स्थानीयको अग्रसरतामा फेरि उठ्दै ‘बेलढुंगा’

–खेमराज गौतम, बागलुङ

अग्ला डाँडाकाँडा, पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक भ्यू टावर बेलढुंगा एकाएक चर्चामा आउँदै थियो । बेल आकारको ढुंगा २६ सय १८ मिटरको उचाईमा थियो । जहाँबाट सुन्दर हिमश्रृंखलादेखि दुई बिभिन्न जिल्लाका गाउँघर, प्राकृतिक मनोरम दृश्य देखिन्छ ।
तर, २०७७ साल भदौमा बेलढुङ्गाको माथिल्लो भाग भत्कियो । २०७२ सालको भुकम्पको पटक पटकको धक्का र ढुंगामा बनाएका केही संरचनाका कारण भत्किएको स्थानीय बताउँछन् ।

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमामा अवस्थित बेलढुंगाको माथिल्लो भाग भत्किए पछि यसको थप पूर्वाधार विकास र प्रवद्र्धनमा धक्का पुगेको आंकलन र संशय सर्वत्र थियो । तर, दुवै जिल्लाका स्थानीयको पहल र प्रयत्न पछि अहिले फेरि बेलढुंगा नयाँ स्वरुपमा उठ्न थालेको छ ।



ढलेको वर्ष दिन नवित्दै स्थानीयको पहलमा काठेखोला गाउँपालिका, गण्डकी प्रदेश सरकारको सहयोगमा बेलढुङ्गा क्षेत्रमा पर्यटन पदमार्ग, बेलढुंगादेखि पञ्चकोट तर्फ आउने साइकल ल्याण्ड, पर्यटकीय सूचना बोर्ड लगायतका पुर्वाधार निर्माण गरिएको स्थानीय सामाजिक अगुवा गोपाल श्रीसले बताउनुभयो । बेलढुंगा भत्किए पछि अहिले यसको २६१४ मिटर कायम छ ।
कोरोनाका कारण अहिले पर्यटकीय क्षेत्र सुनसान प्रायः बनिरहेको अवस्थामा यहाँका स्थानीयले भने बेलढुङ्गाको पुर्ननिर्माण, पदमार्ग र साइकल लेन लगायतका पुर्वाधार निर्माणको कामलाई गति दिएका छन् ।

बेलढुङ्गाबाट देखिने धौलागिरी, निलगिरी, माछापुच्छ«े, अन्नपूर्ण, गुर्जा लगायतका दर्जन बढी हिमश्रृखंला, हरियाली जंगल र धौलागिरीका म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिने हुनाले पछिल्लो समय यो पर्यटकीय स्थल भाइरल बन्दै गइरहेको भने बेलढुङ्गा आउने पर्यटकलाई लक्षित गरी ओखलेमा बेलढुंगा सामुदायिक घरबास (होम स्टे) समेत सञ्चालनमा छ ।

एक पटक लडेको बेलढुङ्गा पुनः उठाउने प्रयास निरन्तर जारी छ । ‘पुरानै अवस्थामा ल्याउन त सम्भव छैन तर यसलाई केही पुनः संरचना निर्माण र व्यवस्थित गर्ने प्रयास हुँदैछ,’ बेलढुंगा होम स्टे व्यवस्थापन समितिका सचिव समेत रहनुभएका श्रीसले भन्नुभयो, ‘धेरै राम्रो सम्भावना देखेका छौ, कोरोनाले हामीलाई केही सकस बनाएको छ, यहाँ आउने जो कोही निकै लोभिएर आनन्द लिएर फर्कने गरेका छन् ।’

अहिले गाउँपालिकाको २ लाख ५९ हजार लागतमा बेलढुंगालाई फराकिलो र व्यवस्थित बनाउनुका साथै गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउरालीबाट बेलढुंगा सम्म पुग्ने २६० मिटर स्लेट ढुंगा बिछ्याएर पदमार्ग निर्माण गरिएको छ भने बेलढुंगाबाट पञ्चकोट तर्फ २५० मिटर साइकल ल्याण्ड बनइएको छ । बेलढुङ्गा र पञ्चकोट साइकल्याण्डले पुरै जोड्न करोडौं बजेट लाग्ला तर एक दिन पुरा हुनेछ । जसमा झण्डै १० किलोमिटर साइकल लेन बनाउने योजना छ । जसमा पर्यटकहरुले पदमार्गको रुपमा समेत प्रयोग गर्न सक्नेछन् ।

कोरोनाका कारण अहिले पर्यटक नआए पनि बेलढुङ्गाको पुनःनिर्माण जारी रहेको र यही शनिबार मात्रै काठेखोला गाउँपालिकाको सहयोगमा देउराली धुरी र बेलढुङ्गामा भ्यू पोइन्ट सूचना बोर्ड राखिएको बेलढुङ्गा पञ्चकोट पदमार्ग÷साइकल लेन निर्माण समितिका अध्यक्ष प्रेम घर्तिले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निर्वतमान अध्यक्ष तथा स्थानीय दिल शिरीषको पहलमा काठेखोला गाउँपालिका सँगको समन्वयमा देउराली र बेलढुङ्गामा आकर्षक पर्यटकीय सूचना बोर्ड राखिएको हो । “कोरोना महामारीका बीच २६० मिटर पदमार्ग, २५० मिटर साइकल लेन र २०० मिटर कच्ची साइकल लेन निर्माण गरेका छौं” अध्यक्ष घर्तिले भन्नुभयो “ताराखोलाको स्लेट ढुङ्गा छापेर बनाइएको पदमार्ग र साइकल लेनले पर्यटकहरुलाई झनै आर्कषित गर्नेछ, कोरोनापछि पर्यटकहरुको आगमनमा ह्वात्तै बृद्धि हुने अपेक्षा समेत गरिएको छ ।

बेलढुंगा क्षेत्रको समग्र विकास र प्रर्वद्धन गर्न अहिले बेलढुङ्गा तल देउराली सम्म मोटरबाटो पु¥याएको छ । देउराली धुरीदेखि बेलढुंगा सम्म स्लेट ढुंगाको पदमार्ग बनाइएको छ । उक्त स्थानबाट म्याग्दीको पर्यटकीय गन्तव्य स्वर्गाश्रमलाई समेत सडक मार्गले जोडिएको छ ।
बाह्रै महिना हिमश्रृखंला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने यस क्षेत्रमा चैत्र–बैशाखमा फुल्ने रातो, सेतो लालीगुराँसले मनमोहक थप्दछ भने बैशाख मध्यमा माछापुच्छ्रेको खोचबाट सूर्योदय हुने गरेको छ । विहान उदाउने सुर्योदय पनि यहाँको मुख्य आर्कषण हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *