तस्बिरः संगम घर्ती मगर ताराखोला
साधना पन्त, बागलुङ
दुई वर्ष यता जारी कोरोना महामारीका कारण उद्योग, व्यापार व्यवसाय सर्वत्र प्रभावित छ । ऋण धन गरेर सञ्चालन गरेका व्यापार, व्यवसाय, उद्योगधन्दा पनि कोरोना र लकडाउनका कारण बन्द भएका छन्, र व्यवसायीहरु आफ्नो व्यवसायबाट पलायन हुने अवस्था बिद्यमान छ ।
तर, यही कोरोना संकट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललित बहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थाल्नुभएको छ ।
ताराखोला गाउँपालिका वडा नम्वर २ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । लामो समय वैदेशीक रोजगारीका क्रममा जापानमा बस्नुभएका घर्ती दम्पतीले अहिले गाउँमै २ सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेको बताउनुहुन्छ ।
५ रोपनी जग्गामा नुवाकोटबाट उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उहाँको भनाई छ । ‘साढे ५ वर्ष जापनमा आफ्नो पसिना बगाए । सोचे जस्तो विदेशमा कँहा हुन्छ र ? विदेशमा जस्तो मेहेनत आफ्नै देशमा गरे के सम्भव नहोला र ? भन्ने सोचले आफ्नै गाउँमै अर्गानिक कृषि तथा पशुपंक्षी नामको प्राइभेट कम्पनी दर्ता गरेर व्यवसाय थालेको छु,’ उहाँले भन्नुभयो, ‘मैले आफ्नै गाउँ ठाउँमा केही गरौ भनेर आफु संगै श्रीमतीलाई पनि जापनबाट फर्काएको छु ।’ घर्ती दम्पतिका दुई छोरा र एक छोरी छन् । उनीहरुलाई समेत विदेशी मोहबाट मुक्त गरेर नेपाल फर्किएको घर्ती बताउनुहुन्छ ।
जापनमा मेरै गाउँ जस्तै गाउँमा ठुला ठुला कृषि फार्महरु संचालन गरेको देख्दा मनमा आफ्नै गाउँको याद र सम्भावना बोध भए पछि नेपाल फर्किएको घर्तीले बताउनुभयो । आफ्नै पुख्यौली खेतबारीमा अहिले कालिज पालन थालिएको छ । अहिले ५० लाखको लगानी गरेर कालिज पालेको र अझै ५० लाखको लगानी गरी गाउँमै जडिबुटीको नर्सरी, कालिज पालन सँगै रेष्टुरेन्ट, तरकारी खेती र ह्याचिङ मेसिनको तयारी गरिरहेको उहाँको भनाई छ । डेढ वर्ष देखी तयारी गरेर सञ्चालित फार्ममा अहिले कालिज बेच्नलाई तयार भएको र अण्डा पार्न समेत थालेको घर्ती बताउनु हुन्छ ।
ताराखोला अर्गानिक कृषि उत्पादन र पशुंपक्षी पालनको धेरै सम्भावना बोकेको ठाउँ हो । ताराखोलामा विभिन्न खालका जडिबुटी, फलफूल, तरकारी, च्याउ, ताराखोलाको साग, ओखर, आलु, भाँगोको राम्रो माग, उत्पादन तथा बिक्री हुँदै आएको छ । यसलाई अझ व्यवस्थित तबरबाट गरेर उत्पादन बढाउने घर्ती दम्पतिको योजना छ । बिशेषतः कालिज पालन सँगै ताराखोलामा होमस्टे समेत संचालन गर्ने घर्तिले योजना बनाएको बताउनु हुन्छ । ‘सतुवाको माग अहिले धेरै छ । सतुवा समुन्द्री सतह देखी २२,२३ सय उचाईमा हुने जडिबुटी हो । यो जडीबुटी जुनसुकै ठाउँमा नहुने कारणले यो ताराखोलामा उत्पादन गर्न सकिने भएकाले सतुवाको नसर्री गर्ने योजना पनि छ,’ उहाँले भन्नुभयो, ‘ताराखोलामा उत्पादन हुने हरेक कुरामा ताराखोला ब्रान्ड बनाउने सोच गराएको छु । यसलाई देशमा मात्र नभएर विदेशमा पनि बिक्री गर्ने योजना छ ।’
ताराखोलामा उत्पादन गरेका सबै कुरालाई अक्षेते बजार, बुर्तिबाङ बजार, गल्कोट, बागलुङ बजार मात्र नभएर नेपालको चर्चित पर्यटकीय गन्तव्य स्थल मुस्ताङमा समेत पु¥याउने सोच घर्तीको छ । ‘अहिले सम्म पालिकाले कुनै सहयोग गरेको छैन । सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन’,उहाँले भन्नुभयो, ‘पालिकाका कृषि प्रमुखले हामीहरुले गरेको कामलाई हेरेर सल्लाह सुझाब दिएमा आफुलाई काम गर्न सहज हुनेछ । कृषि र पशुपंक्षी पालनमा अरु प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुनेछ ।’
अहिले ताराखोलाको आलु, ताराखोलाको बेसार, ताराखोलाको अर्गानिक घीउ, भाँगोहरु बागलुङमा मात्र नभएर अन्य जिल्लामा पनि बिक्री गरेका छौ । ताराखोला गाउँपालिकाले ताराखोलामा उत्पादन गरेका कुराहरुलाई प्राथामिकतामा राख्नुपर्ने घर्तीको भनाई छ । ताराखोलाको उत्पादनलाई गाउँपालिकाले ब्रान्डको रुपमा अन्य ठाउँमा चिनाउनु पर्ने कुरामा पालिको पछि परेको घर्ती बताउनुहुन्छ ।