सडकमा किचलोः यता-उता कालोपत्रे, बिचमा खाली ?

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजार हुँदै सिगाना–चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा छनोटमा परेको सडक भए पनि पाँच वर्षको अवधीमा बागलुङ बजार देखि जम्मा तीन किलोमिटर सडक मात्रै पक्की छ ।

पाँच वर्ष अघि बागलुङ बजारको देउराली चोकबाट अप्ठ्यारोमा ढलान र सजिलोमा कालोपत्रे गरेको सडक तीन किमी नपुग्दै भत्किसकेको छ । वर्षमा ५/७ सय किमी सडक मात्रै पक्की बन्ने अवस्थाले निरन्तरता पाइरहने हो भने सिगाना सडक पुग्न अझै दश वर्ष लाग्नेछ ।

गत आर्थिक वर्षमा स्थानीय पूर्वाधार साझेदारी योजना अन्तर्गत सांसद विकास कोषको २५ लाख र बागलुङ नगरपालिकाको २५ लाखमा जम्मा २७० मिटर सडक कालोपत्रे गर्ने योजना थियो । त्यही सडकमा समेत विवाद उत्पन्न भए पछि अहिले सडक अधुरै बनेको छ ।

२७० मिटर सडक कालोपत्रे गर्ने विषयमा स्थानीय जग्गा धनी र बागलुङ नगरपालिका बिच उत्पन्न विवाद जिल्ला अदालत सम्म पुगे पछि उक्त सडकको यता र उता कालोपत्रे गरिए पनि बिचको ४० मिटर सडक कालोपत्रे गर्न नसकिएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

“सडक कालोपत्रे थोरै थियो, विवाद धेरै भयो, अदालतको आदेश अनुसार विवादित जग्गा छोडेर कालोपत्रे गरेका छौं, अहिले विस्तार गरेको सडक त्यो हैन, पुरानै सडकलाई नाली हालेर ग्राभेल गरेका थियौं” शर्माले भन्नुभयो “अदालतको आदेश आए पछि त्यही स्थान छोडेर दायाँ बायाँ कालोपत्रे गरेका छौं, निर्माण व्यवसायीलाई काम घटेका कारण रकम समेत घटाएर भुक्तानी दिएका छौं ।”

शर्माका अनुसार उक्त सडकमा ठाडाखोला–बोक्से सडक उपभोक्ता समिति मार्फत ३० लाख रुपैयाँमा त्यसअघि थप सडक स्तरोन्नती र पक्की नाली बनाइएको छ । २७ लाखको आयोजनामा ५० प्रतिशत मात्रै प्रगति भएकाले सोही अनुसार भुक्तानी दिइएको छ ।

सडकको तलमाथी कटिङ गर्नुपर्नेमा आफ्नो जग्गा तर्फ एकतर्फी रुपमा जग्गा प्रयोग गरी सडक विस्तार गरेको भन्दै स्थानीय जग्गा धनी सञ्जय श्रेष्ठले जिल्ला अदालत बागलुङमा मुद्दा हाले पछि जिल्ला अदालत बागलुङले असार २५ गते अन्तरिम आदेश गरेको छ । जग्गाधनी श्रेष्ठको जग्गामा काम नगर्नु भनेर स्टे अर्डर भए पछि सडक कालोपत्रे गर्ने काम रोकिएको छ ।

बागलुङमा विकास निर्माणमा ढिलाई, गुणस्तरहीन काम र सडक बने पछि नाली निर्माण जस्ता व्यथिति बिद्यमान रहेकोमा मुद्धा परे पछि सडक कालोपत्रेमा थप ढिलाई र अन्यौलता थपिएको छ ।

२०७५ सालमा दुबै तर्फ मिलाएर सडक विस्तार गर्न नगरपालिकालाई निवेदन दिए पनि नगरपलिकाले मिलेमतोमा तलपट्टीको जग्गामा काम नगरी आफ्नो तीन आना जग्गा मिचेर सडकमा हालेको जग्गा धनी श्रेष्ठको गुनासो छ ।

तीन पटक सडक विस्तार हुँदा तलको जग्गा छोएन, यो त सरासर धाँधली भयो, सडक विस्तार गर्न मैले नदिएको हैन तर दुबै तर्फ बराबर विस्तार हुन प¥यो” श्रेष्ठले भन्नुभयो “सडक तल ग्याविन वाल लगाउने डिजाइन भए पनि नगरपालिकाले नलगाएर सडक माथिको जग्गा मात्रै प्रयोग गर्दा समस्या भयो, म त विकास हुन पर्छ भन्ने मानिस हो तर अर्काको जग्गा नछुने मेरो मात्रै काट्ने काम राम्रो भएन ।”

एकतर्फी साढे चार मिटर जग्गा कटान भएको भन्दै श्रेष्ठले सडक तलको गणेश पौडेलको जग्गामा दुई मिटर सडक बनाउनु पर्ने जिकिर गर्नुभयो । उक्त सडक आरएस निर्माण सेवाले कालोपत्रे गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *