निसीखोलाले हटायो १०३ घरको खरको छानो

डम्मर बुढा मगर, बागलुङ
आधा दशक अगाडि निसीखोलाकाका गाउँहरुमा रहर लाग्दा खरले छाएका घरहरु देख्दा निकै रमणीय लाग्थ्यो । तर, अहिले ती घरहरुले रुप रंग बदलेका छन् । गाउँपालिकाको खरका छानो हटाउने नीति अनुसार जस्तापाताको घर बनिरहेको छ । युवा शक्ति पलायन हुने, गाउँमा बालबालिका र बुढापाका मात्रै हुँदा वर्षेनी खरको घर छाउन समस्या हुन थाले पछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ की गौमती दमिनीले हरेक २/२ वर्षमा घरको छानो फेर्दै आउनु भएको थियो । न्यून आयस्रोत भएका परिवारकी दमिनीलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्नु पर्दा निकै सकस हुने गरेको बताउनुहुन्छ ।

वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आउनु भएको खरको घरमा गाउँपालिकाले जस्तापाताको छानो हाल्दिएपछि ठूलो राहत मिलेको उहाँको भनाई छ । ‘खरको लागि प्रर्याप्त खरबारी समेत छैन । तर पनि छरछिमेकीको सहयोग लिएर बास छाउँदै आएको थिए, अहिलेसम्म ढुङ्गा र टिनको घरमा बस्न पाएको थिएन’, दमिनीले भन्नुभयो, ‘हाम्रो सरकार, हाम्रो सरहरुले अहिले यति ठूलो गुन लगाउनु भयो, मत निकै खुसी छु । अब त बाचुञ्जेल यो घरमा छानो फेर्न नपर्ला कि ?’

खरको समस्या हुँदा कति समय आफूले पानी चुहिने अवस्था हुँदा सम्म पनि छानो फेर्न नसकेको नियति अब भोग्नु नपर्ने कुराले स्थानीय उत्साहित छन् । वडा नम्बर ५ का कुलविर सुनार पनि गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिए पछि हर्षित हुनुहुन्छ । पुरानो घरमा खरले छाएर बस्दै आउनु भएका सुनार अहिले जस्तापाताले छाए पछि नयाँ जस्तै बनेको छ । सुनारले खरको घर जोखिम र झन्झटिलो भएको भन्दै गाउँपालिकाले जस्तापाता हालिदिए पछि आफूलाई अब सहज हुने बताउनुहुन्छ ।

‘खरको घर समय–समयमा छानो फेरि राख्नु पर्छ, जसले खर्च बढ्ने, झण्झट हुने गर्छ, जस्तापाता हाले पछि त धेरै वर्ष हुन्छ, म त निकै समस्यामा थिए, गाउँपालिकाले टिनको छानो हाल्दिए पछि निकै खुसी लागेको छ,’ सुनारले भन्नुभयो ‘अब त ढुक्क भइयो, कयौं वर्ष छानो फेर्न पर्दैन, आगलागी हुने डर पनि कम भयो ।’

निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ९८ गरिब परिवारको घरमा जस्तापाताले छाइदिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो । उहाँले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको र आगामी वर्ष पनि यस कार्यक्रम निरन्तर सञ्चालन हुने बताउनुभयो ।

गाउँपालिकाले ७ वटा वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गतका ३० जना गरि १०३ जनाको घर जस्तापाताले छाइएको बताउनुभयो । गाउँपालिकाले घरको छाना विस्थापित गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको शाक्यको भनाई छ ।

प्रदेश सरकारले ३१ परिवारका लागि ५० हजारका दरले बजेट पठाएको बताउनुभयो । शाक्यले हरेक वडा कार्यलयबाट सिफारिस भएर आएका गरिब परिवारको घर जस्तापाताले छाइदिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले पालिका भित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरि जस्तापाता हाल्न माग भए अनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने बताउनुभयो । खरको छानो भएको घर आगलागीको जोखिममा हुने र गाउँ घरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाई भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *