रेशका थापा दाजुभाइको बहुआयामिक उद्यम


–खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पिपल डाँडाका मीन थापा र गिरी थापा दुई भाइ मात्र होइन । पेशाका हिसाबले दुबै जना शिक्षक पनि ।

तर, गिरी थापा २०५३ सालमा शिक्षक पेशा छाडेर कतार जानुभयो । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीन थापा संगै मिलेर बहुआयामिक व्यवसाय गर्ने साँेच बनाउनुभयो ।
मीन थापा रेश नुन्थला माध्यमिक विद्यालयमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्धेश्यमा साथ दिन तयार हुनु भयो । २०६८ सालमा दुई भाइ मिलेर फर्निचर सञ्चालन गर्नुभयो । फर्निचर स्थापना गरेको १० वर्ष भइसक्यो । अहिले थापा दाजुभाइकहाँको सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बँगुर, बँदेल पालन तथा व्यावसायिक तरकारी खेती छ । कुटानी पिसानी मेल समेत छ ।

दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीन थापा बताउनुहुन्छ । “सुरुमा हामी दुबै शिक्षक थियौं, दाइ छोडेर विदेश जानुभयो, मैले निरन्तर शिक्षण पेशा गर्दै आए, उहाँ गाउँ फर्केर आए पछि आफ्नै व्यवसाय गरौं भन्नु भो र सुरु गरियो, दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ, म विहान बेलुका समय दिन्छु” उहाँले भन्नुभयो “बँदेलका र बंगुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौं, बाख्रा र कुखुरामा भर्खर लागानी गरेका हौं ।” अहिले तीन वटा माउँ बदेल र ४० वटा बंगुर छन् ।

अहिले ३० वटा बंगुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बंगुरका पाठापाठी मात्रै बेचेर वार्षिक तीन देखि चार लाख कमाउने गरेको गिरी थापाले बताउनुभयो । “फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बंगुरको खोर निर्माण गरेका थियौं, तर अहिले बँदेल र बंगुर व्यावसायिक रुपमा पालेका छौं” उहाँले भन्नुभयो “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाई हुँदो रहेछ अहिले थोरै भए पनि वार्षिक १०/१२ लाखको कारोबार हुँदै आएको छ ।”

दुई भाइले पिपलडाँडा ताजा तरकारी तथा पशुपालन फर्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारी समेत उत्पादन गर्दै आएका छन् । अहिले दर्जन बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री गरेको र फर्ममा ८ बाख्रा, १०० लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ ।

मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएको थापाद्धय बताउनुहुन्छ । उत्पादन गर्न सके खसी बोका, बँदेल, बंगुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाई छ ।

कुटानी पिसानी, बाख्रा पालन तथा कुखुरा पालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको थापाले बताउँनुहुन्छ । त्यसका अलावा फर्निचरमा दुई जना युवालाई रोजगारी समेत दिँदै आएका छन् ।
बंगुरको मासुका लागि ४०० रुपैयाँ प्रति केजी र पाठापाठीलाई पाँच हजारमा बिक्री गर्दै आएका उनीहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातीको बंगुर लिएर पाल्दै आएका छन् । बंगुरको भन्दा बँदेलको मासु निकै स्वादिष्ट भएकाले राम्रै मुल्यमा बिक्री गर्ने गरेको उहाँको भनाई छ । बँदेलको मासु प्रति केजी ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई ६ हजारमा बिक्री गर्दै आउनुभएको छ ।

दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदारणीय कार्य भएको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *