कोरोनाका कारण स्वास्थ्यकै कार्यक्रम प्रभावित

आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य कार्यालय बागलुङले कोरोना नियन्त्रणमा ध्यान दिदाँ स्वास्थ्यका अन्य कार्यक्रम ओझेलमा परेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्य कार्यालयले कारोना महामारीका बिच ६७.५ प्रतिशत प्रगति गरेको छ ।

कार्यालयले उपचारात्मक, प्रतिकारात्मक र प्रर्बद्धनात्मक मध्ये उपचार र प्रतिकारात्मकमा बढी प्रगति भएको र कोरोनाका कारण स्वास्थ्य क्षेत्रको प्रर्बद्धनात्मक काम ओझेलमा परेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । कोरोनाका कारण तालिम, सभा, समारोह लगायतका स्वास्थ्य सम्बन्धी कार्यक्रम प्रभावित भएको उहाँको भनाई छ ।

“नियमित गर्ने काममा अत्यावश्यक काम गरियो, यसवर्ष तालिम, गोष्ठी, स्वास्थ्य सम्बन्धी अभिमुखिकरण लगायतका केही कार्यक्रम गर्न सकिएन, पालिकाका सबै स्वास्थ्यकर्मी जिल्ला बोलाउन बन्दाबन्दीको समयमा नसक्नु कोरोनाको कारण हो” गुरौंले भन्नुभयो “स्वास्थ्यकर्मीलाई एक पटकको तालिमले पुग्दैन, नयाँ रोग नयाँ विषय आए, तत्कालै तालिम दिन आवश्यक हुन्छ, अहिले खोपकै विषयमा समेत स्वास्थ्यकर्मीलाई तालिम दिन नसक्दा भर्चुअलबाटै भए पनि जानकारी दिइयो, हाम्रो ध्यान कोरोना नियन्त्रण र खोप लगाउनेमा जाँदा गत वर्षदेखि निरन्तरता पाइरहेको पोषण, शिविर, हात्तिपाइले तथा क्षय रोगको नमूना संकलनमा समेत समस्या भयो ।”

कोरोना संक्रमितको तथ्याङ्क, कन्ट्रयाक्ट ट्रेसिङ, खोप, कोरोना उपचार र रोकथामका लागि आवश्यक औषधी तथा उपकरण, खोपको तालिम, पोषण तालिम, स्वास्थ्य सचेतना लगायतका काममा बाँधा पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

“गत वर्ष थुप्रै स्थानमा क्षय रोगको नमूना संकलन भएको थियो अहिले कोेरोनाका कारण खकार संकलनमा समस्या भए पछि बडिगाडमा ३० जनाको मात्रै नमूना संकलन गर्दा ३ जाना पोजेटिभ देखियो, त्यसलाई कोरोनाका कारण बढाउन सकेनौं ” घिमिरेले भन्नुभयो “प्रत्यक्ष जनतामा पुग्ने कार्यक्रम गर्न समस्या भयो, तर कोरोना नियन्त्रण र रोकथाममा हामी सक्रियताको साथ काम गरिहरहेका छौं, कोरोनाका कारण केही कार्यक्रम प्रभावित भए पनि स्वास्थ्यकर्मीको सक्रियता झनै बढेर गएको छ ।”

विपद प्रतिकार्य, नयाँ रोगी खोज्ने, कुपोषण पहिचान गर्ने जस्ता कार्य प्रभावित भएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । यसवर्ष दुई वटा शिविरमा जम्मा १२ जनाको स्थायी बन्ध्याकरण गरिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

एचआईभी, टिभीको नमुना परीक्षण समेत प्रभावित भएको छ । स्वास्थ्य रेकर्ड राख्न, स्थलगत अनुशिक्षण लगायतका काम गर्न र कुपोषण नियन्त्रणमा समस्या भएको छ । यो वर्ष जम्मा २ सय ४२ जना बिरामी फेला परेकोमा ७६ सुन्निएको र १ सय ३८ हाइड्रोसिलको बिरामी छ । कोरोनाका कारण हाइड्रोसिलको शल्यक्रिया समेत हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख गुरौले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *