प्रभावकारी बन्दै ‘उपाध्यक्ष संग सुत्केरी’ कार्यक्रम

रविना बोहरा, बागलुङ
अधिकांश तहमा अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला छन् । तीनै महिला उपाध्यक्षले महिलाका समस्याको पहिचान गर्दै गर्भवती, सुत्केरी तथा शिशुको स्वास्थ्य सुधारका लागि थालेको ‘उपाध्यक्ष संग सुत्केरी’ अभियान प्रभावकारी बन्न थालेका छन् ।

बागलुङ र म्याग्दीका केही स्थानीय तहमा सञ्चालन भएको कार्यक्रमबाट ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य सम्बन्धी चेतना बढ्दै गएको हो ।

आमा र शिशु मृत्युदर कम गर्न तथा स्वस्थ बच्चाको जन्मदरमा बृद्धि गर्न बागलुङ र म्याग्दी जिल्लाका केही स्थानीय तहले ‘उपाध्यक्ष संग सुत्केरी’ अभियान सञ्चालन गरिरहेका छन् । गाउँपालिकाले स्वास्थ्य शाखा संग समन्वय गरी गर्भवती हुँदा अण्डा, क्याल्सियम तथा सुत्केरी भएपछि घ्यू, कपडा, लोकल कुखुरा उपहार दिने गरेका छन् । यो संगै गर्भवतीलाई स्वास्थ्य सम्बन्धी परामर्श पनि दिने गरेको गाउँपालिकाले जनाएका छन् ।

बागलुङको बरेङ गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्ष संग सुत्केरी’ कार्यक्रममा सय भन्दा बढी महिलाहरु समावेश भएका छन् । सुत्केरीलाई उपहार सहित छोरी जन्मदा २० बर्ष सम्म मासिक १ सय रुपैँयाका दरले रकम जम्मा गर्ने र छोरा जन्मदा १२ सय रुपैँया राखेर मासिक रुपमा बाबु आमालाई जम्मा गर्न लगाउने शर्त राख्ने गरेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो ।

‘‘चार पटक गर्भ जाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएकालाई उपहार स्वरुप शिशुलाई बचत खाता खोलिदिने, आमालाई पोषणयुक्त खानेकुरा दिने गरेका छौं” उहाँले भन्नुभयो “खासगरी स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने र बालमृत्युदर घटाउने हाम्रो योजना हो ।”

ग्रामीण भेगहरुमा अझै पनि महिलाहरु घरमा नै सुत्केरी हुने गरेको पाइन्छ । जसका कारण शिशु मृत्युदर तथा पोषणको कमीले कुपोषित बालबालिकाको संख्या पनि रहेको स्वास्थ्यकर्मी बताउँछन् । त्यस कारण पनि अस्पतालमा नै पुगेर सुत्केरी हुन पे्ररित गर्न पनि यस खालका कार्यक्रम ल्याइएको बताइएको छ । म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले पनि यो कार्यक्रम विगत ४ बर्ष देखि सञ्चालन गरिरहेको छ । यसमा ३ सय भन्दा बढी महिला प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

“पोषण खाना नपाउदा बच्चामा कुपोषण हुने भएकाले पोषणर्युक्त खानेकुरा खुवाउने हाम्रो योजना हो” बिटालुले भन्नुभयो “घर घरमा झण्डा हात हातमा अण्डा भन्ने नाराका साथ उक्त कार्यक्रम अघि सारेका हौं, स्वास्थ्य सम्बन्धी काउन्सिल समेत गर्दै आएका छौं ।”

‘उपाध्यक्ष संग सुत्केरी’ कार्यक्रमका कारण ग्रामीण भेगका महिलामा स्वास्थ्य सम्बन्धी चेतना अभिबृद्धिमा महत्वपूर्ण टेवा पुगेको छ । गर्भवती देखि सुत्केरी हुँदा सम्म अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीले दिने गरेको र उपहारले थप सहयोग पु¥याएको गर्भवती तथा सुत्केरी महिलाहरु बताउँछन् । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ बस्दै आएकी सुशिला विश्वकर्मा भन्नुहुन्छ “खाना टुटाउनु भएन भन्नु हुन्छ, केही परे फोन गर्न भन्नुहुन्छ, निःशुल्क पोषणयुक्त खानेकुरा पाउदा राम्रै लागेको छ, पहिला सुविधा थिएन अहिले आएको छ, खुसी छौं ।”

गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि पनि परामर्श दिने गरिएको गाउँपालिकाहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *