वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक

आदर्श अनलाइन, बागलुङ
मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाई, संकटले जीवनमा नयाँ आयाम ल्याउँदछ । २०/२२ वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाण्डौं धाउँदा धाउँदै बित्यो । उमेरले ३० पुग्नै थाल्यो तर, न विदेश सफल भयो, न त कुनै नेपालमा रोजगारीको टुङ्गो लाग्यो ।

युरोप अमेरिका जाने त कुनै सोच थिएन दुर्गाको । तर, साउदी र कतार जस्ता खाडी मुलुकका लागि अन्र्तवार्ता दिँदै उहाँको आठ वर्ष बितेको पत्तै भएन । काठमाण्डौं धाउँदा धाउँदै उहाँको हजारौ रकम समेत खर्च भइसकेको थियो ।

अन्ततः तिलिजाले ३० वर्षको उमेरमा आएर विदेश नजाने निर्णय लिनुभयो । सायद विदेशका लागि पाएको हण्डर ठक्करले पाठ सिकायो । दुर्गाको निर्णयमा परिवारको पनि साथ सर्मथन रह्यो । वैदेशिक रोजगारीमा जाने सपना बिफल भएपछि नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो । अहिले तिलिजाको दैनिकी फेरिएको छ । सरर्र स्कुटरमा कहिले बागलुङ बजार त कहिले कुस्मा बजारमा तरकारी, अण्डा, कुखुरा बेच्दै आउनुभएको छ ।

दुर्गा उमेरले अहिले ३७ वर्षको हुनुभयो । ३० वर्षको उमेरमा थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो । अहिले उहाँ सफल किसानको रुपमा परिचित भइसक्नु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डे स्थित कालिगण्डकी किनारामा रहेको दब्ल्याङ बगरमा तीन रोपनी जग्गा भाँडामा लिएर कृषि कर्म गरिरहनु भएको छ ।

शुरुका ५ वर्ष तरकारी खेती संगै बोइलर कुखुरा पाल्दै आउनुभएकोमा पछिल्लो समय बोइलर छोडेर अण्डा दिने लेयर्स जातको कुखुरा पाल्दै आउनुभएको छ भने पछिल्लो समय फस्टाउदै गएको बट्टाई चरा, बंगुर र टर्की समेत पाल्दै आएको दुर्गा तिलिजा मगरले बताउनुभयो ।

“वैदेशिक रोजगारीमा जान धेरै समय खेर फालिएको रहेछ, शुरुबाटै वैदेशिक रोजगारीमा जान नखोजी कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला ?, जे होस् अहिले राम्रै कमाई भइरहेको छ, आफ्नै परिवारको साथमा बसेर कृषि तथा पशुपालनमा रमाइ रहेको छु” तिलिजा मगरले भन्नुभयो “अहिले किन विदेश जान खोजे हुम्ला जस्तो लाग्छ, मैले शुरुमा बोइलर कुखुरा पालेर व्यवसाय शुरु गरेको भएपनि अहिले बहुआयामकि बनाउँदै लगेको छु, बेमौसमी गोलभेँडा मेरो फर्मको मुख्य आम्दानीको स्रोत हो भने अण्डा, टर्की, बट्टाई पालन समेत गर्दै आएको छु, अहिले आएर बंगुर पालन समेत शुरु गरेको छु ।”

उहाँको कृषि तथा पशु पालनमा श्रीमती लक्ष्मी तिलिजाले समेत सघाउँदै आउनुभएको छ । उहाँको फर्ममा अहिले एक सय अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, ६ टर्की चरा र १४ बंगुर रहेका छन् भने दुई रोपनी क्षेत्रफलमा तरकारी खेती दुई वटा आधुनिक टनेल रहेको लक्ष्मी बताउनुहुन्छ ।

“तीन रोपनी जग्गा भाँडामा लिएर वार्षिक ३५ हजार भाँडा तिर्दै आएका छौं, फर्म आफैले विस्तार गरेका हौं, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन” लक्ष्मीले भन्नुभयो “आफ्नो खायो, आफ्नै काम ग¥यो, आनन्दको जीवन बिताउन पाइयो, अहिले गोलभेँडा गरेर दुई आधुनिक प्लाष्टिक टनेल खाली गर्ने अवस्थामा पुगेका छौं, वार्षिक ८/१० लाखको कारोवार गरिएकै हुन्छौं ।” तिलिजा दम्पतीले लक्ष्मी कृषि तथा पोल्टी फर्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन शुरु गर्नुभएको छ । उनीहरुले फर्म सञ्चालनमा रोगव्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो छ ।

कृषि ज्ञान केन्द्रले एक लाख ५० हजार समेत अनुदान दिइसकेको बताउने थापा दम्पतीले बेला बेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र टर्कीमा रोगको प्रकोप आएको समेत बताउँनुहुन्छ । “टर्की पालनमा अलि समस्या रहेछ, टर्कीलाई फरक खालको रोग लाग्दो रहेछ, यो अलि बुझिएन, ५० टर्की पाल्दै आएकोमा अहिले ६ वटामा सीमित छ, केही टर्की रोगका कारण मरेका छन्” दुर्गाले भन्नुहुन्छ “विदेश जाने सपना त देखियो, विदेश देख्न पाइएन तर साथीभाइहरुको सुख दुःख सुनिएकै छ, अहिले नेपालमै केही गर्न थाले पछि धेरै सन्तुष्टि मिलेको छ, अब बागलुङमा बंगुरको मासुको अत्याधिक माग भएकाले बंगुर फर्म विस्तारमा लागिरहेको छु, अहिले सम्म करीब १५ लाखको लगानी भइसकेको छ ।”

मगर दम्पतीले कृषिमा विचौलियाको अन्त्य गर्नुपर्छ भन्दै आफैले उपभोक्ता समक्ष पु¥याउने गरेको बताउनुभयो । विचौलियाले सस्तोमा खरिद गरी महङ्गोमा बेच्दा असली किसान र उपभोक्ता दुवै मारमा पर्दै आएकाले स्कुटरमा दैनिक रुपमा आफूले उत्पादन गरेको अण्डा, मासु, तरकारी आफैले बागलुङ, कुस्मा तथा म्याग्दीको बजारमा पु¥याउने गरेको उहाँको भनाई छ । बर्खाको समयमा दाना ढुवानीमा आफूहरुलाई समस्या भएको भन्दै सडकको सुधार गर्नुपर्ने उहाँको माग छ । दक्षिण जोड्ने पुलमा बाढीले क्षति पु¥याउँदा दाना ढुवानी नभएका कारण घाँस खुवाएर कुखुरा बचाएको उहाँको भनाई छ ।

“किसानले मेहनत गरेर उब्जाएको तरकारी र पशुजन्य बस्तु बिचौलियाले धेरै नाफा कमाएको आफूले महशुस गरेको थिए” उहाँले भन्नुभयो “त्यसैले स्कुटर किनेर आफै बजार लैजादाँ बढी फाइदा कमाउन सकेको छु, बिचौलियाको अन्त्य गर्न सके आफू जस्ता किसानलाई सहज हुनेछ ।” सरकारले सस्तोमा ऋण सुविधा दिएमा लगानी थप्न निकै सहज हुने उहाँको भनाई छ ।

भकुण्डेको फेदमा रहेको दब्ल्याङ कृषि कर्मका लागि निकै उर्वर भूमि मानिन्छ । त्यस क्षेत्रमा अन्य स्थानका मानिसहरु आएर व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । नेपालमै कृषि गर्ने सोच बनाएका थापा दम्पतीले लगानी गर्ने स्थान खोज्दै दब्ल्याङ पुगेको बताउँनुहुन्छ ।

तिलिजा दम्पतीको मेहनत एउटा उदाहरण मात्रै हो । तर, शुरुमानै विदेश मोह त्यागेर व्यवसायमा लागको भए अझै सफलता प्राप्त गर्न सकिन्थ्यो भन्ने उहाँहरुको सोच छ । दब्ल्याङमा थापा दम्पती जस्ता १० जना कृषकहरुले व्यावसायिक कृषि तथा पशु पालन गर्दै आएका छन् । दब्ल्याङकै सरिता थापाले बंगुर तथा कुखुरा पालन गर्दै आउनुभएको छ भने भर्खरै भकुण्डेका बबीन थापाले माछा र बंगुर पालन र धम्जाका दुर्गा श्रीस र अनिस श्रीस दाजुभाइले बंगुर पालन व्यवसाय शुरु गर्नुभएको छ । उक्त स्थान कृषिको हब बन्दै आएको छ । कालिगण्डकी किनारामा रहेको यस क्षेत्रमा रहेको हावापानी सुहाउँदो कुखुरा, माछा तथा बंगुरपालन निकै फस्टाउदै आएको किसानहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *