आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालको ‘सि’ ब्लक भवन निर्माण शुरु भएको ८ वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन । आठ वर्ष लामो अवधीमा निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै बागलुङका सांसदहरु प्रधानमन्त्री देखि मन्त्रीहरुलाई समेत भेट्न भ्याए । प्रदेश सांसद इन्द्रलाल सापकोटा निर्वाचित भए पछि गण्डकी प्रदेशको पहिलो बैठकमा अस्पताल निर्माणको जिम्मेवारी पाएको आशिष÷मिलिनियम र भीम ज्योती जेभीका प्रतिनिधि शितल ढकाललाई कारबाहीको माग गर्नुभयो । सांसद सापकोटाले कारबाहीको माग गरेको नै चार वर्ष पुग्न थालेछ ।
धौलागिरी अस्पताल मात्रै हैन, बागलुङमा सञ्चालित अन्य ठुला आयोजनाका ठेकेदारहरु न समय निर्माणको काम पुरा गर्छन्, न उनीहरुलाई कारबाही नै हुने गरेको छ । ट्रयाक खुलेको २५ वर्ष बित्दा समेत कालोपत्रे गर्न नसकेको मध्यपहाडी लोकमार्गका दुई निर्माण व्यवसायीले समेत म्याद थप गर्दै रकम बुझ्दै गरेका छन् । पटक–पटक संघीय संसद र प्रदेश सभामा लोकमार्गका ठेकेदारलाई कालोसूचीमा राख्न सांसदहरुले माग उठाइरहे पनि कतै सुनुवाई भएको देखिदैन ।
उनीहरुलाई न त काम नै गराउन सकिन्छ, न सरोकारवालाले कालो सूचिमा राखेर पुनः ठेक्का लगाउन सक्छ । कारबाही गर्ने, कालो सूचिमा राख्ने, ठेक्का रद्द गर्ने त कहा हो कहाँ ? उल्टै निर्माण व्यवसायी पोस्ने काम भइरहेको सांसद सापकोटाको गुनासो छ ।
“संसदको पहिलो बैठकमा अस्पतालको ठेकेदारलाई कारबाही गर्न माग गरेको थिए, चार वर्ष वितेछ” सांसद सापकोटाले भन्नुभयो “ठेकेदारले कर्मचारीको सेटिङमा म्याद थप गर्दै आयोजना अलपत्र पार्दै आएका छन्, उनीहरुले कि काम गर्नु प¥यो हैन भने हटाएर नयाँ निर्माण व्यवसायी ल्याउन सरकार र यसका संयन्त्र चुकिरहेको छ ।”
बागलुङबाट निर्वाचित अधिकांश सांसदहरुको संसदमा सधै गुनासो हुन्छ । ठेकेदारले काम नगर्दा आफूहरु समेत बदनाम हुने गरेको विषय राखेका पनि छन् । तर, माथिल्लो तह र कर्मचारीबाट तीनै ठेकेदारलाई कारबाहीको सट्टा म्याद थप मात्रै गर्ने प्रवृत्ति मौलाउदा बागलुङको धौलागिरी अस्पताल भवन, मध्यपहाडी लोकमार्गको बागलुुङ बजार देखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक, अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्डको दूरावस्था, बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेमा ढिलाई भएको छ भने बागलुङ बसपार्कको काम तीन पटक म्याद थप गरेपछि बल्ल अन्तिम चरणमा आएको छ ।
यसरी बागलुङमा सञ्चालित साना ठूला आयोजना समयमै सकिएको सायदै छैन । यसको मुख्य कारण सरोकारवाला निकाय भन्दा निर्माण व्यवसायी शक्ति र पहुँचवाला भएको प्रस्ट देख्न सकिन्छ । राजनैतिक आडमा ठेक्का हत्याउने, केन्द्रीय नेता र कर्मचारी संग सेटिङ गरेर म्याद थप्दै आयोजना लम्बाउने कार्य हुँदै आएको अधिकारकर्मी राम शर्माले बताउनुभयो ।
“राजनैतीक आडमा ठेक्का ल्याउने निर्माण व्यवसायीको पुरानै शैली हो, ठेक्का घटाएर ल्याउने काम गुणस्तरहीन हुने, समयमै नसकिने ठेकदार र कर्मचारी मोटाउदै जाने हुन्छ” शर्माले भन्नुभयो “न त अहिले सम्म बागलुङका कुनै आयोजनामा लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही भएको छ, न समयमै निर्माण सकिएको छ, यसले सरोकारवालाको विकास प्रतिको चरम उदासिनता मात्रै देखाउँछ ।”
२०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे धौलागिरि अस्पताल भवन पटक/पटक म्याद थप्दा समेत सम्पन्न नहुँदा अस्पतालले गुणस्तरीय सेवा दिन असहज भएको छ । कोरोना महामारीका कारण अस्पतालमा बिरामीको चाप भए पनि सि ब्लक भवनलाई ल्याएका सामाग्री थन्काएर राख्नु परेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।
२०७० असार ३ मा तीन वर्षमा निर्माण सक्ने गरी आशिष/मिलिनियम र भीम ज्योती जेभीले भवन निर्माणका लागि भ्याट बाहेक १० करोड ६ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक ठेक्का सम्झौता गरेको थियो ।
बागलुङको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर, पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन ।
सोही ठेकेदारलाई म्याद थप गरिदै आइएको छ । उनीहरुलाई कालोसूचीमा राखेर नया ठेक्का लगाउनुपर्ने स्थानीयको माग रहेको भए पनि आयोजना कार्यालयले भने लागत अनुमान बढेर जाने जवाफ दिदै आएको छ ।
लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीका अनुसार बागलुङ घोडाबाँधे सम्मको दुई निर्माण व्यवसायी संगको ठेक्का पुस मसान्त सम्म थप गरिने बताउनुभयो । कोरोनाका कारण सरकारले ६ महिना म्याद थप्ने प्रावधान अनुसार म्याद थपको कार्यमा गएको उहाँको भनाई छ । उहाँका अनुसार उनीहरुलाई कार्वाही गरेर नयाँ ठेक्कामा जादा आयोजना झनै लम्बिने भएकाले पुस मसान्त भित्र आयोजना सक्न निर्देशन गरिएको छ ।
बागलुङको जिल्ला सदरमुकाम देखि घोडाबाँधे सम्मको सडक अहिले कालोपत्रे गर्ने योजना भए पनि वर्षातका कारण जम्मा २ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।