झरीको यात्रामा जोखिम बन्दै मध्यपहाडी

आदर्श अनलाइन, बागलुङ
केही वर्ष अघि सम्म लामो सफर गर्नेहरुका लागि कृष्ण भीरको पहिरो टाउँको दुखाईको विषय बन्थ्यो । ठूला पहिरो निरन्तर झर्दा यात्रा अनिश्चित बन्थ्यो, जामको उस्तै सकस हुन्थ्यो । अहिले यसको कुनै गुञ्जायस छैन ।

तर, धौलागिरीवासी पर्वतको अर्मादी, चुवा लगायतका स्थानमा खसिरहेको भीषण पहिरोले कृष्ण भीरकै पहिरो र सास्तीको झझल्को गराइरहेको बताउँछन् ।

लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका­२ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरोले धौलागिरीका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको पश्चिम क्षेत्रका बासिन्दा एक साता सिधा सवारीबाट बञ्चित भए । अर्मादीमा ठूला ठूला चट्टानी ढुंगा खसेकाले बम ब्लास्टिङ गरि फुटाएर अरु पहिरो हटाए पछि मंगलबार साँझदेखि आंशिक रुपमा सडक सूचारु भएको छ ।

मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो ।

गत साता मात्रै लोकमार्गको निर्माण जिम्मा लिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर र चालक नै सोही लोकमार्गमा वर्षा भइरहेका बेला यात्रा गर्दा कुश्मा–८ दोबिल्लामा सुन्दरेखोलाले बगाएर बेपत्ता भएका थिए । खहरे भेलका कारण सडकको करीब ५० मिटर भागमा क्षति समेत पु¥याएकाले अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।

बागलुङ जिल्लाको सीमा मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो दैनिकजसो झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलामा आउने बाढीका कारण सडक अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध भए पछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र हिँडेका नागरिकले निकै सास्ती पाइरहेका छन् । सडक सञ्चालन भए पनि वर्षा भएका बेला यात्रा गर्न जोखिमपूर्ण देखिएको छ ।

कोरोना र लकडाउनका कारण पोखरा बागलुङ राजमार्गमा सार्वजनिक सवारी उल्लेख्य नचले पनि जिल्ला र धौलागिरी अस्पतालबाट रेफर गरिएका बिरामी पोखरा पु¥याउन र पोखराबाट अक्सिजन, औषधी लगायतका अत्यावश्यक सामान ल्याउन समस्या भएको छ ।

्पछिल्लो एक सातामा मात्रै धौलागिरी अस्पतालबाट रेफर गरिएका कोरोना संक्रमितलाई लाखौ खर्चेर हेलिकप्टर चार्टर गरेर पठाउने गरिएको छ । यसरी पठाउँदा एक जना बिरामीको २ लाख ५० हजारदेखि ४ लाख सम्म खर्च हुने गरेको छ । हेलि चार्टर गर्न नसक्ने जटिल प्रकारका बिरामीहरुलाई जिल्लाहरुकै अस्पतालमा राखेर उपचार जारी राखिएको छ । ‘लामो समय सडक अवरुद्ध हुँदा कोरोना संक्रमितको उपचारका लागि पोखरा लगेर भरेर ल्याउनु पर्ने अक्सिजन आपुर्तिमा समस्या भइरहेको छ,’ धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले भन्नुभयो, ‘पोखराबाट ठूलो गाडीमा पहिरो सम्म ल्यायौ, त्यहाँ सम्म ट्याक्टर पठाएर राजमार्गको पर्वत पाङ तर्फको बैकल्पिक बाटोबाट एक चरण ल्याएकाले केही सहज भएको छ ।’

बागलुङ, बेनी लगायतबाट आउजाउ गर्ने साना सवारीलाई पर्वत सहस्रधारा–पाङ–अर्मादी हुँदै वैकल्पिक सडक प्रयोग गर्न लगाइएको छ । तर वैकल्पिक सडक पनि हिलाम्य भएकाले कुन बेला पहिरो खसेर या गाडी फसेर बन्द हुने भन्ने एकिन छैन ।

एक साता लामो समयदेखि सडक अवरुद्ध जारी रहेका कारण पेट्रोलियम पदार्थको हाहाकार नै भइसकेको छ । अरु दैनिक उपभोग्य सामग्रीको पनि मूल्य बढ्न थालेको उपभोक्ताको गुनासो छ । ‘एकातिर कोरोना कहर छ, यस्तो बेलामा मुख्य राजमार्ग एक साता भन्दा लामो समयदेखि अवरुद्ध छ, दैनिक खाद्यान्नदेखि अक्सिजन, औषधि ल्याउन, बिरामी लैजान पनि कति धेरै समस्या भइरहेको छ’ नागरिक समाजका अगुवा अधिवत्ता राम शर्माले भन्नुभयो, ‘सरकार र सरोकारवाला निकायले अहिलेको संवेदनशीलतालाई बोध गरेर कदम चाल्नुपर्ने हो, यसमा ढिलाई र लापरवाही देखिएको छ ।’
निरन्तर वर्षा भएकाले बम ब्लास्टिङ र पहिरो हटाउन ढिलाई भए पनि मंगलबार साँझ एकतर्फी खुलाइएको आयोजना प्रमुख मेघराज मरासिनीले बताउनुभयो । सहायक सडकहरु स्थानीयले मनपरी डोजर लगाएर खनिएका कारण पनि मध्यपहाडी लोकमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । ‘पहाड नै झरेर अवरोध गरेपछि ब्रेकर लगाएर ढुङ्गा फोर्न र पहिरो हटाउन लामै समय लाग्यो, अहिले दुई वटा ब्रेकर र एक डोजर मार्फत काम गरिरहेका छौ, अब नियमित सडक सूचारु हुनेछ ।’

मध्यपहाडी लोकमार्गको पोखरा याम्दीदेखि बागलुङको पश्चिम सिमाना पातीहाल्ने सम्म वर्षासँगै आउने पहिरोले हुने अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण व्यवस्था गरिएको आयोजना प्रमुख मरासिनीले बताउनुभयो । ‘जहाँ जहाँ निर्माण कार्य चलिरहेको छ । त्यहाँ निर्माण कम्पनीले नै सडक खुलाउने काम गर्छ,’ उहाँले भन्नुभयो, ‘कास्कीको याम्दी घट्टेखोला, घट्टेखोला नयाँपुल, पर्वत हुँदै घोडाबाँधे सम्म र त्यस बिचको केही भाग बाहेक निर्माण कम्पनीले नै अवरुद्ध सडक खुलाउने छ, त्यस बाहेकमा आयोजना कार्यालयले खुलाउने छ, ठूला पहिरो बाहेक अरु तत्काल खोलिनेछ ।’

पोखरा–बागलुङ राजमार्ग एकतर्फी सुचारु
एक साता देखि अवरुद्ध पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ राजमार्ग खुलेको छ । पहिरोमा रहेका ठुला ढुंगा बम बिष्फोट मार्फत फुटाएर पहिरो हटाए पछि मंगलबार साँझदेखि एकतर्फी रुपमा सडक सुचारु भएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मंगलबार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो ।
सडक खुलेपछि सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँ पुलमा गत साता परेको भारी वर्षा सँगै सडक माथिबाट ठूला ढुङ्गा सहित आएको पहिरोका कारण बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा लगायतका स्थानमा जाने सिधा सवारी आवागमन ठप्प बनेको थियो ।

ठूला ढुंगा र पहिरो तत्काल हटाउन प्रयास थालिए पनि अविरल वर्षा र ठूला कडा ढुंगा भएका कारण फुटाउन र पन्छ्याउन समस्या भएको थियो । निर्माणाधीन मध्यपहाडी अन्तर्गत भएकाले पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले पहिरो पन्छाएर सडक सुचारु गरेको आयोजना कार्यालय पर्वतले जनाएको छ ।

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो। उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठूला सवारी हिलोमा फस्न थाले पछि मालवाहक सवारी साधन बिचमै अलपत्र परेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *