आन्तरिक आम्दानी बढाउँदै बागलुङ नगर

आदर्श अनलाइन, बागलुङ
स्थानीय तहले आन्तरिक आम्दानी मार्फत् नै सरकार सञ्चालन गर्नु संघीयताको मर्म भए पनि नेपालका सबै स्थानीय तह आन्तरिक आय बढाउन भन्दा संघ र प्रदेशको बजेटमा निर्भर छन् ।

खासगरी स्थानीय स्रोत र साधनको पहिचान र अधिकतम प्रयोग गरी स्थानीय तहलाई आर्थिक रुपमा सबल बनाउनु पर्नेमा कतिपय स्थानीय तहले करको दायरा फराकिलो नबनाई करको दर मात्रै बढाएको भन्दै बिरोध समेत हुने गरेको छ । तर, बागलुङ नगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आम्दानी बढाएको छ ।

आर्थिक वर्ष २०७७/७८ सालमा झण्डै दुई करोड बढी कर संकलन गरी पाँच करोड ५२ लाख २४ हजार ६ सय १० रुपैयाँ संकलन भएको बागलुङ नगरपालिकाका राजश्व शाखा प्रमुख काशिराम शर्माले बताउनुभयो ।

बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ सालमा नगरपालिकाको आन्तरिक आम्दानी रु.तीन करोड ३१ लाख ८६ हजार २ सय २७ रुपैयाँ संकलन गरेको थियो भने आर्थिक वर्ष २०७६/०७७ सालमा आन्तरिक आम्दानीमा केही बढाएर तीन करोड ८१ लाख ३९ हजार ६३ रकम संकलन भएको थियो ।

शर्माका अनुसार घर बहाल कर १२ प्रतिशत कायम गरेको नगरपालिकाले ६ प्रतिशतमा झारे पनि घरबहालको अनुगमन पश्चात गत आर्थिक वर्षमा रु.एक करोड ३३ लाख ९५१ रकम संकलन भएको छ । कवाडी कर बापत रु.१४ लाख ११ हजार ९८० रकम संकलन भएको छ । नगरपालिकाले नदीजन्य पदार्थ बिक्री वितरणमा समेत कडाई गर्न थालेको र यसबाट आम्दानीमा उल्लेख्य सुधार भएको राजश्व शाखा प्रमुख शर्माले बताउनुभयो ।

नगरपालिकाले नदिजन्य पदार्थ बिक्रीबाट ६७ लाख बढी राजश्व संकलन भएको छ । यसअघि सम्झौता गरेको क्रसर व्यवसायिले नदी दोहन गर्ने तर सम्झौता अनुसारको रकम नतिर्ने गरेकोमा अहिले सम्झौता गर्दा साथ राजश्व संकलन गर्ने नीति ल्याएको छ ।

नगरपालिकाले लुकेर रहेका करका स्रोत पहिचान, राजश्व छलीमा कडाई र प्राकृतिक स्रोत बिक्रीमा कडाई गर्दा आन्तरिक आम्दानी बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । गत तीन वर्ष पहिलाको आन्तरिक आम्दानीको तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा झण्डै दुई करोड २० लाख बढी आम्दानी गर्न सफल भएको नगर प्रमुख पौडेलले बताउनुभयो ।

“हामीले कर बढाएका छैनौं, केही व्यावसायिक कर घटाएका छौं, करको दायरा बढाएका छौं, गुमेका कर उठाउँदै लगेका छौ भने घरबाहल र ढुङ्गा, गिट्टी, बालुवा बिक्री करलाई व्यवस्थित बनाएका हौं” नगर प्रमुख पौडेलले भन्नुभयो “गत आर्थिक वर्षमा मात्रै रु.पाँच करोड ५२ लाख २४ हजार ६१० आम्दानी गर्नु ठूलो उपलब्धी मानेका छौं ।”

नगर प्रमुख पौडेलका अनुसार वार्षिक रु. दुई करोडका दरले आन्तरिक आम्दानी वृद्धि गर्दै जाने लक्ष्य रहेको र सोही अनुसार करको दायरा फराकिलो बनाइएको छ ।

नगरपालिकाले यसअघि सम्पती कर, व्यवसाय कर, नाता प्रमाणित कर लगायतका प्रशासनिक कर मात्रै लिँदै आएकोमा पछिल्लो समय विज्ञापन कर, कवाडी कर, नदीजन्य पदार्थ बिक्री कर लगायतका नयाँ करको क्षेत्रमा बृद्धि पश्चात आन्तरिक आम्दानीमा बृद्धि भएको हो । आन्तरिक आम्दानीलाई अझ बढाउन कर शिक्षा प्रदान गर्ने घर बाहल करको विषयमा अनुगमन गर्ने नगरको अबको योजना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *