म्याद सकियो, सकिएन आयोजना

आदर्श अनलाइन, बागलुङ
दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना तीन वर्ष बित्दा समेत आधा मात्रै काम सकिएको छ ।

बागलुङ जिल्ला सदरमुकाममा २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा निर्माण शुरु भएको आयोजना सम्पन्न हुने कुनै टुङ्गो नलाग्दा खानेपानीको चरम अभावमा बसेका बागलुङबासी निराश बनेका छन् ।

२०७५ असार ३१ गते दुई वर्षमा सक्ने गरी रु.४५ करोड लागत आयोजना तयार भएकोमा र रु.३२ करोड २५ लाखमा कन्काइ जयमाता जेबीले ठेक्का सम्झौता गरेको थियो ।

तर, म्याद थपेको पुनः एक वर्ष समेत गत असारमा सकिएको भए पनि आयोजनाको अपेक्षाकृत प्रगति खासै देखिएको छैन । यही गतिमा आयोजना बढेमा अझै एक वर्षमा समेत काठेखोलाको पानी बागलुङ बजार नआउने भएको छ । अहिले थोरै कामदारले आयोजनाको काम गरिरहेका छन् । ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीयको लगानीमा निर्माण भइरहेको उक्त आयोजनाको मुख्य काम प्रशोधन केन्द्र, मुख्य पानी तान्ने पाइप र विद्युतीकरणको काम अझै बाँकी छ ।

बागलुङ नगरपालिका–३ काठेखोलाको पानी तान्ने पाँच वटा समवेयल, आयोजना स्थलको पूर्वाधार तथा खानेपानी संकलन ट्याङ्की निर्माण भइसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।

“दुई वर्षमा सकिने आयोजना तीन वर्षमा सकिएन, कोरोनाका कारण थप छ महिनाको म्याद थप गर्ने तयारीमा छौं” शर्माले भन्नुभयो “भौगोलिक जटिलताका कारण आयोजना निर्माणमा ढिलाई भएको हामीले स्वीकार गर्नै पर्छ, प्राकृतिक प्रकोप, बाढी पहिरोका कारण आयोजनामा ठूलो क्षति हुँदा समस्या भएको हो ।” आगामी ६ महिनामा आयोजना अन्तिम चरणमा पुग्नेमा विश्वस्त रहेको शर्माको भनाई छ ।

बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रशेह, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको भएपनि जनघनत्वमा वृद्धि हुँदा खानेपानीको समस्या बढ्दै गएपछि बागलुङ बजार मुनीको काठेखोलाको पानी लिफ्ट मार्फत माथि तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य नगर खानेपानीको हो ।
आयोजना सथलमा थप जटिलता आउको कारण सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप रु. ६ करोडको आयोजना शुरु भएको नगर खानेपानी बागलुङले जनाएको छ ।
भौगोलिक रुपमा अध्ययन गर्दा केही त्रुटी भएकाले उक्त स्थानमा खानेपानी आयोजना बन्नेमै आशंका रहेको स्थानीयको आरोप छ । आयोजना निमाृण स्थल भन्दा माथी रहेको बागलुङ बजारको बस्ती चर्किने, भासिने तथा पहिरो जाने भइरहेको छ ।

लिफ्टिङ खानेपानी योजनाको कारणले गर्दा यतिबेला बागलुङ बजारका एक दर्जन घर पहिरोको उच्च जोखिममा परेको बागलुङ नगरपालिकाका वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । नगरपालिकाको १, २, ३ नम्बर वडाका बासीन्दालाई खानेपानी पु¥याउने उद्देश्य रहेको आयोजना दुई पटक सम्म म्याद सकिदा सम्म निर्माण हुन नसक्नु दुखद भएको स्थानीय नारायण श्रेष्ठले बताउनुभयो ।

भौगोलिक समस्या, आयोजना स्थलमा मेसिन, औजार लैजान समस्या र पटक–पटकको पहिरोका कारण आयोजना निमाृणमा ढिलो भएको र निर्माण कम्पनीलाई ठूलो क्षति समेत पुगेको निर्माणको जिम्मा पाएको कन्काई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीले जानकारी दिनुभयो ।

“आयोजना समयमै सक्नुपर्नेमा ध्यान हुन्छ, जति ढिला आयोजना हुन्छ, हामीलाई समेत घाटा हुन्छ, आयोजनामा आएको पहिरोका कारण ठूलो नोक्सानी भएको छ हामीले सम्झौता भन्दा माथि गरेको निर्माणको थप रकम माग समेत गर्दे आएका छौं” अधिकारीले भन्नुभयो “आगामी एक वर्षमा आयोजना बुझाउने लक्ष्य छ, अहिले ठूला निर्माणको काम सकिएको र पहिरो रोकथामका लागि समेत काम भइरहेका कारण आयोजनाले थप गति लिनेछ ।” उहाँका अनुसार आयोजनाको समग्र प्रगति ६४ प्रतिशत छ ।

अहिले बागलुङ बजारमा खानेपानीको माग प्रति सेकेण्ड ४० लिटरको माग छ । बागलुङमा अहिले प्रति सेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ती भइरहेको छ । लिफ्ट मार्फत प्रति सेकेण्ड ७० लिटर खानेपानी आयात गर्ने लक्ष्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *