धौलागिरी अस्पतालमा डाइलासिस सेवा विस्तार

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालले प्रदान गर्दै आएको डाइलासिस सेवा विस्तार गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई थान डाइलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाए पछि सेवा विस्तार गरिएको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चार शैयामा सञ्चालमा आएको डाइलासिस कक्ष ६ शैयामा विस्तार गरिएको छ । अस्पतालमा डाइलासिस गर्ने मृगौला पीडित बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरी अस्पताल बागलुङले जानकारी दिएको छ ।

उक्त डाइलासिस सञ्चालनका लागि जनशक्ति तथा आरो पानीको भने अभाव भइरहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । “नवगठित गण्डकी प्रदेश सरकालाई हामीले मन्त्रालयमै पुगेर धौलागिरी अस्पतालका समस्या र तत्काल आवश्यक औजार पठाउन आग्रह गरेका थियौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई वटा डाइलासिसि मेसिन पठाएको छ” शर्माले भन्नुभयो “अस्पतालको अनुगमनमा आउनुभएको मन्त्री मधुमाया अधिकारीले डाइलासिस कक्षका लागि आरो पानीको क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिनुभएको छ ।”

२०७५ वैशाखबाट अस्पतालमा शुरु भएको अस्पतालको डाइलासिस कक्ष विस्तार नहुँदा १८ जना सम्म डायलासिस गर्नु पर्ने बिरामीले पालो कुरिरहेको गुनासो पछि डाइलोजर मेसिन थप भएको र बिरामीलाई रहात मिलेको अस्पतालको डाइलासिस कक्षमा कार्यरत स्वास्थ्यकर्मी दिपिका गौतमले जानकारी दिनुभयो । “डाइलासिस कक्षका लागि छुट्टै डाक्टर नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टरहरु सहयोग गर्न आउनुहुन्छ,” गौतमले भन्नुभयो “अहिले नियमित रुपमा १८ जना बिरामीले नियमित सेवा पाइरहेका छन्, कसैको हप्तामा दुई पटक र कसैको तीन पटक सम्म बिरामीको अवस्था हेरेर डाइलासिस गर्नु पर्ने हुन्छ ।”

चार शैयाको डाइलासिस कक्ष हुँदा दैनिक ८ जनाले डाइलासिस गर्दै आएकोमा अब न्यूनतम १५ जनाले दैनिक डाइलासिस गर्न सकिने अस्पतालले जनाएको छ । धौलागिरी अस्पतालमा डाइलासिस सेवा हुँदा डाइलासिसका लागि पोखरा, काठमाण्डौ जानुपर्ने बाध्यता हटेपनि प्रयापत डाीलोजर औजार नहुँदा कतिको पालो कुर्दा कुर्दै मृत्यु समेत हुने गरेको छ ।

अस्पतालमा डाइलासिस हुँदा आफूलाई निकै सहज भएको र पोखरा जानु पर्ने बाध्यता हटेको अस्पतालमा नियमित डाइलासिस गराईराख्नुभएका मृगौला पीडित पर्वत जिल्ला जलजला गाउँपालिकाका दिलबहादुर खत्री बताउनुहुन्छ ।

दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण नगरुन्जेल बिरामीलाई नियमित डाइलासिस गर्न अवाश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मृगौला प्रत्यारोपण गर्ने भए पनि मृगौला प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डाइलासिस गर्नु पर्ने हुन्छ ।

अहिले जनतन आरो पानीले पुगेको भए पनि ६ बेडको डाइलासिस कक्ष सञ्चालनमा ल्याउदा मृगौला पीडितको डाइलासिस गर्न अत्यावश्यक आरो पानी उत्पादन गर्ने उपकरण भने अपरिहार्य देखिएको छ ।

यो पनि पढ्नुहोस्