कहिले बन्छ बलेवा विमानस्थल ?

आदर्श अनलाइन, बागलुङ
निर्माण व्यवसायीले निरन्तर निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्न सक्ने अवस्थामा हुन्थ्यो ।

निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षातका कारण बागलुङ जिल्लामा रहेको बलेवा विमानस्थल दुई पटक म्याद सकिदाँ समेत काम सम्पन्न हुन सकेको छैन ।

धावनमार्गको कालोपत्रेको जिम्मा लिएको निर्माण व्यवसायीले कोरोना कहर र वर्षात्का कारण समयमै काम सम्पन्न गर्न समस्या भएको बताउँदै आएको छ । उसो त नागरिक उड्ययन प्राधिकरणले कोरोनाका कारण थप गरेको एक वर्ष म्याद समेत सकिएको छ, काम अझै बाँकी छ ।

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्न नागरिक उड्ययन प्राधिकरणले ठेक्का मार्फत २०७६ फागुनमा काम शुरु गर्न जिम्मा दिएको थियो । बन्दाबन्दी र वर्षातका कारण कालोपत्रे गर्ने कार्य प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्रे गर्ने जिम्मा ल्याएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो ।

२०७७ माघ मसान्त सम्म कालोपत्रे सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षातको कारण पुनः २०७८ असार मसान्त सम्म काम सक्ने गरी ६ महिना ठेक्काको थप म्याद पाएको थियो ।

अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले बिमानस्थलको काम ठप्प छ । पुनः ६ महिना म्याद थपको प्रक्रिया थालिएकोे निर्माण व्यवसायीका प्रतिनिधि थापाले बताउनुभयो । “करिब सबैजसो काम सकिएको छ, कालोपत्रे गर्न मात्रै बाँकी हो, हाम्रो लामो समय पूर्वाधार निर्माणमे बित्यो, कोरोनाका कारण र कालोपत्रे गर्ने समयमा पानी पर्दा समस्या भयो” थापाले भन्नुभयो “हामी त तयारी अवस्थामा छौं, अहिले कालोपत्रे गर्ने उपकरण तथा कच्चा सामाग्री लैजाने सडक समेत वर्षाका कारण अबरुद्ध छ, प्रकृति संग हाम्रो के नै लाग्छ र ?”

झरी रोकिएर घाम लागे १५ दिनमै विमानस्थल तयारी हुने भएपनि निरन्तरको झरीका कारण कालोपत्रे गर्न समस्या भएकाले असोज सम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर मिनराज ओझाले जानकारी दिनुभयो । विमानस्थल निर्माणमा भइरहेको ढिलाई प्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाई छ ।

“विमानस्थल कालोपत्रेमा ढिलाई हुनुमा निर्माण व्यवसायीको दोष देखिदैन, पूर्वाधारमा कुनै कसर बाँकी राखेको छैन तर विमानस्थल कालोपत्रे गर्ने काम मौसममा निर्भर हुन्छ, शुरुमा कालापत्रेको लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि बर्खा लाग्यो र सडक अबरुद्ध भयो” ओझाले भन्नुभयो, “चर्को घाम नलागी कालोपत्रे गर्न प्राविधिक हिसावले मिल्दैन र टिकाउ पनी हुँदैन, घाम लाग्दा साथ निर्माण व्यवसायी काममा फर्कन्छ, आगामी असोज भित्रै काम सक्ने योजना हाम्रो छ ।”

कालोपत्रे गर्नका लागि आवश्यक कच्चा सामाग्री ढुवानी गर्ने सडक रहेको कालिगण्डकी करिडोर बर्खा लागेपछि अबरुद्ध छ ।

बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रेको पूर्वाधार निर्माण भने सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाई तथा ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नागरिक उड्ययन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खु संग ७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

२६ वर्ष देखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुनः सञ्चालन आएको थियो । जस अनुसार नेपाल एरलायन्स र तारा एरलायन्सले केही महिना उडान भरेका थिए । तर, प्रयाप्त पूर्वाधार र धावमार्ग कच्ची भएका कारण केही महिनामै विमानस्थलमा उडान बन्द भयो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरे पनि कच्ची धावनमार्ग, विमानस्थल संग पुग्ने सडक कालोपत्रे नहुनु लगायतका समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि नागरिक उड्ययन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अघि बढाएको थियो ।

साविक धौलागिरी अञ्चलको बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि विमानस्थल स्तरोन्नती गरिएको थियो । नेपाल एरलाइन्स र तारा एयरको ट्वीनेटर विमानले उडान भरेपनि बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल सञ्चालनका लागि पहिले प्रयाप्त पूर्वाधार निर्माण गर्नुपर्नेमा यस क्षेत्रका बासिन्दाले जोड दिँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *