कांग्रेसमा चुनावी रौनक : बागलुङका चार नगर सभापतिमा १८ जनाको चर्चा

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको वडा तहको अधिवेशन सम्पन्न भए लगत्तै पालिका तहमा नेतृत्वका चयनका लागि चुनावी रौनकता सुरु भएको छ ।

बागलुङमा गत भाद्र २१ गते ८५ वटै वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । आगामी असोज ९ गते हुने पालिका स्तरीय अधिवेशनमा बागलुङका १० वटै पालिकामा अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ ।

गलकोट नगरपालिका
१० पालिका मध्ये ४ वटा नगरपालिकामा कसले नेतृत्व प्राप्त गर्लान् भन्ने विषयमा धेरैको चासो छ । बागलुङको गलकोट नगरपालिकामा विरजगं भण्डारी, मुकुन्द भण्डारी र नारायणध्वज मल्लको चर्चा र दाबी छ ।

मुकुन्द भण्डारी संस्थापन पक्ष निकट मानिनुहुन्छ भने भण्डारी र मल्ल संस्थापन इतर पक्षको हुनुहुन्छ । गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका विरजंग भण्डारीले औपचारिक रुपमै सभापतिको घोषणा गर्नु भएको छ भने मल्ल र भण्डारील अनौपचारीक रुपमा सभापतिको दाबेदारी भएको जनाउनुभएको छ ।

वडा नम्बर ३ को जनप्रतिनिधिसँगै कांग्रेस गलकोटको सचिव समेत सम्हाल्दै आउनु भएका भण्डारी यस पटकको अधिवेशनमा सभापतिको आकांक्षी हुनु स्वभाविक भएको दाबी गर्नुहुन्छ । उहाँ गुट उपगुट नभई युवा पुस्ताले कांग्रेसमा नेतृत्व गर्नु पर्ने मान्यता आफूले राख्ने र पार्टीलाई गुटरहित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ । भण्डारीले नयाँ पुस्तालाई कांग्रेसमा आकर्षण गर्न र पार्टी संगठनलाई सुदृढीकरण गर्न आफ्नो प्रयास रहने भन्दै अबको कांग्रेसलाई प्रबिधिसँग जोडेर लैजाने समेत उहाँको भनाई छ ।

अर्का उम्मेदवारद्धय मुकुन्द भण्डारी र मल्लले पनि पार्टीलाई गतिशील बनाउन नेतृत्व गर्न लागेको बताउनुहुन्छ । गलकोट नगरपालिमा संस्थापन पक्षको बलियो प्रभाव रहँदै आएको छ ।

जैमिनी नगरपालिका
जिल्लाको जैमिनी नगरपालिमा काशिराम आचार्य, पुरन श्रीस, लक्ष्मीप्रसाद सापकोटा, विष्णुराज पौडल, प्रेम सापकोटा, प्रभाकर शर्माको चर्चा छ । आचार्य संस्थापन पक्षका आधिकारिक उम्मेद्वार हुन् भने अन्य पाँच जना पौडेल पक्षका मानिन्छन् ।

धौलागिरी क्याम्पस बागलुङका स्ववियू सचिव समेत रहेका विष्णुराज पौडेलले महिना दिन अगाडी नै १४ औँ अधिवेशनमा जैमिनी नगरपालिकाको सभापतिको उम्मेद्वारी घोषणा गर्नु भएको थियो भने अन्य नेताहरुले पनि औपचारिक तथा अनौपचारिक रुपमा सभापति हुने आकांक्षा व्यक्त गरेका छन् ।

पौडेल पक्षको दरिलो प्रभाव रहेको जैमिनी नगरमा संस्थापन पक्षलाई नेतृत्व प्राप्त गर्न कठिन रहे पनि जोड घटाउ सुरु भएको छ । जैमिनीमा क्रियाशील सदस्य वितरण गर्दा पौडेल पक्षले एकलौटी रुपमा आफू पक्षका कार्यकर्तालाई मात्रै सदस्यता दिएको संस्थापन पक्षका नेताहरु गुनासो गर्छन् । यसले गर्दा यहाँ संस्थापन पक्षलाई कमजोर भएको उनको भनाई छ ।

ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिकामा पनि चार जनाले सभापतिमा आकांक्षा देखाएका छन् । कांग्रेसका जिल्ला सदस्य शैलेस घर्ती मगर, नेपाल तरुण दलका जिल्ला सदस्य कल्याण कायत, दिपक कुमार अदै र तारा बुढाको नाम चर्चामा छ ।

चार जना मध्ये कायत संस्थापन इतरका मानिन्छन् भने अन्य तीन जना संस्थापन पक्ष निकट मानिन्छन् । यी चारै जनाले औपचारिक रुपमा भने सभापतिको घोषणा गर्नुभएको छैन । तर, उनीहरुले इच्छा भने व्यक्त गरेको एक नेताले बताए । ढोरपाटन नगरपालिकामा संस्थापन पक्ष र संस्थापन इतर दुबै पक्षको उपस्थिति राम्रो छ ।

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकामा पाँच जना नगर सभापतिमा आंकाक्षी रहेको चर्चा छ । नगर सभापतिका लागि जयराम भारी, कर्ण हमाल, टिकाराम थापा, हरिबहादुर जिसी (सन्तोष) र प्रकाश आचार्यको नाम चर्चामा छ ।

भारी र थापा संस्थापन इतरका मानिन्छन् भने अन्य तीन जना संस्थापन पक्षका मानिन्छन् । पाँचै जनाले आ–आफ्नै हिसाबले आन्तरिक लबिङ र तयारी थालेको बुझिएको छ । बागलुङ नगरपालिकामा संस्थापन पक्ष र संस्थापन इतर दुबै पक्षको तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *