किन घटेन कोरोना ? ‘कमजोर प्रशासन र अटेरी नागरिक’

प्रशासन भन्छः–नागरिक पनि सचेत र जिम्मेवार बन्न जरुरी छ

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा पछिल्लो केही साता निषेधाज्ञा जारी गर्दा पनि कोरोना संक्रमणको दरमा अपेक्षित रुपमा कमी आउन सकेको छैन । असार मध्यबाट केही खुकुलो बनाइएको लकडाउनमै कोरोना संक्रमणको दर बढे पछि जिल्ला प्रशासन कार्यालय बागलुङले दुई साता यता निषेधाज्ञामा थप कडाई गरेको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञामा बागलुङ बजार (सदरमुकाम) सुनसान प्रायः छ । बिना काम बाहिर हिँड्डुल गर्ने नागरिकलाई प्रहरीले सडकमै ‘होल्डिङ’ गरेरर कारबाही गरिरहेको छ । अन्तर जिल्ला तथा बिहिरी जिल्लामा चल्ने साना ठूला सवारी साधनहरु पनि ठप्प छन् । तर, पश्चिम बागलुङमा निषेधाज्ञाको कुनै प्रवाह छैन । निषेधाज्ञा उल्लंघन गर्दै मेला पर्व र जमघटहरु समेत आयोजना भइरहेको पाइएको छ ।

सार्वजनिक सवारी साधनमै नागरिकहरु मेला पर्वमा पुग्ने गरेका छन् । जिल्ला सदरमुकाममा बाहिर पैदल हिँडेको नागरिकलाई कारबाही गर्ने प्रशासनको ध्यान सयौँ नागरिकको जमघट भएको पश्चिम क्षेत्र र ग्रामीण भेगमा नपुग्दा कोरोना संक्रमणको खतरा अझ बढेको छ ।

प्रशासनले निषेधाज्ञामा कडाई गरेको बताए केही दिन अगाडि निसेल ढोरमा सयौँ मानिसहरुको जमघट सहित गाउँ पूजा भएको थियो भने आइताबार ढोरपाटन नगरपालिका वडा नम्बर ९ ढोरपाटन स्थित बराह मन्दिरमा सयौं मानिसहरुको उपस्थितिमा पूजाआजाको तयारी छ । हरेक वर्ष जनैपूर्णिमा र बैशाखे पूर्णिमामा यहाँ भव्य मेला लाग्ने र पूजाआजा हुने गरेको छ ।

सोही अनुसार यस वर्ष पनि ढोरपाटनमा पूजाआजा हुँदैछ । त्यसका लागि शुक्रबारदेखि नै मानिसहरु ढोरपाटन प्रस्थान गरेका छन् । तर, उनीहरुलाई कुनै पनि निकायबाट रोकावट छैन । भूजीखोलाले बुर्तिबाङ–ढोरपाटन सडक खण्डको विभिन्न स्थानमा क्षति पु¥याए पछि खुलाउने प्रयास भइरहेको छ । मेला भर्नका लागि अवरुद्ध सडकको जटिलता र सकस बेहोर्दै जानेहरुले सामाजिक संजालमै तस्बिरहरु समेत सार्वजनिक गरेका छन् । तस्बिरले न कोरोना, न निषेधाज्ञा दुवैको केही आभाष दिलाउदैन ।

निषेधाज्ञाको अवधीमा जिल्लामा मानिसहरुको भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनको निर्देशन छ । तर, पश्चिम बुर्तिबाङ बजार, ढोरपाटन क्षेत्रमा यस्तो निर्देशन केवल विज्ञप्तीमा सिमित रहेको स्थानीय बताउँछन् । यसमा प्रहरी प्रशासनको भूमिका कमजोर र नागरिक अटेरी भएको प्रष्ट देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संक्रमण तीव्र गतिमा बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रणमा लिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको बताउनुहुन्छ । प्रहरी प्रशासनको प्रयासले मात्रै संक्रमण नियन्त्रणमा आउन नसक्ने भएकाले सबै नागरिक सचेत र जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाई छ ।

‘जिल्लामा पछिल्लो समय संक्रमण बढीरहेको छ, यसलाई नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छौँ, निषेधाज्ञा जारी गरेर मात्रै संक्रमण नियन्त्रणमा आउँदैन, प्रहरी प्रशासनको प्रयास मात्रले पनि यो सम्भव र सफल हुँदैन, यसमा सबै नागरिकहरु सजग हुनु पर्छ,’ प्रजिअ कार्कीले भन्नुभयो ‘यो अनुशासन सरकार, प्रहरी प्रशासनका लागि होइन, आफ्नै स्वास्थ्यका लागि भन्ने मनन गर्नुपर्छ, सरकारले निर्देशन गरेको सबै नियमलाई पालना गर्न जरुरी हुन्छ ।’

प्रशासन कार्यालयले मानिसको भिडभाड हुने गरी कुनै पनि कार्यक्रम नर्गन आग्रह गरिएको र ढोरपाटन तथा निसेल ढोरमा भएको मेलामा प्रहरी पठाएको कार्की बताउनुहुन्छ । प्रहरी पठाएर मात्रै भिडभाड रोकिने र संक्रमण फैलिन रोक्न कठिन हुने उहाँको भनाई छ ।

प्रजिअ कार्कीले भिडभाडलाइ व्यवस्थापन गर्नका लागि थप प्रहरी परिचाल गर्ने बताउनुभयो । जिल्लामा सिमित जनशक्तिका बाबजुद पनि आफूहरु संक्रमण व्यवस्थापनमा जुटेको प्रहरीले जनाएको छ । यही हिसाबमा नागरिक सजग र प्रशासनको भूमिका फितलो हुने हो भने जिल्लामा संक्रमणको अवस्था भयावह हुन सक्ने जोखिम बिद्यमान छ ।

जिल्लामा बैशाख यता ६ हजार एक सय ९५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यो अवधीमा ५ हजार ७ सय २४ जना कोरोना जितेका छन् । बैशाखदेखि असारसम्म तीव्र गतिमा फैलिएको संक्रमण दर असारको दोस्रो सातादेखि केही कम भएको थियो तर साउनमा पुनः बढ्दै गएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित ४ सय ६२ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । संक्रमणबाट जिल्लामा हालसम्म ६४ जनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *