कहाँ, कसरी खुल्दैछन् बागलुङका विद्यालय ?

कुनै पालिकामा सञ्चालन, कतै अझै अन्यौल

डम्मर बुढा मगर/साधना पन्त

कोरोना संक्रमणको कारण लामो समयदेखि बन्द भएका बागलुङका विद्यालयहरु खुल्न थालेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर कारण बैशाखदेखि बन्द भएका विद्यालयहरु पुनः संचालन हुन थालेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले लामो समयदेखि जारी निषेधाज्ञा हटाउँदै पालिकाले समन्वय गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरे पछि जिल्लाका १० वटै पालिकामा विद्यालय खुल्न थालेका हुन् । केही पालिकामा पूर्ण रुपमा संचालनमा आएका छन् भने केही पालिकामा अझै अन्यौल देखिएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिकामा पूर्ण रुपमा विद्यालयहरु संचालनमा आएका छन् भने बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकामा भने अझैसम्म पूर्ण रुपमा विद्यालय संचालन हुन सकेका छैनन् ।

गलकोट नगरपालिका
जिल्लाको गलकोट नगरपालिकामा पूर्ण रुपमा विद्यालय संचालनमा आएका छन् । यही भदौ २७ गतेदेखि पालिका भित्रका विद्यालय पूर्ण रुपमा संचालनमा आएको शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सबै विद्यालयमा सरकारको निर्देशनलाई पालना गरेर विद्यालय संचालन गरिएको छ । ‘गलकोटका सबै विद्यालय यही भदौ २७ गतेदेखि संचालनमा आएका छन्,’ शिक्षा शाखा प्रमुख सापकोटाले भन्नुभयो, ‘हामी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले दिएको निर्देशनलाई पालना गरी विद्यालय खोल्ने निर्णय गरेका हौँ ।’

उहाँले विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री वितरणका लागि प्रति विद्यालय २ सय रुपैयाँका दरले सम्बन्धित विद्यालयमा पठाई सकेको बताउनुभयो । हाल गलकोट नगरपालिकाभर गलकोटमा सामुदायिक ६८ र संस्थागत १० गरी ७८ वटा विद्यालय संचालनमा छन् ।

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकामा पनि अझै सम्म सबै विद्यालय संचालनमा आएका छैनन् । अहिले ग्रामीण क्षेत्रका ५० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरु संचालनमा आएको छ । मंगलबार बसेको विद्यालयका प्रधानध्यापक संगको बैठकले असोज ४ गतेदेखि विद्यालयहरु नियमित संचालनमा ल्याउने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्ररेलले बताउनु भयो ।

विद्यालय संचालनमा ल्याउदा १ वटा कक्षामा २० भन्दा बढी विद्यार्थी नराख्ने उहाँले बताउनुभयो । विद्यालयमा प्रवेश गर्दा अनिवार्य माक्स, सेनिटाइजरको प्रयोग, साबुन पानीले हात धुने र विद्यार्थीको ज्वरो अनिवार्य जाँच गर्नुपर्ने बताउनुभयो ।

कोरोना महामरीमा सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय संचालन गर्ने र विद्यालय नियमित संचालन गर्नका लागि सबैले सहयोग गर्नुपर्ने पोख्ररेल बताउनुहुन्छ । अभिभावकले पनि अफ्ना बालबच्चाको स्वास्थ्य अवस्था कस्तो छ भनेर दैनिकजसो ख्याल गर्नुपर्ने उहाँको भनाई छ । बागलुङ नगरपालिकामा ८० वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय छन् ।

ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिकामा कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु पुनः संचालनमा आएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार अहिले ३५ वटा विद्यालय संचालनमा आईसकेको ढोरपाटन नगरपालिकाका शिक्षा तथा प्रविधिक सहायक ज्ञानेन्द्र प्रकाश सापकोटाले बताउनु भयो ।

उहाँले अहिले गाउँमा रहेका अधिकांश विद्यालय संचालनमा आइसकेको र बजार क्षेत्रका विद्यालय पनि संचालन गर्ने तयारीमा रहेको बताउनुभयो । अझै संचालनमा आउन नसकेका केही विद्यालय थप व्यवस्थापन गरी संचालनमा ल्याउने बताउनभयो ।

एक सय भन्दा बढी विद्यार्थी रहेका विद्यालयमा आलोपालो गरी कक्षा संचालन गर्ने र अनिवार्य रुपमा माक्स सेनिटाईजरको प्रयोग गर्नका लागि शिक्षकले विद्यार्थीहरुलाई सचेत गराउन लगाएको सापकोटाले जानकारी दिनुभयो । उहाँले सबै विद्यालय असोज १ गतेदेखि संचालनमा आउने बताउनुभयो । ढोरपाटन नगरपालिकामा ४६ वटा सामुदायिक र ५ वटा संस्थागत गरि ५१ वटा विद्यालय छन् ।

जैमिनी नगरपालिका
जिल्लाको जैमिनी नगरपालिकामा सोमबारदेखि विद्यालय संचालनमा आएको जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिनुभयो ।

विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीलाई कोरोना महामारीको जोखिम हुन नदिने वातवरण सृजना गरेर विद्यालय संचालनमा ल्याएको आचार्यले बताउनु भयो । उहाँले एउटा कक्षा कोठामा २५ जना भन्दा बढी विद्यार्थी नराख्ने र एउटा बेन्चमा २ जना भन्दा बढी विद्यार्थी नराखी विद्यालय संचालन गर्न अनुमति दिएको बताउनुभयो ।

‘अहिले कोरोना महामारीको जोखिम कम भएको छ, लामो समय भयो, विद्यालय बन्द भएको अब कति दिन विद्यालय बन्द गरेर बस्ने भनेर स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी विद्यालय संचालन गरेको छौ’ आचार्यले भन्नुभयो । जैमिनी नगरपालिकामा ८० वटा सामुदायिक विद्यालय र १ वटा निजी विद्यालय छ ।

निसीखोला गाउँपालिका
जिल्लाको निसीखोला गाउँपालिकामा भने अझै विद्यालयहरु पूर्ण रुपमा संचालन हुन ंसकेका छैनन् । यस पालिकामा आइतबारदेखि केही विद्यालय संचालन भए पनि सबै विद्यालय संचालनका लागि जिल्लामा पत्रचार गरेको शिक्षा शाखा संयोजक जयराम पुनले जानकारी दिनुभयो ।

पुनले पालिकाले विद्यालय संचालन गर्न दिन अधिकार नभएको भन्दै केही विद्यालयले स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय संचालन गरेको बताउनुभयो । वडा नम्बर १, वडा नम्बर २ र वडा नम्बर ३ का केही विद्यालय संचालनमा आए पनि अन्य विद्यालयहरु भने संचालन गरिएको छैन ।

‘संक्रमणको अवस्था अहिले शून्य जस्तै छ, तैपनि हामीले जोखिमलाई मध्यनजर गरेर थप सुरक्षित र व्यवस्थित रुपमा विद्यालय संचालनका लागि गृहकार्य गरिरहेका छौँ, डिसिएमसीमा पनि पत्रचार गरेका छौँ,’ पुनले भन्नुभयो ‘अब माथिबाट के निर्देशन आउँछ, त्यही अनुसार विद्यालय संचालन गर्ने हाम्रो योजना छ ।’

उहाँले असोजको पहिलो सातादेखि विद्यालय संचालन गर्ने आफूहरुको योजना रहेको भन्दै संक्रमणको अवस्था हेरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विद्यालय खोल्ने बताउनुभयो । निसीखोलामा ४४ वटा सामुदायिक र ३ संस्थागत गरि ४७ वटा विद्यालय छन् ।

काठेखोला गाउँपालिका
जिल्लाको काठेखोला गाउँपालिकामा पनि पूर्ण रुपमा विद्यालय संचालन हुन सकेको छैन । विद्यालय संचालनका लागि हालसम्म गाउँपालिकाले कुनै पनि निर्णय नगरेको शिक्षा शाखा प्रमुख रमा उचैले बताउनुभयो । उहाँले विद्यालयहरु आन्तरिक रुपमा संचालन हुँदै आए पनि पूर्ण रुपमा संचालनमा आउन नसकेको बताउनुभयो ।

संचालनमा आएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन संचालन गरेको भन्दै संक्रमणको जोखिमका कारण वैकल्पिक शिक्षा विधि प्रयोग गरेर पनि पठनपाठन भइरहेको उचैले बताउनुभयो । केही विद्यालयले अनलाइन कक्षा संचालन गरेको र केही विद्यालयले विद्यालयमै पठनपाठन संचालन गरेका छन् ।

अब पालिकाले निर्णय गरेपछि सबै विद्यालयहरु के कसरी संचालन गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने उहाँ बताउनुहुन्छ । काठेखोलामा सामुदायिक ५० र संस्थागत ५ वटा गरी ५५ वटा विद्यालय छन् ।

तमानखोला गाउँपालिका
पश्चिम बागलुङको तमानखोला गाउँपालिकामा पनि विद्यालयहरु पूर्ण रुपमा संचालन हुन सकेका छैनन् । गाउँपालिकाको कम विद्यार्थी भएको विद्यालयमा पूर्ण रुपमा पठनपाठन भए पनि धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो गरेर कक्षा संचालन गरिरहेको शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको अवस्था सामान्य भए पनि विद्यालयहरु पूर्ण रुपमा संचालन गर्न नसकिएको भन्दै ५० जना विद्यार्थी रहेको विद्यालयमा सबै दिन कक्षा संचालन भएको उहाँले बताउनुभयो । धेरै विद्यार्थी भएको ठाउँमा विद्यार्थीहरुको व्यवस्थापन गरी पठनपाठनलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

गाउँपालिकाले वैकल्पिक सिकाई सहजिकरणका लागि समग्री वितरण गरेको भन्दै रेडियो शिक्षा प्रदान गर्नका लागि तयारी समेत थालिएको उहाँको भनाई छ । गाउँपालिकाले विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री समेत वितरणका लागि सम्बन्धित विद्यालयमा पठाई सकेको बताउनुभयो ।

तमानखोला गाउँपालिकामा सामुदायिक २१ र संस्थागत २ वटा गरि २३ वटा विद्यालय छन् । विद्यालय पूर्ण रुपमा संचालनमा लागि बैठक बसेर निचोड निकाल्ने घर्तीको भनाई छ ।

बरेङ गाउँपालिका
जिल्लाको दक्षिण बरेङ गाउँपालिकामा पनि सबै विद्यालय संचालन हुन नसकेको गाउँपालिकाले जनाएको छ । पालिकामा रहेका प्राथमिक तहका विद्यालयहरु सबै खुलेको र धेरै विद्यालय भएका आधारभूत र मावि तहका विद्यालय भने संचालन हुन नसकेको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

‘कम विद्यार्थी भएका सबै विद्यालय अहिले संचालनमा छन्, कोरोना संक्रमणको अवस्था हेर्ने हो भने बरेङ गाउँपालिकामा शून्यनै छ, अब सबै विद्यालय खुलाउने तयारीमा छौँ,’ शर्माले भन्नुभयो ‘स्वास्थ्य मापदण्डलाई पालना गरी विद्यालय खोल्नेछौँ ।’

गाउँपालिकाले विद्यार्थीलाई स्वास्थ्य सामग्री किन्नका लागि २०० रुपैयाँका दरले सम्बन्धित विद्यालयमा बजेट पठाई सकेको र वैकल्पिक शिक्षाका लागि पनि पालिकाले योजना बनाएको शिक्षा शाखा प्रमुख शर्माको भनाई छ । गाउँपालिकाले रेडियो शिक्षालाई अगाडि बढाउने भने पनि संक्रमण कम भए पछि विद्यालय नै संचालन गर्न लागेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले ३४ सय जानलाई दुई सयका दरले स्वास्थ्य सामग्री किन्नका लागि बजेट विनियोजन गरेको उहाँको भनाई छ । यस पालिकामा ३५ सामुदायिक र संस्थागत १ गरि ३६ वटा विद्यालय छन् ।

ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिकाका २० गतेदेखि सबै विद्यालय संचालनमा आइसकेको गाउँपालिका शिक्षा अधिकृत सविता कुमारी केसी पौडेलले जानकारी दिनुभयो । पालिकामा रहेका २१ वटा सामुदायिक विद्यालय एउटा संस्थागत विद्यालय स्वास्थ्य मापडण्ड अपनाएर पठनपाठन भइरहेको पौडेलले बताउनुभयो ।

कोरोना महामारीले गर्दा विद्यार्थीहरुको पढाईमा ठूलो असर परेको भन्दै संक्रमणको जोखिम कम भएको हुँदा विद्यालयहरु संचालनमा ल्याएको पौडेलले बताउनुभयो । धेरै विद्यार्थी भएको विद्यालयमा आलोपालो पठनपाठन गराउने उहाँको भनाई छ ।

विद्यालय संचाल गर्नुभन्दा हिले सम्पूर्ण विद्यालयका विद्यार्थीका अभिभावकसंग छलफल गराएर मात्र विद्यालय संचालन गर्नका लागि विद्यालय व्यवस्थापन समितिलाई र प्रधानध्यापकलाई पत्राचार गरेको पौडेलले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिका
जिल्लाको बडिगाड गाउँपालिकामा पनि अहिले विद्यालय संचालनमा आएका छन् । गत २२ गतेदेखि नै पालिकाका सबै विद्यालय संचालनमा आएको शिक्षा प्रमुख प्रकाश बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानध्यापकसंगको बैठकले निणर्य गरेर विद्यालयहरु संचालनमा ल्याएको उहाँको भनाई छ । बडिगाड गाउँपालिकामा ६५ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत गरी ६८ वटा विद्यालय छन् ।

कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयमा अहिले स्वास्थ्य सुरक्षा अपनाएर संचालनमा ल्याइएको क्षेत्रीले बताउनुभयो । ‘अहिले बडिगाडमा कोरोनाको जोखिम कम रहेको छ, फेरी कोरोनाको जोखिम बढेमा विद्यालय बन्द पनि हुन सक्छ तर विद्यालयमा सिफ्ट गराएर पठनपाठान भइरहेको छ’ उहाँले भन्नुभयो ।

विद्यालय परिसरमा अनावश्यक अन्य मानिसहरु जान नदिने, साबुन पानीले हात धुने, नियमित सेनिटाइजर र माक्सको प्रयोग गर्ने र विद्यार्थीहरुको स्वास्थ्यको अवस्था बुझ्न ज्वरो दैनिक जाँचका लागि विद्यालयका शिक्षकहरुलाई जानकारी गराइएको क्षेत्रीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *