महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा २ पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले पोखराका होटल र रेस्टुरेन्टमा महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

होटलमा महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा नुवाकोट तारेकश्वर -४ स्थायी घर भई पोखरा ६ खहरे चोक बस्ने २७ वर्षीय विशाल भनिने विष्णु श्रेष्ठ र रेस्टुरेन्टमा महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा इलाम माई -८ चिसापानी घर भई पोखरा ६ शान्तिनगर बस्ने २८ वर्षीया अस्मिता राई पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी, सुवास हमालले जानकारी दिनुभयो ।

खहरे चोकमा रहेको होटल लिटिल ह्यावेनका सञ्चालक श्रेष्ठले कुकको काममा लगाई दिन्छु भनी ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको डिएसपी हमालले जानकारी दिनुभयो ।

त्यस्तै शान्तिनगरमा रहेको ए वान रेस्टुरेन्टकी सञ्चालक राईले रेस्टुरेन्टमा खाजा नास्ता बनाउने र खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउने वेटरको काममा लगाई दिन्छु भनी ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

प्रहरीले श्रेष्ठलाई १४ गते र राईलाई १५ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ३० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी हमालका अनुसार पीडित महिलाहरूलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइसकिएको छ ।

यो पनि पढ्नुहोस्