बागलुङ बजारको दर्जन बढी घर पहिरोको उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जन बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ कैलामपोखरी बन हुँदै अदालत चौपारीको सडक पहिरोले बगाए पछि २० दिन देखि उक्त सडक बन्द छ ।

तलबाट पहिरो बढ्दै गए पछि सडक मात्रै भासिएको छैन, बजार छेउकै दर्जन बढी घर उच्च जोखिममा परेको स्थानीय बताउँछन् । निरन्तरको वर्षात् र बस्ती मुनी बगालुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणाधीन अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीय पुष्पा केसीले बताउनुभयो ।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको लगानीमा तीन वर्षदेखि निर्माण भइरहेको बागलुङ नगर खानेपानी लिफ्ट आयोजनाका कारण कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको उच्च जोखिममा पर्दै आएका छन् । कम्पुटोलका ९ घर गत वर्ष नै वर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरमा स्थानीय बस्न छाडेका थिए ।

अहिले पुन अदालत चौपारी देखि कम्पुटोल जाने पछाडी तिरको सडकनै भासिए पछि पुनः एक दर्जन घर जुनसुकै बेला ढल्ने जोखिममा परेको केसीको भनाई छ ।

“१५/१६ वर्षदेखि उक्त स्थानमा बस्दै आए पनि अहिले आएर घर पछाडीको सडक, बस्ती भासिरहेको छ, यो कमजोर भूबनोटमा यथेष्ट सचेतता र सुरक्षा बिना खानेपानी आयोजना निर्माण थालिएका कारण यस्तो भएको हो” केसीले भन्नुभयो “बस्ती तलको जमिन खलबलिएका कारण कम्पु टोल र देउराली चोकमा अघिल्लो वर्ष नै घरहरु चर्किएका थिए, अब निरन्तर भारी वर्षा भए बस्ती नै बगाउने खतरा छ ।”

४५ करोड रुपैयाँको लागतमा बगालुङ बजारमा २४ सै घण्टा पानी वितरण गर्नका लागि काठेखोलाको पानी कैलाम पोखरीमा प्रशोधन गरी वितरण गर्ने लक्ष्य अनुसार आयोजना निर्माणाधीन छ । खानेपानी आयोजनाकै कारण बस्ती जोखिममा परेको कैलाम पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष स्थानीय जयराम भारी बताउनुहुन्छ ।

“नगरवासीलाई खानेपानी आउने भए ठीकै छ भनेर बननै मासेर आयोजना निर्माण गर्न दियौं” भारीले भन्नुभयो “आयोजनाका कारण सडकमा पहिरो जाने भासिने, खानेपानी आयोजना नै के हुने भन्ने अन्यौल छ, दर्जन बढी घर जोखिममा छन् ।” पानी रोकिए पछि खानेपानी आयोजना निर्माणको जिम्मा पाएको बागलुङ नगर खानेपानी, नगरपालिका र सम्बन्धित निकायमा छलफल गर्ने भारीले बताउनुभयो । उहाँले तत्कालै पहिरो खुलाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

मनसुन सक्रिय भए यता दिनहुँ अविरल झरी पर्दा कम्पुटोल हुँदै गौडाकोट जाने सडक बगाएर पैदल यात्रा समेत गर्न नसकिने अवस्थामा पुगेपछि यात्रु र स्थानीयलाई देउरालीचोक हुँदैको सडक प्रयोग गर्न बाध्य भएका छन् ।

स्थानीयले वडा कार्यालय र नगरपालिकालाई ध्यानार्कषण गराउँदा हालसम्म सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् । लिफ्ट आयोजना र खानेपानी तथा ढल व्यवस्थापन बिभाग संग पहिरोको विषयमा निरन्तर छलफल भइरहेको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो ।

“ठूलो पहिरो छ, ग्याविन चिनेर र पर्खाल लगाएर सडक बनाउँदा समेत लाखौं खर्च लाग्ने अवस्था छ, थोरै खर्चको भए वडा कार्यालयले बनाउथ्यो” वडा अध्यक्ष बाँस्कोटाले भन्नुभयो “नगरपालिका संग छलफल गरेर आयोजना संरक्षणका लागि पहिरो व्यवस्थापन गर्न भनेका छौं, तर भर्खरै नागरिकको अपेक्षा अनुसार सडक सुचारु,बस्ती सुरक्षित गर्न मुस्किल छ, बर्खा रोकिए पछि कसले पहिरो मर्मत गर्ने भन्ने टुङ्गो लाग्नेछ ।”

कम्पुटोल, देउराली चोक पहिले देखि कमजोर भू–बनोट भएको स्थान भएको र त्यस मुनीको बन मासेर खानेपानी आयोजना निर्माण गर्दा आयोजना स्थल माथीको बस्ती नै विस्थापित हुने खतरा छ ।

तित्याङ र सिगाना जाने सडकको रुपमा समेत प्रयोग हुँदै आएको उक्त सडक २० दिनदेखि अबरुद्ध भएपछि देउराली चोकको बाटो हुँदै जाने गरेका छन् । खानेपानी तथा ढल व्यवस्थापनले पहिरोको स्थलगत अनुगमन गरेर फर्केको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

ठेक्कामा लगाइसकेको आयोजनाले त पहिरो मर्मत नगर्ला तर पुनः आयोजना संरक्षणका लागि छुट्टै बजेट ल्याएर काम गर्छ भन्नेमा छौ, कसैले नगरे नगरपालिकाको समन्वयमा पहिरो मर्मत गरिने पौडेलले बताउनुभयो । उक्त स्थानमा परापूर्वकालमा समेत ठूलो पहिरो गएको स्थानीयले बताएका छन् । भौगोलिक जटिलताको अध्ययन नगरी आयोजना निर्माण थाल्दा न समयमै आयोजना बन्ने, न आयोजना माथीका बस्ती नै सुुरक्षित हुने दुवै अनिश्चित बन्न थालेको भन्दै स्थानीय चिन्तित बनेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *