झोलुङ्गे पुलले फेरियो अदुवाबारी

डम्मर बुढा मगर, बागलुङ
केही वर्ष अगाडिसम्म पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी क्षेत्र कालोपाती र झाडीले भरिएको थियो । स्थानीयले पशुचौपायालाई घाँस काट्ने खर्कका थियो । बाँदर हिँड्ने, खेल्ने भिर थियो । तर, पछिल्लो एक वर्ष यता कालोपाती र झाडीले भरिएको अदुवाबारी अहिले व्यावसायिक आयआर्जनको गतिलो थलो बनेको छ ।

बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिए पछि अहिले व्यावसायिक चहल पहल बढ्दो छ । अहिले यस क्षेत्रमा धमाधम व्यवसायहरु संचालन हुन थालेका छन् । घर भवनहरु निर्माण भइरहेका छन् । केही वर्ष अघि सम्म अदुवाबारी यसरी परिवर्तन, सम्भावना लिएर आउला भन्ने स्थानीयले सोच्दै नसोचेको बताउँछन् । डरलाग्दो भिर माथिको टाकुरोमा झोलुङ्गे पुलले धेरैलाई आकर्षित गरेको छ ।

पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नुका साथै सिंगो धौलागिरीको पर्यटन क्षेत्रमा पनि रौनकता थप्न थालेको छ । कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै आएको छ । दैनिक पुलमा २÷३ सय भन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् । मानिसहरुको आगमन बढेसँगै पुलको पारी पर्वत तर्फ व्यवसाय फस्टाउन थालेका छन् । किराना पसल, होटल तथा रेष्टुरेण्ट लगायतका व्यवसाय गर्ने संख्या र लगानी बढ्दो छ ।

कोरोना संकटकै बेला संचालनमा आएका होटल र रेष्टुरेन्टहरुमा पछिल्लो समय चहल पहल बढे पछि स्थानीय व्यवसायी उत्साहित हुन थालेका छन् । लकडाउनको समय होटल तथा रेष्टुरेण्टहरु बन्द भए पनि अहिले चहल पहल बढेको होटल व्यवसयासी गोपाल रिजालले बताउनुभयो । उहाँले गत वर्षदेखि होटल संचालन गरेकोमा कोरोना संक्रमणका कारण केही समय नचले पनि अहिले राम्रो व्यापार हुन थालेको बताउनुहुन्छ ।

‘गत वर्षदेखि यहाँ हामीले रेष्टुरेन्ट संचालन गरेका हौँ, सुरुसुरुमा अलि–अलि चल्यो, बिचमा फेरी लकडाउन भयो, त्यसबेला व्यापार पुरै ठप्प भयो,’ उहाँले भन्नुभयो ‘अहिले राम्रो चलेको छ, मान्छेहरु पनि राम्रै आउनु भएको छ, व्यापार राम्रो भएको छ, तर अझै कोरोनाको डर छ, कोरोना नियन्त्रण भइदिए व्यापार व्यवसाय गर्न ढुक्क अवस्थाले सजिलो हुन्थ्यो ।’

पुलकै कारण यो ठाउँमा व्यापार व्यवसायका लागि उपर्युक्त स्थल बन्दै गएकाले व्यापार व्यवसायका लागि व्यवसायीहरु थपिने क्रम जारी छ । केही वर्ष अगाडिसम्म यो ठाउँ निकै सुनसान र डरलाग्दो भिर भए पनि पुलले व्यावसायिकक ढोका खोल्दिएको रिजाल बताउनुहुन्छ ।

‘पहिला हामीले यो ठाउँमा यस्तो बन्ला भन्ने सोचेकै थिएनौँ, जब यहाँ पुल बन्यो, अहिले पुरै ठाउँनै परिवर्तन भएको छ, यहाँ जग्गा हुने जग्गाधनीलाई निकै फाइदा पुगेको छ,’ उहाँले भन्नुभयो ‘यहाँ मैले होटल रेष्टुरेन्ट सुरु गरेको पनि एक वर्ष भइसक्यो, पहिला सुनसान जस्तै थियौ, अहिले व्यवसायिक प्रयोजनले यति धेरै घरहरु बनेका छन्, पसलहरु खुलेका छन् अझै खुल्ने तर्खरमा छन् ।’

स्थानीय गोम माझीेले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताउनुहुन्छ । माझीले यस ठाउँ भिर रहेका कारण पहिला खासै मान्छे नआउने गरेकोमा अहिले दैनिक सयौ मानिस आउनुले पर्यटन र अरु व्यापारका लागि राम्रो सम्भावना र विकास भइरहेको सहजै अनुमान गर्न सकिन्छ ।

‘अहिले यस्तो राम्रो भएको छ यो ठाउँ, पहिला त कालोपातीले भरिएको थियो, यो ठाउँमा सबै झाडी मात्रै थियो, बुन्दा बाटोले पनि जोडियो, अहिले त निकै राम्रो पो भयो, यो ठाउँ यस्तो हुन्छ भन्ने कसैले पनि सोचेकै थिएनन्,’ माझीले भन्नुभयो ‘अहिले कस्तो बन्यो यो ठाउँ ?, कोही मान्छे नआउने ठाउँ अहिले सबै आउने ठाउँ बन्यो, विकास त नसोचेकै पो हुँदो रैछ ।’

उहाँले पुल खुलेपछि व्यवसाय सुरु गरेको भन्दै आफ्नो व्यवसाय अहिले निकै राम्रो भएको बताउनुहुन्छ । पुलको मुखमै पसल गरेर बस्नु भएकी माझीले अहिले दैनिक सयौँ मानिसलाई पानी र सामान्य खाजा विक्री गर्दै आउनुभएको छ ।

यस क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागि व्यवसायिक रुपमा स्वीङ पनि संचालनमा ल्याइएको छ । अरु संरचना पनि निर्माण भइरहेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र सुवेदीले पर्यटनमैत्री पूर्वाधार निर्माणका साथै यो ठाउँलाई थप व्यवस्थित र पर्यटक आवत जावतको सहजताका लागि वडा कार्यालयले सडक सञ्जाल समेत विस्तार र स्तरोन्नती गर्ने योजनामा रहेको बताउनुभयो ।

‘पुल बनेपछि अहिले धेरै संरचनाहरु बनिरहेका छन्, केही बनिसकेका छन्, हामीले पनि पर्यटकलाई थप आकर्षित गर्न सुरुवाती चरणमा सडक सञ्जाललाई विस्तार गर्न तर्फ जोड दिएका छौँ,’ वडा अध्यक्ष सुवेदीले भन्नुभयो ‘सडकलाई सुधार गर्न र व्यवस्थित गर्न सकियो भने त्यसभन्दा माथिसम्म पनि पर्यटक पु¥याउन सकिन्छ भने व्यवसाय व्यवसाय र पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग मिल्नेछ ।’

उहाँले यस क्षेत्रमा हुने फोहोर व्यवस्थापनका लागि वडा कार्यालयले सहजिकरण गरिरहेको छ । अध्यक्ष सुवेदीले अदुवाबारी क्षेत्रमा संचालनमा आएका होटल तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याएर आर्थिक विकासमा समेत टेवा पु¥याउने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।

‘अहिले व्यापार व्यवसाय विस्तारै गति लिन थालेका छन्, उहाँहरुलाई करको दायरामा ल्याउने प्रक्रिया पनि सुरु भएको छ,’ उहाँले भन्नुभयो ‘त्योसँगै यस क्षेत्रमा अन्य संरचना निर्माणका लागि हामीले नगरपालिका र माथिल्ला सरकारसँग पहल र समन्वय गर्नेछौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *