सरकारी विद्यालयनै चलाउन हम्मे

डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा गत वर्षदेखि कक्षा १० संचालन हुँदै आएको छ । प्रावि तहदेखिनै ऋणको भारी बोक्दै आएको यस विद्यालयले माथिल्लो तह संचालन गर्दा झनै ऋण बेहोर्नु परेको छ । यहाँ अध्यापन गराउने शिक्षकले वषौँदेखि बेतलबी रुपमा पनि पढाउँदै आएका छन् ।

दुर्गम गाउँ त्यसमाथि पनि पर्यात स्रोत साधनको अभाव र पनि स्थानीयको सक्रियताले हालसम्म ऋणमै भए पनि विद्यालय संचालन हुँदै आएको छ । विद्यालयको अवस्था निकै कमजोर हुँदा वि.सं. २०६९ सालदेखि तलब नखाएका र कम तलब खाएर पढाउने धेरै शिक्षक छन् । करिब नौँ वर्षको अवधीमा शिक्षकहरुलाई १० लाख भन्दा बढी तबल भुक्तानी गर्न बाँकी रहेको विद्यालयले जनाएको छ ।

माविसम्म संचालन भए पनि हाल यस विद्यालयमा ३ जना प्राथमिक तहका स्थायी शिक्षक छन् । अन्य ७ शिक्षकलाई गाउँपालिकाबाट प्राप्त हुने सहयोग र स्थानीय स्रोतबाट तलब खुवाउँदै आइएको छ । सम्बन्धित निकायबाट प्राप्त दरबन्दी र शिक्षक व्यवस्थापन नहुँदा विद्यालयले वर्षौँदेखि ऋण थेग्दै आएको विद्यालयका प्रधानाध्यपक टेकबहादुर बुढा मगरले बताउनुभयो । २०६९ सालदेखि शिक्षकले आधा तलब खाएको र धेरैको तलब बाँकी रहेको बुढा बताउनुहुन्छ । ‘धेरै शिक्षक स्टाफलाई तलब दिन बाँकी छ, मेरो पनि केही रकम बाँकी छ, सबैको गरेर १० लाख भन्दा बढी रमक शिक्षकहरुलाई भुक्तानी गर्न बाँकी छ’ प्रअ बुढा मगरले भन्नुभयो ।

विद्यालय २०२१ सालमा स्थापना भई विभिन्न समयमा प्रावि, निमावि हुँदै मावि सम्म संचालन हुँदै आएको छ । प्रावि तहसम्म पठनपाठन हुँदा पनि कहिले विद्यालय भवन, कहिले डेक्स बेन्च त कहिले शिक्षक अभाव बोक्दै आएको यस विद्यालय अहिले सम्म आउँदा पनि अभावै अभावमा गुज्रिँदै आएको छ । सम्बन्धित निकायले भौतिक संरचना निर्माणमा जोड दिए पनि अन्य व्यवस्थापनमा चासो नदेखाएको स्थानीय बताउँछन् ।

गाउँपालिकाले कक्षा आठ सम्म पढाउने शिक्षकलाई आधा तलबको व्यवस्थापन गरे पनि विद्यालयले आधा थप गरेर दिनु पर्ने अवस्था रहेको प्रअ बुढा मगरको भनाई छ । प्राविको तहमा ५ जनाको दरबन्दी रहे पनि अहिले ३ जना मात्रै रहेको उहाँको भनाई छ । विद्यालयमा दरबन्दी परिपूर्ति गर्न निमावि तहमा ४ वटा र मावि तहमा ३ वटा दरबन्दी आवश्यक रहेको बताउनुभयो ।

‘गाउँपालिकाले कक्षा ८ सम्म पढाउने शिक्षकका लागि मात्रै तलब दिने गरेको छ, तर पूरै तलब होइन विद्यालयले आधा थप गरेर दिनु पर्छ, विद्यालयको आम्दानीको स्रोत केही छैन, विद्यालय चलाउन निकै हम्मेहम्मे भएको छ,’ उहाँले भन्नुभयो ‘स्थानीयले पनि वषौँदेखि सहयोग गर्दै आउनु भएको छ, सहयोग माग्दा माग्दै दिक्क भइसक्यौ, सहयोग गर्नेले पनि कति गरुन्, अहिले सम्म मागेर चलेको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशल बुढा मगरले विद्यालयको भौतक तथा शैक्षिक सुधारका लागि स्थानीय वर्षौँदेखि जुटिराखेको र अहिले पनि सहयोग संकलन अभियानमा लागेको बताउनुभयो । उहाँले लामो समयदेखि शिक्षकहरुको तलब बाँकी रहेकाले उनीहरुको बाँकी तलब भुक्तान गर्ने र विद्यालयका भौतिक तथा शैक्षिक विकासमा लागि सहयोग अभियान अपरिहार्य कदम भएको बताउनुभयो ।

‘विद्यालयको अवस्था निकै कमजोर छ, भौतिक पूर्वाधा र शैक्षिक गुणस्तर पनि निकै दयनीय अवस्था छ, त्यसको व्यवस्थापनका लागि हामीले अहिले फेरि एउटा अभियान चलाएका छौँ,’ उहाँले भन्नुभयो, ‘अभियानमा धेरैको साथ छ, बिस्तारै विद्यालयको सबै पक्ष सुधार गर्ने गरि हामी लागेका छौँ ।’

विद्यालयको विकासका लागि चलाएको आर्थिक अभियानमा एकैदिन १० लाख २२ हजार ६५५ रुपैयाँ संकलन भएको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । यो अभियानबाट ४५ लाख संकलन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । हाल यस विद्यालयमा कक्षा १ देपख १० सम्म ३० सय बढी विद्यालर्थी अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *