कालिगण्डकी करिडोरको बागलुङ खण्ड कन्तबिजोग


–आदर्श अनलाइन, बागलुङ

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका आयोजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने भनेपनि कालिगण्डकी करिडोर बागलुङ खण्डकोे हालत कन्तविजोग भएको छ । बागलुङको मालढुङ्गा हुँदै दक्षिण भेग वलेवा, जैमिनी हुँदै गुल्मी जोड्ने खण्ड वर्खा लागेसंगै जीर्ण बन्दा सवारीलाई उक्त सडकमा घण्टौ सवारी फस्ने गरेको छ ।

असारपछि पटक–पकट अबरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्डको सिधा यातयात अहिलेपनि अबरुद्ध नै छ । वैकल्पिक बाटो मालढुङ्गा देखि गलुवा जाने स्थानमा पहिरोले करीडोर अबरुद्ध भएपछि अहिले बैकल्पिक मार्गको रुपमा मालढुङ्गा दव्ल्याङ हुँदै करिडोरमा पुग्न सकिन्छ ।

अहिले दम्काको फाँट नजिकै हिलाम्मे सडकमा दैनिक जसो सवारी फस्ने गरेको सवारी चालक शिव शर्माले जानकारी दिनुभयो । बागलुङको मालढुङ्गा देखि बलेवा विमानस्थल सम्मको १० किलोमिटर सडक सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्ष वित्दा समेत कालोपत्रे हुने नसक्दा यात्रुलाई सास्ती भएको छ । भकुण्डेको एक्लेसालमा असार देखि सडक बन्द हुँदा बलेवा, जैमिनी जाने साना ठूला सवारी करिडोरको सडकनै प्रयोग गर्दा घण्टौ जाममा समेत पर्ने गरेको छ । ८ मिटर चौडा बनाएको नेपाली सेनाको निर्माण कार्यदलले दाबी गर्दै आएपनि अहिले पहिरोका कारण उक्त सडकको आधा जस्तो भागमा सडक चार मिटरमा मात्रै समिति रहेको छ ।

पहिरो खसेको ठाउँमा अस्थायी रुपमा सडक सञ्चालनमा आउदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । सडकको ट्रयाक खोलेर ८ मिटर चौडा पार्ने जिम्मा पाएको नेपाली सेनाले बागलुङ खण्ड हस्तान्तरण गरिसकेको नेपाली सेनाको निर्माण कार्यदलका रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । भट्टराईले असारको समयमा सडक बन्द भएको अवस्थामै सडक हस्तान्तरण गर्दा बागलुङ खण्ड वेवारिसे जस्तै बन्दै आएको छ ।

अहिले पहिरोले सडक बन्द भएपछि कस्ले खुलाउने भन्ने विषयमा समेत दुविदा हुँदा सडक अविभावक विहिन जस्तै बनेको छ । शुरुमा सडक स्तरोन्नती र कालोपत्रेको काम सडक विभागले गर्ने गरी हस्तान्तरण भएपनि पछि कालिगण्डकी करीडोर आयोजना कार्यालय पाल्पा अन्र्तगतनै काम भइरहेको छ । तर पाल्लाको कार्यालयले बागलुङ खण्डमा सडक मर्मत सम्भार नगर्दा समस्या भएको छ ।

कालिगण्डकी करिडोर गौडाकोट, राम्दी मालढुङ्गा आयोजना कार्यालय पाल्पाका इन्जिनियर रविन लामिछानेका अनुसार पहिला हस्तान्तरण गरिएको १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्कामा लैजान खोजेपनी सोही सडकको पाँच किलोमिटरमा सडक डिभिजन कार्यालयलय बागलुङले ठेक्का मार्फत स्तरोन्नतीको कार्य गरिरहेकाले समस्या भएको बताउनुभयो । “हामी संग स्रोत र साधनको समेत अभाव रहेको छ, करिडोर मर्मत सम्भार गरेको रकम समेत सडक डिभिजनलाईनै माग्नुपर्ने अवस्था हो” लामिछानेले भन्नुभयो “अहिले हस्तान्तरण भएको बागलुङ खण्डको २८ किलोमिटर सडक बातावरणीय प्रभाव मुल्याङ्कन भइरहेको छ, मुख्य कुरा सडक डिभिजन कार्यालय संग समन्वय त भइरहेको छ तर दोहोरो ठेक्काले समस्या भयो ।” उहाँले बागलुङ खण्डमा भएको अबरोध तथा समस्याका विषयमा हामीले कार्यालयमा जानकारी गराउने बताउनुभयो । बागलुङ खण्डको सडक मर्मत सम्भार कार्यलाई तिब्रता दिने गरी कार्यालयले योजना बनाउने लामिछानेले बताउनुभयो ।

अहिले मालढुङ्गा देखि बलेवा जाने सडक सम्मको पाँच किलोमिटर सडक सडक डिभिजनले ठेक्का लगाएर स्तरोन्नती गरिरहेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुरेन्द्र गौतमले बताउनुभयो । सडक विभागसंग समन्वय गरेर कालिगण्डकी करिडोरलाई कालोपत्रे गर्नका लागि हामीले निरन्तर काम गरिरहेको उहाँको भनाई छ । हामीले पटक पटक बागलुङका दुई राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेका मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरलाई कालोपत्रे गर्न पटक–पटक सदनमा समेत आवाज उठाएपनि सुनुवाई नभएको बागलुङ क्षेत्र नम्बर १ का सांसद डा. सूर्य पाठकले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रेका लागि ढिलाई भएको प्रती स्थानीयले समेत गुनासो गरिरहेका छन् । सडक खुलाउनका लागि अहिले स्थानीय जनप्रतिनिधिले सक्रियताका देखाउदै आएका छन् । हाम्रै सक्रियतामा दक्षिण भेज जाने करिडोर बेलाबेलामा खुलाइएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजना भएपनि नगरपालिका जनताले दुख पाएपछि पटक–पटक नगरपालिकाको समेत डोजर सडक खुलाइरहेको बताउनुभयो ।

२०७६ पुस १ गते मालढुङ्गा बलेवा सम्मको सडक हस्तान्तरण गरिए पनि सडक विभागले अहिले सम्म कालोपत्रेको सुरसार समेत गरेको छैन । कालीगण्डकी करिडोर त्रिदेशिय सडक हो । यसले छिमेकी भारत र चिनलाई जोड्नेछ । मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको थियो । सेनाले बागलुङको सबे सडक हस्तानतरण गरिसकेको छ । अत्यधिक पहरो र कडा चट्टान भएकाले करिडोरको जिम्मा सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि करिडोले साकार पाएपनि स्तरोन्नती र कालोपत्रेमा ढिलाई भएकको छ ।

२०५७ पुस १ गतेका दिन गुल्मीमा शिलान्यस भएको उक्त सडक २० वर्ष पछि सवारी चल्ने अवस्थामा आएको छ । करिडोरको बागलुङ र गुल्मी खण्डको ८० किलोमिटर मध्ये पाँच वटा खोलामा बेलिब्रिज निर्माण छन् ।

चीन र भारतलाई सिधा रूपमा जोड्ने करिडोर निर्माण सम्पन्न भए अब भारतका लाखौँ तीर्थयात्रीहरु नेपाल आएर रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्नेछन् भने चीनका बौद्धमार्गीहरु भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा आउने भएकाले यसलाई दुई धर्मावलम्बीहरुको एउटै मार्गका रूपमा लिँदै आएको सामाजिक अभियानकर्मी टीकाराम ढकालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *