ट्राफिक कारबाहीबाट बागलुङमा साढे ६७ लाख राजश्व

डम्मर बुढा मगर, बागलुङ

जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा ६७ लाख ७३ हजार ५०० रुपैयाँ संकलन गरेको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधानबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख बद्रिनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँले गाउँदेखि सहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्घा भइ रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउन लागि रहेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले तयार पारेको तथ्याङ्कलाई हेर्दा एक वर्षको अवधीमा १२ हजार १०० वटा सवारी साधानहरु कारवाहीमा परेको छन् ।

जसमध्ये सबैभन्दा बढी कार जीप कारवाहीमा परेका छन् भने सबैभन्दा कम बस रहेका छन् । ट्रकफिक प्रहरीले एक वर्षको अवधीमा ५ हजार १४१ वटा कार जीपलाई कारवाही गरेको छ । जसबाट २७ लाख ६३ हजार ५०० राजश्व संकलन गरेको छ ।

त्यस्तै तीन हजार ८६८ वटा मोटरसाईलक कारवाहीमा परेका थिए । जसबाट २३ लाख नौँ हजार ५०० सय राजश्व संकलन गरेको छ । एक हजार ३६९ ट्याक्टरबाट सात लाख ३६ हजार ५००, एक हजार २६० ट्रकबाट सात लाख १३ हजार ५०० रुपैयाँ, ४५३ बसबाट दुई लाख ४४ हजार रुपैयाँ गरि ६७ लाख ७३ हजार ५०० रुपैयाँ, अन्य नौँ वटा साधानबाट छ हजार ५०० रुपैयाँ संकलन गरेको ट्राफिक प्रमुख शर्माले बताउनुभयो ।

ट्राफिकले साउनमा दुई लाख ८३ हजार, भदौ महिनामा तीन लाख २२ हजार ५०० असोजमा ६ लाख तीन हजार ५००, कार्तिकमा ६ लाख एक हजार ५००, मंसिरमा ६ लाख ६७ हजार ५००, पौषमा सात लाख दुई हजार ५००, माघमा सात लाख २३ हजार ५००, फाल्गुनमा सात लाख ४८ हजार ५००, चैतमा सातमा ५१ हजार, बैशाखमा पाँच लाख ५४ हजार, जेठमा तीन लाख १० हजार ५०० र असारमा पाँच लाख पाँच हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।

ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा संकलन गरेको छ । चैत महिनामा सात लाख ५१ हजार रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व संकलन भएको छ । सबैभन्दा बढी सवारी साधान पौष, माघ, फागुन र चैतमा परेका छन् ।

यी महिनाहरुमा एक हजार ३०० सवारी साधान कारवाहीमा परेका छन् । सबैभन्दा कम साउन महिनामा परेका छन् । यस महिना जम्मा ५०० वटा सावारी साधान कारवाहीमा परका छन् ।
ट्राफिक प्रहरी प्रमुख शर्माले बागलुङमा ट्राफिक व्यवस्थालाई थप व्यवस्थित गर्ने बताउनुभयो । शर्माले नागरिकहरुसँग रिसाएरभन्दा पनि उनीहरुलाई खुसी बनाएर ट्राफिक नियमको सही पालना गराउन सक्ने भन्दै आफूहरु त्यो अभियानमा लागेको बताउनुभयो ।

उहाँले ट्राफिक प्रहरी जनताको शासक नभई सारथी भएको भन्दै आफूहरु जति बेला पनि जनताकै सेवामा खटि रहेको बताउनुहुन्छ । ‘ट्राफिक प्रहरी जनताको शासक होइन, सेवक हो, ट्राफिक प्रहरी सडकमा हुन्छ, त्यो जोसँग पनि ठोकिन्छ’ ट्राफिक प्रमुख शर्माले भन्नुभयो ‘हामी जतिबेला पनि सडकमा भेटिन्छौँ, हामीसँग बिरामी, चालक लगायत सबै नागरिक भेटिनुहुन्छ र हामीले उहाँहरुलाई सहयोग गरेका हुन्छौँ, नागरिकले हामी प्रति हेर्ने दृष्टिकोण विस्तारै परिवर्तन हुँदै गएको छ, हाम्रा केही व्यवहारले गर्दा उहाँहरुमा नराम्रो छाप परेको हुन सक्छ, हामीले हाम्रो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ, हामी लागि रहेका छौँ ।’

प्रमुख शर्माले सडक दुर्घटना रोक्नका लागि विभिन्न किसिमका र्काक्रमहरु संचालन गर्ने र बजार क्षेत्रको ट्राफिक व्यवस्थापलाई थप व्यवस्थित बनाउने बताउनुभयो । बजार क्षेत्रका सडकमा हुने निर्माण सामग्रीलाई व्यवस्थापन गर्नका लागि सम्बन्धित व्यक्तिहरुलाई समेत सचेत बनाउने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *