बिर्सिदाँ जिम्मेवारी, बढ्यो कोरोना

आदर्श अनलाइन, बागलुङ
कोरोना महामारीको शुभारम्भमै बागलुङ जिल्ला बढी प्रभावित बन्यो । नेपालकै पाँचौ र छैठौ संक्रमित पहिचान पश्चात त देशव्यापी भयावह पैदा भयो । त्यस यताका दुई वर्ष बढी समय कोरोना संक्रमणकै भयमा बित्यो । अहिले पनि गण्डकी प्रदेशमा राजधानी पोखरा बाहिर र साविक धौलागिरीमै पर्वत, म्याग्दी, मुस्ताङ भन्दा बागलुङमा बढी संक्रमण छ ।

नेपालकै पाँचौ संक्रमतिदेखि शुरु भएको कोरोना त्रास दोस्रो भेरियन्टको तीन महिनापछि अघिल्लो महिना केही मात्रामा घटेको थियो । यसले कोरोना नियन्त्रणमा केही आशा जगाएको थियो । किनभने कोरोनाको दोस्रो लहरमा संक्रिय संक्रमण दर एक हजार नाघेको अवस्थाबाट २ सय १५ मा झरेको थियो ।

तर, पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ बताउनुहुन्छ । गुरौका अनुसार नागरिकले सरकारले निर्दिष्ट गरेको स्वास्थ्यको प्रोटोकलको पूर्ण रुपमा पालना नगरे सम्म कोरोना नियन्त्रण सम्भव छैन । “निषेधाज्ञा अहिलेका लागि निर्विकल्प बन्यो, नागरिकले कोरोनालाई सामान्य ठान्ने काम भयो, गाउँमा भीडभाड गर्ने, संक्रमित भएका र लक्षण देखिएकाहरु अन्य संग घुलमिल गर्ने, घरमा पाहुना आउने जाने जस्ता कारण कोरोनाको संख्या बढ्यो” गुरौले भन्नुभयो “बलेवामा भुसको आगो जस्तै शैलीमा कोरोना फैलिएको छ । तर, अनुगमनका क्रममा माक्स समेत नलगाई संक्रमित बसेको, काममा गएको परिवारका सदस्य बजार सम्म आएको पाइयो । कोरोना बढ्नुको मुख्य समस्या नै यही हो ।” जिल्लामा अहिले सक्रिय संक्रमित संख्या ६ सय ३ पुगेको छ भने हाल सम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

बागलुङमा कारोना संक्रमण दर पछिल्लो समय तीब्र गतिमा बढ्नुमा कोरोना प्रति नागरिकको बेवास्ता र लापरवाही भएको स्वास्थ्यकर्मी, प्रशासन बताउँछन् । यसमा सरकार, यसका निकाय प्रहरी प्रशासनले पनि आवश्यक कदम चाल्न नसकेको नागरिकको गुनासो छ । सरकार जिम्मेवार भएर सबैलाई समयमै खोप र स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गर्नमा ढिलाइ भइरहेको छ भने नागरिक पनि अटेर गरेर कोरोना जोखिम निम्त्याउने गतिविधिमा सरिक छन् ।

निषेधाज्ञा खुकुलो संगै जिल्लामा दैनिक ५० देखि १ सयको हाराहारीमा कोरोना संक्रमित थपिरहेका छन् । यही क्रमलाई चेन ब्रेक गर्न भन्दै यही २८ गतेदेखि आगामी भाद्र ५ गते सम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लाका ८५ वटा वडा मध्ये २० वटा वडा कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क छ । “माक्सको अनिवार्य प्रयोग गर्ने हो भने मात्र पनि कोरोना धेरै हद सम्म रोकिन्छ तर, मेरो साथी, मेरो परिवार, मेरो कार्यालयका कर्मचारी भनेर घुलमिल गर्दा समस्या आएको हो” गुरौले भन्नुभयो ।

जिल्लामा तेस्रो भेरियन्ट आएको हल्ला भए पनि त्यसको पुष्टि र तथ्य नभएको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.शैलेन्द्र वि.पोखरेलले जानकारी दिनुभयो । “कोरोनाको पहिलेको भन्दै लक्षण त्यति फरक देखिएको छैन, जस्तो पहिलो, दोस्रो भेरियन्टको लक्षण छ, अहिले पनि उस्तै छ, तेस्रो भेरियन्ट प्रमाणित नभइकन भन्न मिल्दैन” डा. पोखरेलले भन्नुभयो “अहिले अस्पतालमा जटिल समस्या भएका ६ जना मात्रै संक्रमित छन्, होम आइसोलेशनमा बसेका संक्रमितले खानपान, अक्सिजन लेवलको विषयमा ध्यान दिने हो भने मृत्युदर घट्नेछ ।”

सरकारले परीक्षण, लक्षणको निदान जस्ता कार्य गर्दै आए पनि नागरिकले गम्भीर अवस्था नआउँदा सम्म कोरोनालाई सामान्य ठान्दा यस्तो अवस्था आएको डा. पोखरेलको भनाई छ । माक्स र स्यानिटाइजरको अनिवार्य प्रयोग गरेर दुरी कायम गर्दा पनि कोरोना संक्रमण रोकथाम गर्न सकिने उहाँ बताउनुहुन्छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले नागरिकले मुख्यतः पूर्ववत सचेतता अपनाए अबको १० दिनमा चेन ब्रेक गर्ने गरी कडा लकडाउन गर्न लागिएको बताउनुभयो । पछिल्ला केही दिनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथाम नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा कडा पार्ने निर्णय गरिएको उहाँको भनाई छ । यो प्रहरी प्रशासनका लागि नभई स्वयम् नागरिक आफ्नै सुरक्षाका लागि भएकाले सबै जिम्मेवार भएर यस अभियानमा सहयोग गर्न गौतमले आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *