धौलागिरीमा दलित समदायमा लैङ्गिक हिंसाका घटना बढी


खेमराज गौतम, बागलुङ

बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुष समेत पीडित हुने गरेका छन् ।

पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटनाहरु बढ्दै गएकोमा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा लैङ्गिक हिंसाका घटनामा महिला मात्रै पीडित हुने आम बुझाई रहेता पनि पुरुष समेत लैङ्गिक हिंसामा पर्ने गरेको पाइएको छ ।

बागलुङमा लैङ्गिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनस्र्थापना हुनेको तथ्याङ्क हेर्ने हो भने लैङ्गिक हिंसा पीडित मध्ये केही पुरुष समेत रहेका छन् । लैङ्गिक हिंसामा पर्ने जातजाती समुदाय मध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । शैक्षिक स्तर कम हुनु, चेतनाको कमी लगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैङ्गिक हिंसाका घटना बढी मात्रामा भएको देखिएको छ ।

लैङ्गिक हिंसा पीडितहरुको परामर्श, उपचार तथा पुनस्र्थापना गर्दै आएको धौलागिरी अस्पताल बागलुङमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको र यसमा पनि दलित समुदायका बढी पीडित हुने गरेको तथ्याङ्क रहेको छ ।

२०६८ सालमा स्थापना भएको केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क आर्थिक वर्ष २०७५/७६ सम्म लगातार बढ्दै आएको लैङ्गिक हिंसा पीडितका घटनामा २०७७/७८ मा केही घटेको पाइए पनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लैङ्गिक हिंसाका घटना अस्पताल र प्रहरी सम्म आउन नसकेको लैङ्गिक हिंसा पीडितहरुको परामर्श, उपचार तथा पुनस्र्थापना गर्दै आएको धौलागिरी अस्पताल बागलुङमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो ।

“तथ्याङ्कका आधारमा २०७५÷७६ सालमा ११६ महिला तथा २० पुरुष गरी १३६ जनामा लैङ्गिक हिंसा भएको थियो, त्यसपछि २०७६/०७७ मा घटेर ८७ पुगेको थियो,” भट्टराईले भन्नुभयो “आर्थिक वर्ष २०७७/७८ को असार २१ गते सम्म ८६ लैङ्गिक हिंसाका घटना भएका छन्, कोरोनाका कारण केही लैङ्गिक हिंसाका घटना घरमै सिमित रहेको अनुमान छ ।” पछिल्लो समय लैङ्गिक हिंसाका घटना महिला पुरुषले सहेर बस्ने अवस्था नरहेका कारण दिनानुदिन लैङ्गिक हिंसाका घटना बाहिर आइरहेको भए पनि कोरोनाका कारण तथ्याङ्कमा भने केही कमी आएको उहाँको भनाई छ ।

केन्द्र स्थापना भएको वर्ष २०६८/६९ सालमा तीन पुरुष सहित २५ घटना, २०६९/७० सालमा ७ पुरुष सहित ५६, २०७०/७१ सालमा ६ पुरुष सहित ७२ घटना, २०७१/७२ सालमा ३ पुरुष सहित ७०, २०७२/७३ सालमा ११ पुरुष सहित ८४, २०७३/७४ सालमा १३ पुरुष सहित ९८, २०७४/०७५ सालमा ९ पुरुष सहित १०० र २०७५/०७६ सालमा २० पुरुष सहित १३६, २०७६/०७७ मा १७ पुरुष सहित ८७ घटना र आर्थिक वर्ष २०७७/०७८ सालमा ९ पुरुष सहित ८६ लैङ्गिक हिंसाका घटनाहरु भएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

यसरी तथ्याङ्क हेदै जाने हो भने पुरुष हिंसाका घटना समेत विस्तारै बढ्दै गएको पाइएको छ । हिंसाका घटनाहरु पहिला अस्पतालमा केन्द्र स्थापना अघि पनि भएका हुन सक्ने भए पनि अस्पतालले गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरु पछिल्लो समय खुल्न थालेका कारण घटनाको संख्यामा वृद्धि भएको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डन्ट डा.शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार बलात्कार, जर्बजस्ती विवाह, पितृ सतात्मक सोच, मनोवौज्ञानिक असर, आत्महत्याको प्रयास तथा आफ्न्त लगायतका कारण लैंगिक हिंसा हुँदै आएको पाइएको छ । हिंसा पीडितको तथ्याङ्क अनुसार अधिकांस १४ देखि ५९ वर्ष उमेर समूहका महिला पुरुष हिंसामा पर्दै आएका छन् । लैगिक हिंसामा परेकालाई उद्दार, परामर्श, औषधी उपचार देखि पुनस्थापना सम्मको काम गर्दै आएको केन्द्रले निःशुल्क खान र बस्न र यातयातको सुविधा समेत प्रदान गर्दै आएको छ ।

२०७७/७८ सालमा बलात्कार १०, यौन हिंसा १९, मानसिक दवाव ३१, घरेलु हिंसा २३, हातपातका जम्मा ३ वटा घटना घटेका थिए जस मध्ये पुरुष भने मानसिक दबाब, घरेलु हिंसा तथा हातपातमा पीडित भएका छन् । चाल आर्थिक वर्षमा पीडित भएका ८६ घटना मध्ये ७७ बागलुङ जिल्लाका, ४ पर्वत जिल्लाका र ५ म्याग्दी जिल्लाका छन् । जातजाती अन्तर्गत सबै भन्दा बढी दलित ४४ जना, जनजाती २२ जना, ब्राहमण क्षती २० जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *