बलेवामा १५ शैयाको बागलुङ नगर अस्पताल


–आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकामा १५ शैयाको नगर अस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरुप बागलुङ नगरपालिका–१३ पैयुपाटामा १५ शैयाको नगर अस्पतालको शुक्रबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुृभयो ।



नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा ९ रोपनी जग्गा व्यवस्थापन गरेपछि नेपाल सरकारले नगर अस्पताल स्विकृत दिएको छ । पैयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी बागलुङ नगर अस्पतालको रुपमा सेवा दिन थालिएको छ । नगर अस्पताललाई आवश्यक भवन निर्माण कार्य ठेक्का स्विकृत भएर अगाडी बढेको र अहिले साविक स्वास्थ्य चौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“जग्गा अपुग तथा अन्य स्थानमा समेत नगर अस्पताल स्विकृत भएकाले समस्या भएको थियो संसोधन पश्चात पैयुपाटामै नगर अस्पताल स्थापना भएको छ” नगर प्रमुख पौडेलले भन्नुभयो “प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने भएको छ, तत्कालै हामीले एक जना मेडिकल अधिकृत व्यवस्थापनका लागि रु. १० विनियोजन गरेका छौं, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वेडका लागि केही स्वास्थ्य सामाग्री प्रदान गरेको छ, आजकै दिनबाट अस्पतालले सेवा दिन थालेको छ ।”

नगर अस्पताल शुरु भएपनि सेवा दिदै गर्ने र आवश्यक अनुसार नौ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण हुँने गण्डकी प्रदेशको स्वास्थ्य तथा जन संख्या मन्त्रालयका डा. राम बहादुर केसीले बताउनुभयो । उहाँले १५ शैयाका लागि आवश्यक दरबन्दी छिट्टै पठाउने बताउनुभयो ।

आइएमी गु्रपमा अध्यक्ष चन्द्र ढकालको रु. १० लाख र अन्य स्थानीयको दिएको पाँच लाख गरी १५ लाख लागतमा जग्गा खरिद गरेर अस्पताल निर्माण गर्न थालेको बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । “धेरै दुख गरेर जग्गाको जोहो भएपछि अस्पतालले स्विकृत पायो, अहिले स्वास्थ्यचौकीबाटै सेवा दिइने र अस्पताल निर्माण तत्कालै थालिने छ” अध्यक्ष पौडेलले भन्नुभयो “नगरपालिकाको निरन्तरको पहलमा ढिलै भएपनि अस्पताल शुरु भएको छ जस्ले बलेवा क्षेत्रका वासिन्दालाई स्वास्थ्य सेवा पाउन निकै सहज हुँनेछ ।” दैलोमै अस्पताल शुरु भएपछि खुसी लागेको स्थानीय पवित्रा कुमारी रोकाले बताउनुभयो ।

अस्पताल निर्माणको लागि सरकारले रु. १८ करोड बजेट बिनियोजन गरेपनि रु. १२ करोड ८७ लाखमा महालक्ष्मी निर्माण सेवा संग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । स्वास्थ्य चौकीमा हाल सम्म जनस्वास्थ्य निरिक्षक सहित ८ जनाले सेवा दिदै आएका थिए । स्वास्थ्य चौकीका प्रमुख दुर्गा प्रशाद पौडेलका अनुसार आजकै दिनदेखि अस्पतालले प्रदान गर्ने सेवा दिदै जाने र जनशक्ति तथा उपकरण थपिदै जानेछन् । नगर अस्पतालमा २ दुई मेडिकल अधिकृत सहित २७ दरबन्दी स्विकृत भएको छ । अस्पताल स्थापना भएसंगै १५ शैया, प्रयोगशाला, फर्मेसी लगयातका अन्य सेवा थपिनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *