पाँच दिनदेखि मुख्य राजमार्ग ठप्प : अत्यावश्यक सामग्रीको अभाव, बढ्दै भाउ

आदर्श अनलाइन, बागलुङ
गत बिहीबार रातीको अविरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल राजमार्गकोे पर्वत खण्ड क्षतविक्षत भए पछि अझै अवरुद्ध छ । धौलागिरीको मुख्य राजमार्ग अवरुद्ध भए पछि यातायात सेवा ठप्प हुँदा चौतर्फी सकस र सास्ती सुरु भएको छ ।

सडक अवरुद्ध भएपछि सिकिस्त बिरामीहरुलाई दैनिक हेलिकप्टर मार्फत चर्को पैसा तिरेर उद्दार गर्नुपर्ने बाध्यता छ । पहुँच र पैसा हुनेले हेलिकप्टर चार्टर गरेर बिरामी लगेपनि आर्थिक अभावमा जीवन काटिरहेकाहरु भने घर र अस्पतालमै छटपटाउनु पर्ने अवस्था छ ।

चाडपर्वको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भए पछि धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङमा दैनिक अत्यावश्यकीय उपभोग्य सामग्रीहरुको अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न तथा तरकारीको अभाव भएको छ । अभाव बढे संगै अत्यावश्य वस्तुको भाउ मनपरी लिन थालिएको उपभोक्ताको गुनासो छ ।

तराई लगायतको स्थानबाट आयात रोकिदाँ एक केजी हरियो बोडीलाई एक सय बढीमा खरिद गरेको उपभोक्ता हरी रानाले गुनासो गर्नुभयो । “आयात छैन भने पछि स्थानीय किसानले समेत यही हो बेला भनेका छन्” तरकारी किन्न बजार निस्कनुभएको रानाले धौलागिरी जागरणसँग भन्नुभयो “स्थानीय सरकार र प्रशासनले न त अनुगमन गरेका छन्, न यसमा ध्यान दिएका छन् । मर्कामा हामी उपभोक्ता परेका छौं, सानो बाहनामा मुल्य बढाउने ब्यापारीलाई कारबाही गर्नुपर्दछ ।”

मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतको योजना अनुसार काम सम्पन्न भएमा मंगलबार बेलुकीदेखि एकतर्फी याततयात खुलाईने छ । तर, ठूलो पहिरो र सडक बनाएको कारण यसै भन्न सकिने अवस्था भने छैन । चामल, दाल चिनी लगायतका बस्तु स्टोर गरी राखिएको भए पनि सिमेन्ट, निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको भण्डारण खाली भइसकेको बागलुङका व्यवसायीले बताएका छन् ।

हार्डवयरमा सिमेन्ट आयात बन्द हुँदा घर निर्माणका लागि अर्डर गरिएको सिमेन्ट लगायतका निर्माण सामाग्री पठाउन नसकिएको व्यवसायी दयाराम पौडेलले जानकारी दिनुभयो । तर, कृतिम अभाव सृजना गरी मुल्य बढाउन थालिएको उपभोक्ताको गुनासो छ ।

तिज समेत नजिकिएको सन्दर्भमा उपभोग्य वस्तुको माग बढिरेको भएपनि आयात नहुँदा माग धान्न समस्या भइरहेको छ भने अर्कोतर्फ कार्कीनेटा हुँदै घुमाउरो कच्ची सडकबाट ल्याइएको फलफूल तथा तरकारीको दोब्बर मुल्य पर्न थालेको छ । कतिपय होलसेल तरकारी पसलहरुमा तरकारीको अभाव देखिएकाले बन्द गर्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले सडक बन्दले आयात ठप्प हुँदा व्यापारीले मनपरीे मुल्य बढाउन नपाइने र बजारमा छड्के अनुगमन गरिने बताउनुभयो । मुल्यवृद्धिको कहिकतैबाट गुनासो नआए पनि सम्भावित मनपरी रोक्न बजार अनुगमन गर्ने योजना बनाएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो ।

स्टकमा भएको सामान छैन भनेर कालोबजारी गरेको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो । ‘बाटो बन्द भन्दा साथ स्टकमा भएको सामान लुकाएर महङ्गो मुल्यमा बेचेको पाइएमा तत्काल कारबाही हुन्छ,’ उहाँले भन्नुभयो ।

बागलुङबाट निर्यात हुने स्थानीय उत्पादन समेत बागलुङ बजारमै थन्किएको छ । बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको र चाडवाडको बेलामा मङ्गो मुल्यमा पेट्रोलियम पदार्थ कालोबजारीबाट खरिद गरी सवारी गुडाउन बाध्य भएको सवारी चालकहरुले गुनासो गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *