बागलुङमा निषेधाज्ञाः सदरमुकाममा कडाई, पश्चिममा खुल्ला

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा कोरोना संक्रमणको दर बढेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

दोस्रो लहरको सुरु भएदेखि जिल्लामा बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर केही कम हुन थालेसँगै निषेधाज्ञा खुकुलो पारिएको थियो ।

साउनको अन्तिम साता पुनः संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले साउन २८ गतेदेखि जिल्लाभर निषेधाज्ञामा कडाई गरेको जनाएको छ । जस अनुसार जिल्ला सदरमुकाममा होटल, रेष्टुरेण्ट, यातायातका साधान लगायत व्यापार व्यवसाय पूर्ण रुपमा बन्द छ । मानिसहरुलाई बजारमा हिँड्न समेत रोक लगाइएको छ । अटेरी गर्नेलाई प्रहरीले सडककमै कारबाही समेत गरिरहेको छ ।

जिल्लामा यातायातका साधान नचल्दा यात्रुहरु ठूलो मर्कामा परेका छन् । बाहिरी जिल्लाबाट बागलुङ आउने यात्रुहरु पर्वत मालढुङ्गामा झर्छन् । मालढुङ्गाबाट यात्रुहरु हिँडेरै बागलुङ आउनु पर्ने बाध्यता छ । त्यसमा पनि प्रहरीले अनावश्यक रुपमा हिँड्डुल गरेको भनेर होल्ड गर्छ । त्यसले गर्दा नागरिक थप सकसमा छन् ।

काठमाडौँ, पोखरा, बुटवल तथा देशका विभिन्न स्थानबाट बागलुङ आउनेहरु मालढुङ्गा र खनियाघाटमा झरेर पैदल यात्रा मार्फत बजार आउनु पर्ने अवस्था छ । यस स्थानबाट बागलुङ आउन करिब एक घण्टा लाग्छ । त्यसमा युवायुवती पैदल मार्फत सहजै आउन सके पनि ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक र बिरामीलाई भने निकै गाह्रो छ ।

मालढुङ्गामा जिल्ला बाहिरबाट आउने नागरिकहरुको ठूलो भिड देखिन्छ भने सवारी साधानको पनि चाप देखिन्छ । चितवनबाट बागलुङ आएकी मनकुमारी कार्कीले लामो दूरीको यात्रा सहजै पार गरेको भन्दै आफ्नै जिल्ला प्रवेशमा निकै समस्या भएको बताउनुभयो । पेट सम्बन्धी रोगको उपचार गराएर आएकी कार्की मालढुङ्गाबाट हिँडेर बागलुङ आउन नसक्ने अवस्थामा निकै गाह्रो भएको अनुभव सुनाउनुभयो ।

‘त्यति टाढा चितवनबाट यहाँसम्म आउँदा कतै केही समस्या भएन, सर्लक्कै आइयो, घर आइपुग्दा यस्तो समस्या, कि चितवनबाटै आउन नदिएको भए हुन्थ्यो, यहाँ आइसकेपछि घरसम्म त जान दिनु पर्छ नि ?’ कार्कीले आक्रोशत मुद्रामा भन्नुभयो ‘मान्छेहरुको समस्या त बुझ्नु पर्छ नि, अब यहाँबाट कसरी बागलुङ पुग्ने ?’

कार्की जस्ता दर्जनौ यात्रुले दैनिक सास्ती खेपिपरहेका छन् । बिरामी र समस्या भएकाहरुका लागि सम्बन्धित निकायले यथोचित रुपमा सहजिकरण गर्न नसकेको यात्रुको गुनासो छ । यात्रुहरुले बाहिरी जिल्लाबाट आएका यात्रुलाई मालढुङ्गामा अलपत्र पार्नुभन्दा घरसम्म पुग्ने वातावरण मिलाई होम क्वारेन्टिनमा बस्न लगाउनु पर्ने अर्का यात्रु मोहन बुढाले बताउनुभयो ।

‘टाढा–टाढाबाट यहाँसम्म आइयो, अहिले यस्तो ठाउँमा आएर अलपत्र परियो, अब कसरी घर पुग्ने ?, यो त सम्बन्धित निकायले पनि बुझ्नु पर्ने कुरा हो,’ उहाँले भन्नुभयो ‘ठूलाबडा र पहुँचवाला गाडी हल्लाउँदै हिँडे पनि कारवाही हुँदैन, हामी जस्तालाई जहाँ पनि समस्यामा पारिन्छ ।’

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय बागलुङले मालढुङ्गामा कडाई गरे पनि पश्चिम बागलुङमा भने निषेधाज्ञाको कुनै प्रवाह देखिएको छैन । त्यतातिर प्रहरी प्रशासनको ध्यान नपुगेको स्थानीयको व्यापक गुनासो छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा भने मानिसहरु खुलेआम हिँड्ने र गाडीहरु पनि निर्वाध रुपमा चल्ने गरेको पाइएको छ ।

बुटवलबाट आउने नाका बडिगाडको हाँडीखोलामा पनि गाडीलाई कुनै रोकतोक नभएको स्थानीय बताउँछन् । बुटवल तथा भारतबाट आउने मानिसहरु सिधै घरसम्म पुग्ने गरेको पाइएको छ । बुर्तिबाङ बजारबाट विभिन्न स्थनामा चल्ने गाडीहरु पनि बिना अवरोध संचालन भएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले विदेशबाट आउनेलाई कुनै पनि नाकामा नरोकेको र देशका विभिन्न स्थानबाट आउनेलाई प्रवेशमा कडाइ गरेको बताउनुभयो । उहाँले जिल्ला प्रवेशमा कडाई गरिएको सूचना जारी गर्दा गर्दै पनि नागरिकहरु अटेर गरि आउने गरेको उहाँको भनाई छ ।

बिरामी तथा आकस्मिक यात्रामा रहेका नागरिकहरुलाई सहजिकरण गरेर गन्तव्य स्थानसम्म पुग्न दिएको उहाँले बताउनुभयो । पल्ली मगरले पश्चिम बागलुङको हाँडीखोलामा जनशक्ति अभाव हुँदा नाकामा कडाई गर्न नसकिएको बताउनुहुन्छ ।

‘प्रहरीले यो कडाई गर्न आवश्यक नै छैन, यत्रो दुई वर्ष हुन थाल्यो, संक्रमण फैलिएको नागरिक आफैले बुझ्ने कुरा हो, तर पनि केही कम हुन्छ कि भनेर हामीले जिल्लामा कडाई गरेका हौँ, हामीले मात्रै कडाई गरेर संक्रमण नियन्त्रण हुँदैन, आफै नागरिक सचेत र जिम्मेवार हुनुपर्छ,’ प्रहरी उपरीक्षक पल्ली मगरले भन्नुभयो ‘पश्चिममा पनि हामीले कडाई गर्ने कोशिस गरेका छौँ, जनशक्ति अभाव हुँदा प्रभावकारी रुपमा कडाई हुन सकेको छैन, केही सवारी साधान त हामीले नियन्त्रणमा लिएर जरिवाना गरेर छोडेका पनि छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *