बामपन्थी शिविरमा एमालेको विकल्प अरु हुनै सक्दैन : नेता गुरुङ

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको बामपन्थी शक्तिहरुको शिविरमा नेकपा एमालेको विकल्प अरु कुनै दल हुन नसक्ने दावी गर्नु भएको छ । विचार, दृष्टिकोण, सांगठनिक संरचना, योजना नीति, कार्यक्रम, सरकारको नेतृत्व गर्दा गरेका जनमुखी काम लगायत कुनै पनि हिसावले बामपन्थीहरु एमालेको विकल्प हुन नसक्ने उहाँको भनाइ थियो ।

नेकपा एमाले बागलुङ जिल्ला कमिटिको शुक्रवार आयोजित वैठकमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै गुरुङले बाघको विकल्प बिरालो हुदैन भन्दै उत्साहका साथ जनताका बीचमा गएर पार्टी निर्माणमा जुट्न जिल्लाका नेताहरुलाई निर्देशन दिनुभयो । केही समय एमालेका विरुद्ध मोर्चाहरु बन्ने, फरक छौ भन्ने, नयाँ हौ भनेर अलमलाउने काम हुन सक्छ, तर एमालेको विकल्प अरु हुन सक्दैनन् ।

एमालेले लिएको जनताको बहुदलीय जनवादलाई नक्कल गरेर एमालेको विकल्प खोज्ने शक्तिहरु कुनै पनि हालतमा एमालेको विकल्प हुन सक्दैनन्, नेता गुरुङले भन्नुभयो–‘एमालेले जे जे गर्छ, त्यही त्यही नक्कल गरेर एमालेको वैकल्पिक शक्ति बन्ने प्रयत्न भैरहेको छ, त्यो सफल हुदैन ।’

जनताको आर्थिक, सामाजिक रुपान्तरणको योजना सहित लामो समयदेखि देशभरका जनताका बीचमा काम गरेको एमालेलाई विभाजनले खास असर नगर्ने भन्दै उहाँले पार्टीको सम्पूर्ण पंक्तिलाई सक्रिय भएर जनताका बीच जान आग्रह गर्नु भयो । जनता एमालेकै पक्षमा छन्, एमालेले स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नेतृत्व गरेको समयमा गरेका काम र अन्य दलले नेतृत्व गरेको समयमा भएका कामको तुलना जनताले गर्ने भन्दै उहाँले एमालेमा देखिएको समस्याका कारण निरास बनेका जनतालाई उत्साहित बनाउने गरी जिल्ला, पालिका र वडाका कार्यक्रम निर्माण गरी अभियान सञ्चालन गर्न जिल्ला कमिटि वैठकलाई निर्देशन दिनुभयो ।

बामपन्थी बाहेकले देश सञ्चालन गर्न नसक्ने भएकाले एमाले नै देशको प्रमुख शक्ति हो, एमालेलाई जनताका बीचमा थप सशक्त ढंगले स्थापित गर्नका लागि नेता कार्यकर्ताहरु वैचारिक रुपमा स्पष्ट र प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्नु पर्ने उहाँको सुझाव थियो ।

पार्टीका नेता कार्यकर्ताहरुमा निरन्तरता र धैर्यतासंगै सिर्जनशिलता आवश्यक रहेको चर्चा गर्दै उहाँले पछिल्लो समय नेता कार्यकर्ताहरु कम्युनिष्ट आचरणबाट विच्छेद हुदै गएको बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य लिला बहादुर थापा मगरले एमालेको आगामी विधान महाधिवेशनले देशलाई नयाँ उत्साहका साथ हाँक्ने गरी विधि निर्माण गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले गाउँ गाउँबाट पार्टीको नीति निर्माणका विषयमा सुझाव दिन आग्रह गर्नु भयो ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द बहादुर नेपाली र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मना केसीले प्रदेश र केन्द्रीय कमिटिका निर्देशनहरुको बारेमा जानकारी गराउदै पार्टी गतिविधिलाई सक्रियताका साथ अगाडि बढाउन आव्हान गर्नु भएको थियो ।

एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा सम्पन्न वैठकमा जिल्ला कमिटिका ४० जना सदस्यहरुले आ–आफ्नो भुगोल, जिम्मेवारी लगायत पार्टीको अवस्था र आगामी योजनाका बारेमा आफ्नो धारणा राखेका थिए ।

बैठकले असोज मसान्त भित्र सदस्यता नविकरण गर्र्ने, असोज १० गतेभित्र सबै पालिका कमिटिको भेला, असोज २५ गतेसम्म सबै वडाको भेला सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रले कात्तिक ६ गते देशै भरका वडा अधिवेशन र कात्तिक ९ गते सबै पालिकाको एकै पटक अधिवेशन सम्पन्न गर्ने गरी निर्देशन गरेको छ । सोही अनुसार वडा तथा पालिकाका भेला, वैठक र कार्ययोजना निर्माणका लागि जिल्ला कमिटि वैठकले निर्देशन गरेको पार्टी उपाध्यक्ष कृष्ण पाठकले जानकारी दिनुभयो ।

एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुदैछ, विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको चयनका लागि बैठकले सचिवालयलाई जिम्मेवारी दिएको छ । एमालेबाट अलग भएर अर्को पार्टीमा लागेका नेताहरुलाई कार्वाही गर्नुका साथै जिल्ला कमिटिमा सदस्य मनोनित गर्न, जिल्ला सचिवालय गठन गर्नका लागि पनि सचिवालयलाई अधिकार दिएको पार्टीका उपसचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *