देविस्थानमा प्रविधिमैत्री शिक्षण अभ्यासः एक शिक्षक,एक ल्यापटप

डम्मर बुढा मगर, बागलुङ

विकासको हिसाबले दुर्गम मानिदै आएको निसीखोलामा पछिल्लो समय उल्लेख्य परिवर्तन र अवसर देखिएको छ । पछिल्लो केही वर्षको अन्तरालमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा निसीखोलाले फड्को मारेको छ ।

विकासका अन्य गतिविधि भए पनि सूचना प्रबिधिको भने अझै पहुँच कम छ । सूचना प्रबिधिको अवसर र पहुँच बढाउने अभिप्रायले निसीखोला गाउँपालिका वडा नम्बर १ मा रहेको देविस्थान माध्यमिक विद्यालयलले सूचना प्रबिधिमैत्री बनाउने प्रयास थालेको छ ।

इन्टरनेट सेवाको पर्याप्त पहुँच नभएको निसीखोलामा शिक्षालाई प्रबिधिमैत्री बनाउनका लागि विद्यालयले आफ्नै लगानीमा शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । विद्यालयले ल्यापटप वितरण गरे पनि अधिकांश शिक्षकहरु प्रविधिको सीप कौसलका विषयमा अनविज्ञ छन् । यसकारण शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी तालिम समेत विद्यालयले दिएको छ । गत वर्ष आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान दिए पनि त्यति मात्रै पर्याप्त नभएको शिक्षकहरुले बताएका छन् ।

No description available.

विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तर्गत १६ जना शिक्षकहरुलाई ल्यापटप वितरण गरेको विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले बताउनुभयो । १० लाखको लागतमा विद्यालयले ल्यापटप वितरण गरेको उहाँको भनाई छ । सूचना प्रबिधिको विकाससँगै शिक्षालाई प्रबिधिसँग जोड्ने कोसिस गरेको र सुरुमा केही जटिलता भए पनि त्यसलाई बिस्तारै सामना गर्दै जाने क्षत्री बताउनुहुन्छ ।

यस वर्ष ल्यापटप वितरणसँगै थप तालिम दिइने विद्यालयका प्रधानाध्यपक झगबहादुर क्षेत्रीले बताउनुभयो । प्रअ क्षेत्रीले विद्यालयलाई सूचना तथा प्रबिधिमैत्री बनाउनका लागि गत वर्षदेखि शिक्षक स्टाफलाई कम्प्युटर सम्बन्धी तालिम दिइएको र यस वर्ष ल्यापटप वितरणसँगै आवश्यक तालिम दिइने बताउनुभयो ।

‘अहिलेको जमना भनेकै सूचना प्रबिधिको हो, हामीहरु पनि सूचना प्रबिधिसँगै परिवर्तन भएर विद्यार्थीलाई त्यही किसिमको शिक्षा दिक्षा दिन जरुरी छ, हामीले गत वर्षदेखि नै शिक्षकहरुलाई कम्प्युटर सम्बन्धि सामान्य ज्ञान दिन थालेका थियौँ,’ प्रअ क्षेत्रीले भन्नुभयो ‘अहिले विद्यालयमा अध्यापनरत सबै शिक्षक स्टाफलाई ल्यापटप वितरण गरेका छौँ, उहाँहरुलाई कम्प्युटर सम्बन्धी आवश्यक तालिमका लागि चार जना शिक्षकहरुको टिम बनाएका छौँ ।’

No description available.

क्षेत्रीले कोरोना महामारीको समयमा पनि अब विद्यार्थीलाई प्रबिधिको प्रयोग गरेरै पठनपाठनलाई तीव्रता दिन सकिने भन्दै त्यसका लागि आवश्यक तयारी समेत गरेको बताउनुभयो । विद्यालयमा गत वर्ष गाउँपालिकाले इन्टरनेट जडान गरेको छ ।

गत वर्ष देखि नै बालविकासदेखि कक्षा २ सम्म स्मार्ट टिभी प्रयोग गर्दै बालबालिकालाई खेल्दै रमाउदै सिक्ने वातावरण तयार गरिएको प्रअ क्षेत्रीको भनाई छ । त्यस्तै कक्षा ८ देखि १० सम्म प्रोजेक्टरको प्रयोग गरेर नियमित अध्यापन गराउदै आइरहेको समेत उहाँले जानकारी गराउनुभो । उहाँले सबै कक्षामा स्मार्टबोर्ड र प्रोजेक्टर प्रयोग गरि पठनपाठनलाई तीव्रता दिन लक्ष्य रहेको बताउनुभयो ।

उहाँले अनलाइन कक्षा संचालनका लागि र सबै विद्यार्थीलाई समेट्नका लागि डाटा संकलन गरेको भन्दै विद्यालयले संकलन गरेको विवरणमा धेरै अभिभावकको हातमा स्मार्ट फोन रहेको बताउनुभयो ।

‘विद्यार्थीहरुलाई पनि प्रबिधिसँग जोड्न हामीले यहाँ अध्ययनरत सबै विद्यार्थीको घरमा स्मार्ट फोन भए नभएको तथ्यांक संकलन ग¥यौँ र अधिकांश अभिभावकले स्मार्ट फोन चलाउन गरेको पाइयो, केही अभिभावकको हातमा स्मार्ट फोन छैन,’ क्षेत्रीले भन्नुभयो ‘स्मार्ट फोन नभएका विद्यार्थीहरुका लागि छुट्टै केही व्यवस्था गरेर प्रबिधिसँग जोड्ने हाम्रो प्रयास छ ।’

यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गर्छ । अब कक्षा ८ देखि १२ सम्मलाई तत्कालै प्रबिधिसँग जोड्ने र अन्य कक्षाहरुलाई पनि विस्तारै जोड्दै जाने विद्यालयले जनाएको छ । विद्यालयमा कम्युटर सम्बन्धी ज्ञान भएका शिक्षकहरु आधा बढी रहेको र अन्यलाई सहयोगको आवश्यकता पर्ने प्रअ क्षेत्री बताउनुहुन्छ । अहिले विद्यालयमा ४१० जना विद्यार्थी अध्ययनरत रहेका छन् । भर्ना अभियान अझै जारी रहेको उहाँको भनाई छ ।

विद्यालयका शिक्षक पुरनध्वज गुरुङले अहिलेसम्म चक, डस्टर तथा मार्कले स्वाइट बोर्डमा लेख्दै सिकाउँदै गर्दै आएकोमा अब डिजिटल माध्यमबाटै विद्यार्थीलाई अध्ययापन गराउन सक्ने बताउनुभयो । उहाँले आफूलाई कम्प्युटर सम्बन्धि ज्ञान भएको हुँदा खास्सै समस्या नपर्ने भन्दै इन्टरनेटको सहज पहुँच नहुँदा केही कठिनाई हुने बताउनुहुन्छ ।

शिक्षक गुरुङले वर्षौँदेखि परम्परागत शैलीमा अध्यापन गराउँदै आएकोमा अब प्रबिधिसँग जोडिएर अध्यापन गराउँदा विद्यार्थीहरु थप नयाँ–नयाँ ज्ञान दिन सकिने बताउनुहुन्छ । अब विद्यार्थी शिक्षक टाढा–टाढा भएर पनि शिक्षण क्रियाकलाप गर्न सकिने उहाँको भनाई छ ।

विद्यालयकी शिक्षिक विष्णु विकले आफूलाई कम्प्युटर सम्बन्धि राम्रो ज्ञान नभएको तर सिकि रहेको भन्दै विद्यालयले ल्यापटप दिए पछि सिक्न र अनलाइन मार्फत पठनपाठनलाई अगाडी बढाउन सहज हुने अपेक्षा लिएको बताउनुहुन्छ ।

‘विद्यालयले यसभन्दा अघि पनि कम्प्युटर सम्बन्धी तालिम दिएको थियो, त्यो तालिमले धेरै सिकायो, अझै धेरै सिक्न बाँकी छ, सिक्दै जाने, प्रबिधिसँग जोडिदै पठनपाठनलाई निरन्तरता दिइने हो,’ शिक्षक विकले भन्नुभयो ‘अब सिक्न पनि सजिलो होला, पहिला विद्यालयमै आएर सिकिन्थ्यो भने अब घरमै बसेर पनि सिक्न सकिने भयो, विस्तारै अनलाइन माध्यमबाटै पठनपाठनलाई अगाडी बढाउन सकिनेमा म ढुक्क छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *