बागलुङ नगरमा प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये धेरै स्थानीय तहमा प्रभावकारी बन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने प्रभावकारी हुन सकेको छैन । विगतका वर्षमा पदमार्ग निर्माण केन्द्रित भएको बागलुङ नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम गत आर्थिक वर्ष २०७७/७८ मा कार्यान्वयन हुन नसकेको हो ।

नयाँ कार्यविधि अनुसार संघीय सरकारबाट आएको सबै रकम ज्यालामा मात्रै खर्च गर्नुपर्ने प्रावधान रहेकोमा बागलुङ नगरपालिकाले साझेदारीमा बजेट नहाल्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित बनेको हो ।

स्थानीय पालिकाले केही बजेटमा साझेदारी गर्दा जिल्लाको काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिका लगायतका स्थानीय तहमा प्रभावकारी बन्दै गएको प्रधानमन्त्री रोजगार कार्यक्रम बागलुङ नगरपालिकामा असफल जस्तै भएको छ । बागलुङ नगरपालिकामा गत आर्थिक वर्षमा रोजगारी प्रदान गर्नका लागि विनियोजित एक करोड ५२ लाख बजेट मध्ये जम्मा १४ लाख मात्रै बजेट खर्च भएर अन्य बजेट फ्रिज भएको बागलुङ नगरपालिका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो ।

“नयाँ कार्यविधिमा धेरै कुरा फरक छ, पहिला ७० प्रतिशत ज्याला, २५ प्रतिशत निर्माण सामग्री र ५ प्रतिशत बजेट औजार खरिद गर्ने खालको थियो, अहिले सबै पैसा ज्यालामै खर्च गर्नुपर्ने हुन्छ, त्यसलै गर्दा निर्माण सामग्री र औजार अभावमा कार्यान्वयन हुन नसकेको हो, गत आर्थिक वर्षमा नगरपालिको समन्वय नगर्दा बजेट खर्च हुन सकेको छैन” शर्माले भन्नुभयो “पालिकाले साझेदारीमा केही बजेट विनियोजन गरेका स्थानमा सफल भएको छ, आगमी दिनमा नगरपालिकाले निर्माण सामाग्री र औजार खरिदमा ध्यान दिनुपर्नेछ ।”

कार्यविधिको समस्याले गत वर्ष बजेट कार्यान्वयन समस्या भए पनि यसपटक पालिकाले साझेदारी गरेर प्रधानमन्त्री रोजगार कार्यक्रम सफल बनाइने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“कार्यविधि नै समस्या छ, नगरपालिका भित्र चलनचल्तीको ज्याला एक हजार छ, कार्यविधिमा ५१७ ज्याला छ, त्यसमा काम गर्न कोही मान्दैनन्, त्यसैमा घन मिटरमा मुल्याङ्कन हुन्छ” नगर प्रमुख पौडेलले भन्नुभयो “नगर क्षेत्रमा श्रमिकको समेत अभाव छ, एउटा वडाको कामदार अर्को वडामा लैजान नमिल्ने, बजार क्षेत्रमा श्रमिक पाउनै मुश्किल छ, यो आर्थिक वर्ष नगरपालिकाले केही रकम छुट्याइनेछ ।” नगरपालिकाको वडा नम्बर ५ मा केही काम गरे पनि प्राविधिकले मुल्याङ्कन गर्दा दैनिक ज्याला ३७५ मात्रै ठरेको रोजगार संयोजक सविता शमाको भनाई छ । नगरपालिकाले १४ वडामा पदमार्ग, मोटरबाटो मर्मत, कच्ची नाली निर्माण जस्ता सात योजना स्वकृत गरेको थियो । नगरपालिकाको वडा नम्बर पाँचमा ८ लाख खर्च भएको थियो ।

अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा रु.एक करोड ४२ लाख बजेट आएको छ । नगरपालिकामा जम्मा २७० जना वेरोजगारको सूचिमा सूचिकृत छन् । सूचिकृतमा नाम भएकाले मात्रै रोजगारी पाउने भएकाले सूचिकृत नाम भएका विदेश जाने र नयाँ बेरोजगार स्वदेश आएकाले रोजगारी दिनै समस्या भएको छ । वडा स्तरीय योजनामा साझेदारी गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

पालिकाले सामान्य औजार, प्राविधिक, सिमेन्ट, बालुवा, ढुङ्गाबाट, व्यवस्थापन गर्ने गरी पालिकाले समन्वय गर्दा मात्रै रोजगार कार्यक्रम सफल हुने देखिएको छ । एक करोड बजेटमा सबै काम भएको काठेखोला गाउँपालिकाले हाल सम्म २७५ जनालाई ८० दिन सम्मको रोजगारी दिइसकेको रोजगार संयोजक जनक पौडेलले बताउनुभयो । काठेखोला गाउँपालिकामा १६९४ जना बेरोजगारको सूचिमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *