आफ्नो एम्बुलेन्स बुर्तिबाङमा बेवारिसे, भाडाको एम्बुलेन्समा बिरामी बोक्दै निसीखोला

साधना पन्त, बागलुङ
कोरोना कहरमा धेरै स्थानीय तहले आफ्नै एम्बुलेन्सको जोहो गरेका छन् । कतिले खरिद गरे, कतिले अनुदानमा पाए, कतिले भने भाडामा एम्बुलेन्स व्यवस्थापन गरी बिरामी बोक्दै आएका छन् ।

कोरोना कहरमै जिल्लाको दुर्गम पालिका निसीखोला गाउँपालिकाको प्रयोग गर्दै आएको निसी स्वास्थ्य चौकीका नाममा रहेको एम्बुलेन्स बिग्रेर थन्किएको छ । तर, पालिकाले बिग्रेको एम्बुलेन्स मर्मत सम्भार नगरी ठूलो व्यायभार पर्ने गरी भाडामा लिएर एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।

तीन वर्ष भन्दा बढी समयदेखि निसीखोला स्वास्थ्य चौकीको एम्बुलेन्स बुर्तिवाङमा थन्किएको छ । चालकले एम्बुलेन्स मर्मतको रकम गाउँपालिकाबाट नपाउँदा एम्बुलेन्स चलाउन छोडेका हुन् । कोरोना कहरका बिच निसीखोला गाउँपालिकाले बिरामी बोक्न मात्र १४ लाख भन्दा बढी रकम खर्च गरेको निसी स्वास्थ्य चौकीका तत्कालीन एम्बुलेन्स चालक रिमबहादुर विकको दाबी छ । निसी स्वास्थ्य चौकीको एम्बुलेन्स हुदाँहुदै एम्बुलेन्स मर्मत गरेर बिरामी बोक्न छोडेर भाडामा एम्बुलेन्स लिएर बिरामी बोकेको विकको भनाई छ ।

स्वास्थ्य चौकीले एम्बुलेन्स मर्मत खर्च दिन नसकेर अहिले सम्म एम्बुलेन्स थन्किएर बसेको हो । स्वास्थ्य चौकीमा एम्बुलेन्स आउदा साथ एम्बुलेन्स चलाउने जिम्मा विकले पाउनुभएको थियो । ५ महिना एम्बुलेन्स चलाएर एम्बुलेन्स मर्मत गरेको बिल स्वास्थ्य चौकी र गाउँपालिकामा पेस गर्दा बेवास्ता गरेका कारण एम्बुलेन्स थन्काएको उहाँको भनाई छ ।

“एम्बुलेन्स मर्मत गरेर रु.१ लाख १७ हजारको बिल लगेर जाँदा गाउँपालिकाले २५ हजारको चेक काटेर दिएको थियो” विकले भन्नुभयो “एम्बुलेन्स पोखरा लगेर मर्मत गरेको हुुँ, गाउँपालिकाले वास्ता नगरेका कारण विगत ३ वर्ष देखी एम्बुलेन्स बेवारिसे अवस्थामा छ ।” उहाँका अनुसार अहिले पनि एम्बुलेन्समा धेरै समस्या छैन । गाउँपालिकाले आफ्नो पालिकाको सम्पत्तिको रुपमा रहेको एम्बुलेन्समा केही खर्च गरेर प्रयोगमा नलिएर भाडाको गाडी प्रयोग मोह देखिनुका पछाडि केही कारण हुन सक्ने स्थानीय बताउँछन् ।

एम्बुलेन्स ल्याउन साथ मासिक रु.१० हजार संस्थाको खातामा राख्दिने शर्तमा एम्बुलेन्स चालक रिम बहादुर विकलाई स्वास्थ्य चौकीको एम्बुलेन्स जिम्मा दिएको निसी स्वास्थ्य चौकीका प्रमुख जुनी घर्ती मगरले बताउनु भयो । दुर्गमको स्वास्थ्य चौकीलाई एम्बुलेन्स सेवा दिने बेलामा निसी स्वास्थ्य चौकीमा परेको एम्बुलेन्स आउदा साथ विकलाई वडा नम्बर ६ का वडा अध्यक्ष सहितको समितिले निर्णय गरेर दिएको घर्ती बताउनुहुन्छ । एम्बुलेन्स लगेर विक सम्पर्कमा नआएको र पटक–पटक बैठकमा बोलाउदा समेत उपस्थित नभएका कारण २०७७ सालमा गाउँपालिकालाई स्वास्थ्यचौकीबाट एक हप्ता भित्र चालक विकलाई सम्पर्कमा ल्याउन निवेदन समेत लेखेको उहाँको भनाई छ । “स्वास्थ्य चौकीको निवेदनको बारेमा अहिले सम्म गाउँपालिकाबाट कुनै जानकारी आएको छैन” घर्ती भन्नुहुन्छ ”निसी स्वास्थ्य चौकीको एम्बुलेन्स र एम्बुलेन्स चालक २०७५ साल देखि बेखबर भएको अवस्था छ ।”

निसी स्वास्थ्य चौकीको समितिले स्थानीय तह नआउदै स्वास्थ्य चौकीको एम्बुलेन्स निर्णय गरेर चालक विकलाई जिम्मा दिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । स्थानीय सरकार आएपछि पालिकामा गुनासो आउँदा पालिकाले चालक संग सोधपुछ गरी एम्बुलेन्स मर्मत गर्दा लागेको रकम बुझाएर पुनःपालिकाले स्वास्थ्य चौकीलाई एम्बुलेन्स जिम्मा दिएकोमा स्वास्थ्य चौकीको समितिले विकलाई नै एम्बुलेन्स दिएको पौडेल बताउनुहुन्छ ।

स्थानीय सरकार नआउदै भएको निर्णय र पछि विकले एम्बुलेन्स बुर्तिबाङमा थन्काएको रिपोर्ट गाउँपालिकामा आएका कारण चालकलाई बोलाई मर्मत सम्भार गरेको २५ हजार गाउँपालिकाले तिरेर पुनः एम्बुलेन्स स्वास्थ्य चौकीलाई जिम्मा दिएको अध्यक्ष पौडेलको दावी छ । ३ वर्ष देखी बुर्तिबाङमा थन्किदा अहिले निकै पुरानो भइसकेको छ । अब त्यसलाई मर्मत गर्दागर्दै धेरै खर्चिलो हुने भएकाले पालिकाले नयाँ एम्बुलेन्स खरिद गर्ने पौडेलले बताउनुभयो ।

विगत तीन वर्ष देखी निसी स्वास्थ्य चौकीको एम्बुलेन्स बुर्तिबाङको पेट्रोलपम्प नजिकै बेवारिसे अवस्थामा रहेको पश्चिम बागलुङमा क्रियाशिल पत्रकार तथा स्थानीय लोकेन्द्र सुनारले बताउनुभयो । कोरोनाको कहरमा आफ्नो एम्बुलेन्सलाई बेवारीसे अवस्थामा छाडेर भाडामा बिरामीहरुलाई ओसार पोसार गर्नु राम्रो कुरा नभएको उहाँको भनाई छ । ‘आफ्नोमा भएको स्रोत साधनको यथोचित प्रयोग परिचालन, अनुगमन गर्नुपर्नेमा पालिका चुकेको देखिन्छ,’ पत्रकार सुनारले भन्नुभयो, ‘समयमै यसमा गम्भीरतापूर्वक चासो दिएको भए भाडाको एम्बुलेन्स प्रयोग गर्नुपर्थेन, पालिकाको एम्बुलेन्स पनि कवाडीमा पु¥याउने अवस्थामा हुन्थेन, पालिकाका नागरिकलाई सस्तो र सहज रुपमा उद्धार र सेवा गर्न सम्भव हुने थियो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *