निषेधाज्ञामा प्रहरी गस्ती,४ सय बढीलाई कारबाही

आदर्श अनलाइन, बागलुङ

जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर बढेसंगै निषेधाज्ञामा कडाई गरिएको छ । निषेधाज्ञामा लापरवाही गर्ने प्रवृत्ति देखिए पछि जिल्ला प्रहरी कार्यालय बागलुङले कारबाही समेत गर्न थालेको छ ।

कोरोना संक्रममण दर बढ्दा पनि नागरिकले निषधाज्ञाको उल्लङ्घन गर्ने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले गस्ती गर्दै सडक चोक चोकमै कारबाही गरेको छ ।

नागरिकले विहान र साँझपख निषेधाज्ञाको उल्लङ्घन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कोरोना जोखिम रोक्न छड्के गस्ती तीब्र बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले बताउनुभयो । उहाँका अनुसार जिल्लामा निषेधाज्ञमा कडाई गरेको साउन २८ गते देखि यता ४ सय बढी नागरिकलाई कारबाही गरिसकिएको छ ।

बागलुङ बजारबासीले प्रहरीलाई छलेर बागलुङ–पाङ जोड्ने झोलुङ्गे पुल तरेर पर्वत जाने, फड्केडाँडाको पुल तरेर तित्याङ जाने, उपल्लाचौर, गौरिधाम, कुडुँले लगायतका स्थानमा घुम्न जान थालेपछि प्रहरीले नियमित गस्ती गर्ने गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतम, प्रहरी उपरीक्षक कृष्ण पल्लीमगर, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धानको समूहले मानिस भिडभाड हुन सक्ने सम्भावित क्षेत्रमा छड्के गस्ती गर्दै आएको छ । “निषेधाज्ञामा घरमै बस्न भनेका छौं, जिल्लामा कोरोना संक्रमण दर उच्च भएकाले १० दिनको अवधीमा कोरोना आधा घटाउने लक्ष्य अनुसार निषेधाज्ञामा कडाई गरिएको हो” प्रहरी उपरिक्षक पल्लीमगरले भन्नुभयो “प्रहरी मुख्य बजारमा गस्ती गर्ने नागरिक बजार छेउछाउका स्थानमा भीडभाड गर्न जान थालेकाले सम्भावित क्षेत्रमा सरप्राइज गस्ती गरेका हौं, हामीले निषेधाज्ञाको पालना नगरी विना काम घर बाहिर निस्केकालाई सडकमा होल्ड गर्ने, स्वास्थ्य सचेतना प्रदान गर्ने गरेका छौं, यसलाई कारबाही भन्दा सचेतना भन्न मिल्छ होला ।” मानिस जमघट भएको स्थानमा एक्कासी प्रहरी पुगेपछि नागरिकहरु भाग्ने समेत गरेका छन् ।

निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई खुल्ला चौरमा लगेर सम्झाई बुझाई गर्ने, घरमै बस्न आग्रह गर्ने गरिएको र पटक–पटक निषेधाज्ञा उल्लङ्घन गरेमा थप कारबाही समेत गरिने निमित प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताउनुभयो । “जिल्लामा कोरोना नियन्त्रण निकै चुनौतीपूर्ण भएकाले संवेदनशील भएर गस्ती गर्न बाध्य भएका हौं, कोरोना नियन्त्रण गर्न प्रहरीले निकै सक्रियता देखाएको छ, नागरिक आफै सचेत नहुँदा समस्या भइरहेको छ” निमित्त प्रजिअ गौतमले भन्नुभयो “नागरिकलाई घरमै बस्दा समस्या भएको होला तर केही समय घरमा बस्दा कोरोना नियन्त्रणमा आउँछ भने सहयोग गर्नुहोस् भनेका छौं, दैनिक प्रहरी सहितको गस्ती गरेका छौं, बाटोमा भेटिएकालाई सचेत गराउन आधा घण्टा होल्ड समेत गर्दै आएका छौं ।

बागलुङमा अहिले सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हाल सम्म कोरोना भाइसरका कारण ६४ जनाले ज्यान गुमाई सकेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

निषेधाज्ञामा काम विहिन हुँदा, घरमै बस्दा, व्यापार तथा व्यवसाय ठप्प हुँदा नागरिकले भने सास्ती खेप्दै आएका छन् । कतिपय सुगर, प्रेसर तथा अन्य दीर्घरोगीहरु दैनिक एक घण्टा हिँड्नै पर्ने नागरिकहरु समेत घरमै बस्दा समस्यामा परेको भन्दै साँझपख निषेधाज्ञा छलेर पैदल हिँड्ने गरेका छन् ।

नागरिकहरु निषेधाज्ञा छलेर बागलुङको रामरेखा, विपी पार्क, शहिद पार्क, निरयघाट, डिबी पार्क, फड्केडाँडा, पाङको अदुवाबारी, कालिका मन्दिर क्षेत्र, पञ्चकोट र गौडाकोट लगायतका क्षेत्रमा निस्कने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञामा चलाईएका मोटरसाईक, कार, जीप लगायतका सवारीलाई नियन्त्रण्मा लिएर जरिवाना समेत गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *