दम्काको फाँट सिञ्चित गर्न ड्रिलिङ र लिफ्ट योजना


–आदर्श अनलाइन, बागलुङ

अहिले दम्काको फाँट हरियाली छ । वर्षा राम्रो भएकाले दम्काको फाँटमा राम्रो धान फल्ने किसानको अपेक्षा छ । बागलुङ नगरपालिका–१३ स्थित दम्काको फाँट नगरपालिकाकै सबैभन्दा ठूलो उर्बर फाँट हो । वर्खाको भल छोपेर लगाइएको धानबालीमा आकाशे पानीको भर हुन्छ । आकाशबाट राम्रो पानी पर्दा धेरै धान फल्ने उक्त खेत हिउँदमा सधैजसो बाँझो हुन्छ ।
दुई हजार २०० रोपनी क्षेत्रफल सिञ्चाइको अत्याधिक अभावका कारण हिउँदमा बाँझो रहने दम्का फाँटमा वर्खाको समयमा खेत रोप्न समेत आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको सोग्रेन्द्र खत्रीले बताउनुभयो ।

“दम्काफाँटमा मेरो मात्रै चार रोपनी खेत छ, अन्य क्षेत्रको तुलनामा दोब्बर धान पल्छ, निकै उर्वर भूमी हो दम्काको फाँट तर हिउँदमा खेती लगाउने कुरै छोडौ, बर्खामा खेत रोप्न समेत हम्मे हम्मे पर्छ । अहिले अत्यधिक पानी परे पछि खेत हरियाली भएको छ” किसान खत्रीले भन्नुभयो “खेत भन्दा माथि खोला नभएका कारण सिञ्चाइको व्यवस्था हुन सकेको छैन, अहिले ड्रिलिङ र लिफ्ट मार्फत सिञ्चाई गर्ने गरी आयोजना शुरु हुने खबरले निकै खुसी लागेको छ ।” दुई हजार ३०० रोपनी जग्गा रहेको उक्त फाँटमा सिञ्चाइको अभाव टार्नका लागि बागलुङ नगरपालिकाले महत्वकांक्षी योजना अघि ल्याएको छ । बागलुङ नगरपालिका संगको निरन्तर पहल कदमीबाट दम्काफाँटमा ड्रिलिङ प्रविधि मार्फत खानेपानी निकाल्ने गरि ठेक्का प्रकृयामा गएको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

उर्वर भूमी बाँझो रहेका कारण चालु आर्थिक वर्षमा केही रोपनीलाई पुग्ने गरि ड्रिलिङ प्रविधि मार्फत जमिनमुनीबाट पानी निकालेर सिञ्चाई गर्ने गरि २३ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयोे । “नगरपालिकाकै ठूलो उर्वर खेतको फाँट हिउँदमा बाझै, वर्खामा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यतालाई हामीले मनन गर्दै ड्रिलिङ प्रविधि मार्फत पानी निकालेर सिञ्चाई गर्ने र जलस्रोत मन्न्त्रालय मार्फत सोलार प्यानलबाट लिफ्ट मार्फत सिञ्चाई गर्ने दुई योजना एकसाथ अगाििड बढेको छ” नगर प्रमुख पौडेलले भन्नुभयो “उर्वर भूमी सिञ्चाईको अभावमा बाँझै रहँदा परनिर्भरता बढ्छ, त्यसैले चालु आर्थिक वर्षमानै ड्रिलिङको पानीले सिञ्चाई गर्ने र पुरै दम्का फाँट सिञ्चाई गर्न सोलार मार्फत लिफ्ट आयोजना कार्यान्वयनमा ल्याइने छ ।”

ठेक्का सम्झौता भएको तीन महिना भित्र दम्कामा सिञ्चाई गर्नका लागि जमिनमुनीबाट पानी निकालिने बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो । उहाँका अनुसार दम्का फाँटको केही भागमा सिञ्चाई पुग्ने गरि जमिनमुनीबाट प्रविधिको प्रयोग गरेर पानी निकालिनेछ । यस प्रविधि मार्फत पानी निकाल्ने योजना बागलुङमा सफल भइसकेकाले यस्तो योजना ल्याइएको उहाँले बताउनुभयो । खेत रहेको स्थान भन्दा झण्डै ३०० मिटर तल पाइप गाडेर पानी माथि तानिनेछ ।
उक्त योजना बागलुङ नगरपालिका १ रामरेखा स्थित चिल्डेन लाइफ बोर्डिङ स्कुल तथा धौलागिरी अस्पतालमा सफल भइसकेको छ । सिञ्चाई गर्नका लागि कुलो निर्माण गरी पानी ल्याउन असम्भव भए पछि बागलुङ नगरपालिकाले महत्वकांक्षी योजना अघि सारेको हो ।

उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय अन्तर्गत रहेको रुपाताल संरक्षण तथा एकीकृत विकास योजना कार्यालय, पोखरा मार्फत् अहिले कालिगण्डकीको पानी सोलारबाट बिद्युत उत्पादन गरी लिफ्ट आयोजना सञ्चालनका लागि समेत अध्ययन भइरहेको छ ।

यसवर्ष अध्ययन संगै डिपिआर बनाएर लिफ्ट मार्फत पानी तान्ने रुपाताल संरक्षण तथा एकीकृत विकास योजनाका इन्जिनियर कृष्ण विकेले जानकारी दिनुभयो । कालिगण्डकी माथि रहेको दम्काफाँटमा सोलार प्यानल राखी उत्पादन भएको विद्युतले कालिगण्डकी किनारमा इनार बनाएर पानी ल्याएर दम्का फाँटमा हिउँद र वर्खा दुवै समयमा सिञ्चाई गर्ने योजना रहेको छ ।

उक्त दुई योजना सफल भएमा दम्का फाँटमा सुख्खा हैन, हिउँद वर्खानै हरियाली देखिनेछ । दुई हजार २०० रोपनी जग्गामा पूर्ण रुपमा सिञ्चाई गर्न सके बागलुङ नगरपालिकामा धान तथा गहुँ उत्पादनमा उल्लेख्य वृद्धि समेत हुन सक्नेछ । त्यस स्थानमा एकीकृत रुपमा व्यावसायिक तरकारी खेती गर्ने सम्भावना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *