धौलागिरी अस्पतालमा ८६ वर्षीया महिलाको जोर्नी प्रत्यारोपण

आदर्श अनलाइन, बागलुङ

बागलुङको धौलागिरी अस्पतालमा पहिलोपटक ८६ वर्षीया महिलाको जोर्नी प्रत्यारोपण गरिएको छ । भदौं २४ गते लडेर देब्रे कम्मरको जार्नीमा रहेको हड्डीको गेडी भाचिएको तुलसा थापाको बिहीबार सफल रुपमा जोर्नी प्रत्यारोपण गरिएको धौलागिरी अस्पतालले जनाएको छ । जस्लाई मेडिकल भाषामा ‘नेक अफ फिमर’ भन्ने गरिन्छ ।

दुर्गम जिल्ला मध्येको बागलुङ स्थित सरकारी अस्पतालमा ८६ वर्षीया थापाको हड्डी प्रत्यारोपण गरिएको धौलागिरी अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रतिक आचार्यले जानकारी दिनुभयो । कम्मरको देब्रे तर्फको गेडी जोर्नी शल्यक्रिर्या मार्फत निकालेर स्टिलको गेडी राख्न सफल भएको र यो अत्यन्तै जोखिमपूर्ण रुपमा भएपनि जोर्नीको प्रत्यारोपण सफल भएको डा. आचार्यले आदर्श अनलाइनलाई बताउनुभयो । “उहाँको पहिलो जोखिम भनेको उमेर हो, ८६ वर्षको उमेरमा शल्यक्रिर्या मार्फत प्रत्यारोपण विरलै हुन्छ, अझ पहाडको सरकारी अस्पतालमा” आचार्यले आदर्श अनलाइनलाई भन्नुभयो “हाम्रो शल्यक्रिर्या समूहले निकै जोखिम मोलेर शल्यक्रिर्या गरेर हड्डी प्रत्यारोपण गरेका हौं, एक जनाले मात्रै यो गर्न सकिदैन, सबैको सहयोगले यो संभव भएको हो ।”

आचार्यका अनुसार यस अघि आफ्नै नेतृत्वको समूहले ७० वर्षका वृद्धको जोर्नी प्रत्यारोपण गरेपनि त्यो भन्दा बढी उमेरको हड्डी प्रत्यारोप भएको यस अस्पतालको पहिलो भएको बताउनुभयो । उमेर जती बढी भयो त्यतीनै शल्यक्रिर्या तथा प्रत्यारोपण कम सफल हुँदै आएपनि ८६ वर्षकी आमाको सफलतापूर्वक स्टिल गेडी जोर्नी प्रत्यारोपण गर्न सफल भएको एनेस्थेसिया डा. नविन पौडेलले बताउनुभयो । “विरामीलाई बेहोस बनाएर गरिने शल्यक्रिर्यामा उमेरको ठूलो महत्व हुन्छ, उमेर बढी भएसंगै शरिर कमजोर हुन्छ, फोक्सो तथा हड्डी कमजोर हुन्छ, हामीले यो स्तरको सरकारी अस्पतालमा जोखिम मोलेकै हो” डा. पौडेलले आदर्श अनलाइनलाई भन्नुभयो “यस्ता शल्यक्रिर्या गर्न अस्पताल व्यवस्थापन समित र मेडिकल सुपरीटेन्डेण्टको समेत ठूलो सहयोग छ ।”

तीजको दिनमा बागलुङ नगरपालिका–१० भकुण्डे निवासी तुलासा थापाको शौचालय जाने क्रममा लडेर कम्मरको देब्रे जोर्नी भाँचिएको थियो । परिवारले यस अघि धौलागिरी अस्पतालमा शल्यक्रिर्या गर्न दुई पटक ल्याउदा समेत उहाँले शल्यक्रिर्या गर्न मान्नुभएको थिएन । तर दुखाई बढी भएको र विस्तारामै थला पर्ने अवस्था आएपछि शल्यक्रिर्याका लागि परिवारले तेस्रो पटक अस्पताल ल्याएको र शल्यक्रिर्या सफल हुँदा खुसी भएको थापाका नाती धन बहादुर थापाले बताउनुभयो । उहाँलाई अझै १० दिन अस्पतालमानै राखिने छ ।

उहाँ प्रत्यारोपण पछि सामान्य हिड्डुल गर्न सक्ने अवस्थामा आउने चिकित्सकहरुको आशा छ । अस्पतालको मेहनतका कारण अहिले हाड जोर्नी सम्बन्धी शल्यक्रिर्या बढ्दै गएको र गत भदौं महिनामा मात्रै ४५ वटा हाडजोर्नीकै शल्यक्रिर्या सम्पन्न भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले आदर्श अनलाइनलाई बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *