बन्द हुने अवस्थामा धौलागिरी अस्पतालको आइसियू सेवा

आदर्श अनलाइन, बागलुङ

कोरोना संकटमा जुध्न धौलागिरी अस्पतालमा सञ्चालित सघन उपचार कक्ष (आइसियु) सेवा प्रभावित बनेको छ । गण्डकी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा पछि डाक्टर नपठाउँदा आइसियू सेवा बन्द गर्ने अवस्थामा पुगेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

कोरोनाकालमा एक वर्ष अघि धौलागिरी अस्पतालमा तीन आइसियू र दुई भेन्टिलेटर सहितको शैया सञ्चालन गरे पनि चिकित्सक अभावमा सेवा सञ्चालनमा समस्या भएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीमा कोरोनाका दुई सय भन्दा बढी गम्भीर प्रकारका बिरामीकोे आइसियू र भेन्टिलेटरमा उपचार गरिएको थियो ।

गण्डकी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा. प्रनिता राजभण्डारी, सुप्रिया पौडेल, आकाश चित्रकार लगायत पाँच डाक्टरको एकै साथ सरुवा गरेको थियो । डाक्टरको सरुवा पश्चात अन्य मेडिकल अधिकृतलाई आइसियूको जिम्मेवारी दिएर सञ्चालनमा ल्याए पनि हाल सम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि आइसियू सेवा बन्द हुने अवस्थामा पुगेको मेसु पोखरेलको भनाई छ ।

“करारका मेडिकल अधिकृतको करार अवधी सकिएपछि जानु भो, केहीको मन्त्रालयले सरुवा ग¥यो, आइसियू सञ्चालनका लागि मेडिकल अधिकृत आवश्यक भएपनि अहिले न्यून मेडिकल अधिकृतले काम चलाइएको छ, म डाक्टर ल्याउन पहल स्वरुप काठमाण्डौं र पोखरा धाइरहेको छु, सुनुवाई कतैबाट भएको छैन, तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आइसियू सेवा बन्द गर्नुपर्ने अवस्था आउनेछ ।”

कोरोना महामारीमा धौलागिरी अस्पताल बागलुङको स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालिएको भए पनि पछिल्लो समय चिकित्सकको अभाव हुन थालेको छ । कोरोना महामारीका बिच सिमित स्रोत र साधनका बावजुद पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक छैनन् भने करारका मेडिकल अधिकृतको समेत करार अवधी सकिदाँ समस्यामा परेको र यसको प्रत्यक्ष असर आइसियू कक्षलाई परेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

कोरोना महामारीकै अवधीमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पताल पुनः चिकित्सक अभावको मारमा छ । सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव हुनु दुर्भाग्य भएको सेवाग्राही बताउँछन् ।

१६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेल बाहेक अन्य कुनै पनि विशेषज्ञ डाक्टर नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ डाक्टर करारमा कार्यरत भए पनि ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृत मध्ये अहिले एक जना मात्रै अस्पतालमा कार्यरत छन् ।

करारका १५ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मात्रै मेडिकल अधिकृत कार्यरत रहदा अस्पतालको सेवा प्रभावित बनेको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले तत्काल डाक्टर पठाउने अस्पताल निरीक्षणका क्रममा जनाए पनि हाल सम्म डाक्टर नआउँदा कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक आइसियू सेवा बन्द हुने अवस्थामा पुगेको हो । आइसियू कक्षका लागि स्टाफ नर्स प्रयाप्त भए पनि मेडिकल अधिकृत नुहँदा आइसियू चलाउन सक्ने अवस्था नरहने अस्पतालले जनाएको छ ।

कोरोनाका जटिल बिरामीलाई आइसियू तथा भेन्टिलेटरको आवश्यक पर्ने भए पछि संघीय सरकार र गण्डकी प्रदेश सरकारले झण्डै डेढ करोडको लगानीमा आइसियू सेवा विस्तार गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *