभान स्वास्थ्यचौकीमा, एक जना पोखारा र अन्य होमआइशोलेसन रहेको छन्त्यालले बताउनुभयो । बोङ्गादोभान स्वास्थ्यचौकीमा उपचाररत ५ जना मध्ये तीन जनलाई अक्सिजन सहायता दिइ राखेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *