समयमा सकिदैनन् ठूला विकासे आयोजना

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरि सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् ।

२०७६ सालमा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पनि अझै विस्तारकै क्रममा छ । बागलुङ खण्डको ४२ किलोमिटर मध्ये जम्मा १० किमी मात्रै कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गरिएको एक वर्ष वितिसक्यो । उक्त सडक कहिले कालोपत्रे हुने टुङ्गो छैन । अहिले डिपिआर सकेर कालोपत्रेका लागि वातावरणीय प्रभाव मुल्याङ्कनको काम भइरहको कालिगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना त समयमै सकिदैनन् भने अन्य आयोजनाको हालत के होला ? बागलुङका दुई लाइफ लाइनका सडक आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर मात्रै हैन, बागलुङका अधिकांश ठूला आयोजनाले यस्तै नियति भोगिरहेका छन् ।

आयोजना समयमा नसकिदाँ स्थानीयहरु आक्रोशित हुँदै आएका मात्रै छैनन्, बिहुँका स्थानीय मध्यपहाडी लोकमार्गको काममा ढिलाई र चरम लापरवाही भएको र त्यसबाट सास्ती भोग्नु परेको भन्दै चरणवद्ध आन्दोलनमा छन् । सडकलाई कमाई खाने भाँडो बनाउन दुई वर्षमा सक्नु पर्ने काम पाँच वर्षमा नसकेकाका कारण आन्दोलन गर्नुपरेको स्थानीय दिपेश कंडेलले बताउनुभयो ।

बागलुङको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर, पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन ।

लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीका अनुसार बागलुङको जिल्ला सदरमुकाम देखि घोडाबाँधे सम्मको सडक अहिले कालोपत्रे गर्ने योजना भए पनि वर्षातका कारण जम्मा २ किलोमिटर मात्रै कालोपत्रे भएको छ । उहाँका अनुसार साउनमा कालोपत्रे गरिने लक्ष्य रहेको उहाँको भनाई छ ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर त एउटा उदाहरण मात्रै हो । बागलुङको आधुनिक बसपार्क निर्माण कम्पनीले सम्झौता गरेको अवधीमा दुई पटक म्याद थप हुँदा समेत सम्पन्न हुन सकेको छैन । बहुवर्षे आयोजनाको रुपमा र सात करोडको लागतमा गत वर्ष देखि निर्माणको चरणमा रहेको बलेवा विमानस्थलको धावन मार्ग अझै कालोपत्रे भएको छैन ।

असारमा जहाज चलाउने योजनाका साथ नागरिक उड्ययन प्राधिकरणले ७ करोडको लागतमा ठेक्का सम्झौता गरे पनि निर्माण सामाग्रीको अभाव देखाउदै विमानस्थल कालोपत्रेमा ढिलाई भएको छ । अहिले मौसमका कारण कालोपत्रे गर्न नसकिएको धावनमार्ग कालोपत्रेको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सनका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो ।

२०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको आधुनिक बसपार्क समयमै नसकिदाँ दुई पटक ६/६ महिना म्याद थप गरिएको छ । पछिल्लो पटक पुनः कोरोनाको कारण देखाउदै ६ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थल कालोपत्रे समेत भइरहेको छ । तर, सम्पन्न भएर सञ्चालनको लागि अझै केही समय लाग्ने बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो ।

बेनी बागलुङ सडक ठेक्का म्याद सकिए पछि कालोपत्रे शुरु भएको छ । बागलुङको रामरेखा देखि रत्नेचौर सम्मको ११ किलोमिटर सडक स्तरोन्नती संगै कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

उक्त सडक २०७६ माघ १३ गते दुई वर्षमा सक्ने गरि तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो । म्याद थपको प्रकृया संगै सडक कालोपत्रे भइरहेको छ । आयोजना समयमै नसकिदा बागलुङले विकासमा फड्को मार्न समस्या भएको छ । ठूला विकासे आयोजनामा समेत चरम व्यथिति भएसंगै नागरिकमा निराशा छाएको स्थानीय रामप्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *