मुहार फेर्दै सहिद पार्क

आदर्श अनलाइन, बागलुङ
पछिल्ला वर्षमा सहिदका सपना जस्तै अस्तव्यस्त भएको बागलुङको सहिद पार्कले क्रमशः मुहार फेर्न थालेको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङको रामरेखा देखि पाङ अदुवाबारी जोड्ने ५६७ मिटर लामो कालिगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण भएसंगै आझेल र अस्तव्यस्त अवस्थामा पुगेको सहिद पार्क पुनः व्यवस्थित गर्न थालिएको छ ।

अहिले सहिद पार्क हुँदै लामो झोलुङ्गे पुल हेर्ने पर्यटकमा वृद्धि भएसंगै आगन्तुकलाई केही समय रम्ने रमाउने गरेर पार्कको सौन्दर्यता बढाउने काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।
बागलुङको प्रवेशद्वार, कालिका भगवति मन्दिर तथा लामो पुल संगै रहेको सहिद पार्क पछिल्लो समय उपेक्षामा पर्दा स्थानीयले सहिदका सपना जस्तै पार्क समेत अस्तव्यस्त भएको गुनासो गर्दै आएका छन् । नगरपालिकाले भने पुल निर्माण गर्दा पार्क अव्यवस्थित बन्न पुगेको बताउदै आएको थियो ।

पुललाई पर्यटकको आकर्षणको केन्द्र बनाएर बागलुङमा पर्यटक भित्राउने लक्ष्य सहिद पार्कलाई आकर्षक र व्यवस्थित बनाइनेछ । पार्क व्यवस्थापनमा हाल सम्म झण्डै तीन करोड रुपयाँ खर्च भइसकेको छ । यो पर्यटकको आकर्षणको केन्द्र समेत बन्ने सम्भावना बोकेको स्थानमा भएकाले यसको यथोचित व्यवस्थापन अपरिहार्य भएको स्थानीय राजु बोहोराले जानकारी दिनुभयो ।

पुल निर्माण अघि प्रभु बैंकले ४० लाख लगानी गरेको पार्कमा अहिले वन विभाग तथा बागलुङ नगरपालिकाको साझेदारीमा दुबो लगाउने, बिरुवा रोप्ने तथा केही भौतिक पूर्वाधारको समेत काम भइरहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । वन विभागको ८० प्रतिशत र बागलुङ नगरपालिकाको २० प्रतिशत साझेदारीमा ४० लाखको लागतमा पार्कको काम भइरहेको छ । अहिले पार्कको मुहारै फेरिन थालेको छ । सहिद संगै रहेको पानी पोखरीमा पानीको फोहोरा राख्ने समेत नगरपालिकाको योजना छ ।

“पार्क घाँसले भरियो, सहिदका शालिकहरु तोडफोड भए भन्ने धेरैको गुनासो थियो, पुल निर्माण गर्दा पार्कमा केही क्षती समेत भएकाले पार्क व्यवस्थित गर्नै पर्ने भएको थियो” नगर प्रमुख पौडेलले भन्नुभयो “जिल्लाकै ठूलो र नमूना पार्क हो सहिद पार्कलाई असार मसान्त भित्रै सुन्दर बनाउने गरि काम भइरहेको छ ।”

सहिद पार्कमा रहेको पोखरीमा टायल लगाउने, सहिदहरुको शालिक राखिएको स्तम्भ मर्मत सम्भार गर्ने पार्कको पर्खाल मर्मत गर्ने, दुबो लगाउने जस्ता काम अहिले धमाधम भइरहेको छ ।

उद्यानमा सहिदका शालिक संगै बालबालिकालाई खेल्नका लागि चिप्लेटी, पिङ, युवायुवती, प्रौढ र वृद्धवृद्धा बस्नका लागि कुर्ची, विश्रामस्थल लगायतका संरचना छन् । यो उद्यान मात्र होइन, बागलुङ बजार भित्रका ऐश्वर्य पार्क समेत आगामी दिनमा आकर्षक र व्यवस्थित बनाउने नगरपालिकाको योजना छ ।

२०५७ सालमा निर्माण गरिएको उद्यानमा २००७ सालको क्रान्तिमा शाहदत प्राप्त गरेका बागलुङका सहिद थिरबम मल्ल सहित धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दको शालिक छ । तर, यसको यथोचित संरक्षण नहुँदा शालिकहरु तोडफोड हुँदै आएका छन् । त्यसैले अब पार्क व्यवस्थित गरे सँगै नगरपालिकाले पार्क हेरालु समेत राख्ने योजना बनाएको छ । उक्त पार्क २९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *