गलकोटका सबै वडामा गौरवका योजना


खेमराज गौतम, बागलुङ
गलकोट नगरपालिकाले तीन वर्ष अघि थालेको गौरवका योजना पुरा गरेको छ । नगरका ११ वडामा एक/एक वटा वडामा फरक फरक योजना समावेश गरी गौरवको योजना तयार गरेको गरेको थियो । साढे तीन बर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको गलकोट नगरपालिकाले जनाएको छ ।

निर्वाचित भएर आए पछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चतता संगै छनोट गरेको तीन दर्जन योजना सम्पन्न भएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । गौरवका आयोजना छनौट गर्दा एक वडामा एक आयोजना, भौगोलिक तथा सामाजिक मुल्याङ्कनका आधारमा छनौट गरिएको थियो । गौरवका योजना मध्ये कुनै वडामा पक्की सडक, कुनै वडामा स्वास्थ्य चौकी, कुनै वडामा वडा कार्यालय त कुनै वडामा सभाहल निर्माण गरिएको हो । गौरवका आयोजनामा लगातार २० देखि ६० लाख सम्मको बजेट वर्षेनी विनियोजन गरेर सम्पन्न गरिएको हो ।

“गौरवका आयोजनामा पहिलो बर्ष २० देखि ३० लाख विनियोजन गरेका थियौं, यसलाई दोस्रो वर्ष थप गर्दै ४० देखि ६५ लाख र तेस्रो वर्ष सम्पन्न नभएका र बजेटको आवश्यकताको आधारमा विनियोजन गरेका थियौं” नगर प्रमुख गैरेले भन्नुभयो “नगरले एउटा गर्व गर्न लायकका योजना सम्पन्न भएका छन्, जसका कारण सबै वडामा समानुपातिक विकास समेत भएको छ ।”

गौरवका योजना मध्ये गलकोट नगरपालिका–१ मा स्वास्थ्य चौकीको भवन निर्माणमा २ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । गलकोटमा निःशुल्क जग्गा पाउन सक्ने अवस्था नभए पछि जग्गा खरिदमा समेत नगरपालिकाले ठूलो रकम खर्च गरेको छ । अहिले स्वास्थ्य चौकी निर्माणको काम शुरु भएको छ ।

वडा नम्बर २ मा वडा कार्यालय भवन व्यवस्थापन र नगर सभाहल निर्माण भएको छ । दुई बर्षदेखि नगरपालिकाका सबै गतिविधि यही नगर सभामा भइरहेको नगरपालिकाका प्रवक्ता तथा गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । सभाहल संगै वडा कार्यालय व्यवस्थापनका लागि करिब ७० लाख लाख खर्च भइसकेको छ ।

वडा नम्बर ३ ले बाईसे÷चौविसे राज्यका पालामा गलकोटमा राज्य चलाउने कोतघरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार बनाएको छ । कोत घरको मर्मत, पर्खाल, पदमार्ग तथा कोतमा अजंगका खुकुरी र खुँडा राखिएको छ । उक्त कोतको ऐतिहासिकताका साथै अहिले राखिएको ठूलो खुकुरी र खुँडा पनि आकर्षणको विषय बनेको वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो । कोतघर पुग्ने सडक समेत फराकिलो बनाइएको छ । यस कोतघरमा ऐतिहासिक चैतेदशै र बडादशैमा मेला लाग्छ । कोत घर संरक्षण, खानेपानी र पदमार्गमा नगरपालिका संगै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले समेत लगानी गरेको छ ।

नगरपालिका स्थापना भइसके पछि चार वर्षको अवधीमा झण्डै ५० लाख खर्च भइसकेको छ । पदमार्गलाई पूर्णता दिन भने थप ९ लाख बजेट विनियोजन गरिएको छ । कोतघरमा राखिएको खुकुरी र खुँडा नेपालमै ठूलो भएको दावी समेत वडा कार्यालयको छ ।

वडा नम्बर ४ मा मध्यपहाडी राजमार्ग देखि वडासम्म पुग्ने सडक कालोपत्रे गरेको छ । गरपालिकाले ५० लाख रुपैयाँ खर्चेर सडक कालोपत्रे गरेको छ । नगरपालिकाको पुरानो बजार रहेको वडा नम्बर ५ को हरिचौर बजार ढलान गरेको छ । तीन बर्ष लगाएर करोड बढी खर्चेर झण्डै ९ सय मिटर सडक ढलान गरिएको छ । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको हरिचौर बजार व्यवस्थित गरिएको वडा अध्यक्ष नारायणध्वज मल्ले बताउनुभयो । हरिचौरमा रहेको गलकोट दरबार हेर्न आउने पर्यटकहरुले पुरानो बजार समेत अवलोकन गर्ने गरेको मल्लको भनाई छ ।

वडा नम्बर ६ ले मजुवादेखि ढलेपीपल क्षेत्रमा बस्ती विकास मापदण्ड अनुसारको सडक निर्माण गरेको छ । यो सडक नाली सहितको छ । समयमै सडक बनाए पछि वस्ती विकासलाई सहयोग पुग्ने, ताराखोलातर्फ जाने सडक पनि नियमित चल्ने अबस्थाको भएको छ । वडा नं.७ ले आँगखेत देखि सानोखोला सम्मको सडक स्तरोन्नती, वडा नम्बर ८ मा सभाहल सहितको वडा कार्यालय बनेको छ । सुविधा सम्पन्न र आर्षण उक्त भवनमा ६४ लाख रुपैयाँ खर्च भएको छ । वडा नं. ९ ले बरेखानीमा सडक पु¥याएको छ । वडा नम्बर १० ले सिद्दथान गैराबारी सडक र वडानम्बर ११ ले मल्मदेखि रिघा सम्मको सडक स्तरोन्नती गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *