कोरोनाले स्थगित राष्ट्रिय जनगणना पुनः शुरु

आदर्श अनलाइन, बागलुङ

कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना पुनः शुरु भएको छ ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना– २०७८ का लागि बागलुङमा पहिलो चरणको सूचिकरणका लागि सुपरिवेक्षक गाउँ गाउँमा खटिएका छन् ।

कोरोनाको दोस्रो लहर अघि शुरु गर्न थालिएको जनगणना कोरोना महामारीका कारण स्थगन गरिए पनि भदौं ३० गते देखि पुनः शुरु भएको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ । असोज १८ गते सम्म बागलुङको प्रारम्भिक जनगणनाको नतिजा आइसक्ने तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख तथ्याङ्क अधिकृत मुकुन्द प्रसाद शर्माले बताउनुभयो ।

संघीयता कार्यान्वयन पछि हुन थालेको पहिलो जनगणनाले स्थानीय तह, प्रदेश र संघीय सरकारलाई नीति तथा बजेट निर्माणमा सहयोग पुग्ने विश्वास समेत छ । पहिलो चरणमा घर तथा परिवारको सूचिकरणका लागि ९६ सुपरीवेक्षक खटिएको तथ्याङ्क अधिकृत शर्मा बताउनुहुन्छ ।

सुपरिवेक्षकहरुले मानिस बस्ने तथा नबस्ने घर तथा भौतिक संरचनाको विवरण, मानिस बस्ने घरमा संकेत, परिवार संख्या र महिला पुरुषको विवरण संकलन गर्नेछन् । यस्तै, खेतीपातीको विवरण, गाइबस्तु, साना तथा ठूला चौपाय लगायतको विवरण सुपरिवेक्षकले संकलन गर्ने शर्माको भनाई छ ।

“गणकले सबै परिवारको व्यक्तिगत विवरण संकलन गर्न पछि जानेछन्, अहिल प्रारम्भिक जनगणना र सूचिकरणको काम हुनेछ, पछि मानिस बस्ने घरमा गणकहरु पुगेर व्यक्तिगत विवरणहरु संकलन गरिनेछ” शर्माले भन्नुभयो “असोज १८ सम्म जिल्लामा महिला तथा पुरुषको जनसंख्याको प्रारम्भिक विवरण आइसक्नेछ, गणकहरु भने कात्तिक २५ गतेदेखि परिचालन गरिनेछ ।” कार्यालय प्रमुख शर्माका अनुसार जिल्लामा झण्डै ४ सय गणकहरु परिचालन गरिनेछ ।

संघीयता पछि हुन लागेको पहिलो जनगणनाले स्थानीय सरकारलाई उक्त तथ्याङ्कले ठूलो सहयोग पु¥याउने छ । नेपालको जनगणनाको इतिहासमा १ सय १० वर्षमा गर्न लागिएको अहिलेको तथ्यांक संकलन १२ औं चरणको भएको कार्यालयले बताएको छ । जनगणनालाई सहज तुल्याउन जिल्लाको चार स्थानमा स्थानीय जनगणना कार्यालय समेत स्थापना भइसकेको छ ।

अहिलेको जनगणनालाई व्यावहारिक तथा वैज्ञानिक बनाउनका लागि ८० प्रश्न तयार गरिएको छ । जनगणना पछि सबै जानकारी प्राप्त गर्नका लागि ८० प्रश्न सोधिनेछ । जनगणनामा शुरुमा सुपरिवेक्षक घरमै पुगेर २५ प्रश्न सोध्नेछन् भने त्यसपछि गणक गएर ५५ प्रश्न सोध्नुपर्नेछ ।

जनगणना अधिकारी शर्माका अनुसार सुपरिवेक्षकले घरमुली, जग्गा, कृषि र बैंक खाताको विवरण लगायतका प्रश्नको उत्तर ल्याउनेछ भने गणकले व्यक्तिगत खण्ड, पारिवारिक खण्ड र आर्थिक कारोबार खण्डका आधारमा प्रश्न गर्नेछ । यसका लागि सुपरीवेक्षकलाई १० मिनेट र गणकलाई ३० मिनेट समय लाग्नेछ ।

यसपटकको जनगणनामा खाली रहेको घर, गोठको समेत विवरण आउनेछ । नेपालमा महिलाको नाममा सम्पत्ति बनाउने प्रचलन बढ्दै गएको सन्दर्भमा महिलाको नाममा भएको एकल र संयुक्त सम्पत्ति विवरणसमेत जनगणनामा समावेश गरिने भएको छ ।

सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज गराउने गरी बेरोजगार अवस्था, रोजगारी चाहे÷नचाहेको लगायतका विवरणसमेत समावेश गरिनेछ ।

२०६८ को जनगणनाअनुसार बागलुङ जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ छ । नमूना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको संख्याका आधार मानिएको छ । जनगणनाको मुख्य आधार जन्म, मृत्यु, बसाइँ सराइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *