कोरोना पछि पर्यटकीय स्थलमा चहल पहल बढ्दै

आदर्श अनाइन, बागलुङ
गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका छ महिना पछि खुल्यो । कोरोना संक्रमण घटेपछि मन्दिरमा आउने आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् । कोरोना अघि दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने चर्चित पर्यटकीय गन्तव्य पञ्चकोटमा तीन महिना पछि फ्याट्टफूट्ट आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।

विश्वकै चर्चित पर्यटकीय स्थल ढोरपाटनमा शिकार खेल्नका लागि विदेशी पर्यटहरुले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला संग्रहलाय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम संग्रहलायलमा पर्यटकको चलह पहल शुरु भइसकेको छ ।

बागलुङका अधिकाँश व्यवसायलाई समेत खोपको प्रबन्ध भए पछि बागलुङमा व्यापार व्यवसाय समेत नियमित लयमा फर्किएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

“होटल तथा अन्य व्यवसायीलाई खोपको समेत व्यवस्था गर्दै आएको छौं, अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ, कालिका मन्दिर, पञ्चकोट लगायत धार्मीक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटकहरु देखिन थालेका छन्” राजभण्डारीले भन्नुभयो “कोरोनाको दोस्रो लहरमा ठप्प रहेको बागलुङका व्यवसायीको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसायहरु उठ्न थालेका छन्, अब कोरोनाले थलिएको बागलुङको व्यापार व्यवसाय चलयमान भइरहेको छ ।”

अहिले बागलुङ र पर्वत जिल्लाको बिचमा रहेको कालिगण्डकी नदी माथि रहेको बञ्जी पुलमा आउने पर्यटकहरु समेत बागलुङ बजारमा आउन थालेपछि बागलुङका होटलहरुमा चहलपहल भइरहेको छ ।

अहिले होटलहरुमा औपचारिक कार्यक्रम, सिनेमा हल सञ्चालन तथा पर्यटकीय स्थल घुम्न आउने पर्यटकहरुले होटलमा पुन चहल पहल शुरु भएको होटल तथा रेष्टुराँ व्यवसायी संघ बागलुङका अध्यक्ष तथा होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारीले जानकारी दिनुभयो ।

“थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ, होटलमा पाहुनाहरु आउन थालेका छन्, अब केही आशावादी भएका छौं, खोपको व्यवस्थापन भइरहेकाले व्यवसायीहरु समेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौं” राजभण्डारीले भन्नुभयो “पछिल्लो समय बागलुङमा नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान र प्रर्बद्धन भएपछि निकै राम्रो भएको थियो, कोरोनाले यहाँका व्यवसायीलाई धरासायीनै बनायो, अहिले पुनः सुरु भएकाले केही राहत अबश्य हुनेछ ।”

पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरना पर्यटककको आर्कषण बन्न थालेको भए पनि कोरोनाको कारण समस्यामा परेका थिए । अहिले पुन पर्यटकीय क्षेत्रमा चहलपहल शुरु भइरहेको छ । विश्वकै लामोपुल गण्डकी गोल्डेन बृज, बागलुङ कुश्मा बन्जी पुलमा अहिले आन्तरिक पर्यटकहरुको भीडनै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मंगलबार र शनिबार भक्तजनहरुको चाप बढी छ । दर्शनार्थीहरुलाई सामाजिक दूरी कायम गरी मन्दिर अवलकोन तथा दर्शन गर्ने व्यवस्था मिलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *