चाडबाडमा ठगी र दुर्घटना रोक्न ट्राफिक सक्रियता

डम्मर बुढा मगर, बागलुङ
हरेक वर्ष चाडबाडको समयमा गाउँ फर्कनेको लर्को लाग्छ । शहर बजारदेखि गाउँ फर्किनका लागि यात्रुहरुले गाडी नपाउँदा ज्यान जोखिममा पारेर यात्रा गरेको गर्ने समस्या एकातर्फ देखिन्छ भने अर्को तर्फ चर्को भाडा लिने गरेको गुनासो पनि व्यापक हुन्छ ।

लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधनहरुमा यो समस्या देखिँदै आएका छन् । गाउँ पुग्ने गाडी सहज रुपमा नपाए पछि यात्रुहरु गाडीमा कोचाकोच गरेरै यात्रा गर्न बाध्यता हुन्छ । त्यत्ति मात्रै होइन, कोरोना कहरकै बिच गाडीको छत, ढोका र झ्यालमा समेत झुण्डिएर यात्रा गर्ने प्रवृत्ति पनि देखिने गरेको छ ।

यस समयमा नागरिकलाई सहज रुपमा गाउँ घर र गन्तव्य सम्म पुग्नका लागि ट्राफिक प्रहरीले विशेष सक्रियता देखाउने गर्दछ । यसपटक पनि सडकको ठाउँ–ठाउँमा बसेर तथा ‘यात्रु हेल्प डेक्स’ स्थापना गरेर सहज र सुरक्षित यात्राका लागि सहज बनाउने योजना तय गरिएको छ ।

यस वर्षको महान पर्व बडादसैंको मिति नजिकिँदै गर्दा काम तथा पढाइको शिलशिलामा सहर बजार छिरेकाहरु बिस्तारै गाउँ फर्किन थालेका छन् । कोरोनाका कारण थोरै यात्रु बोकेर हिँड्ने गाडीहरु पछिल्लो केही समय यता भरिभराउ देखिन थालेका छन् । बजारमा पनि चहल पहल बढ्न थालेको छ । अब बिस्तारै ग्रामीण क्षेत्रमा जाने गाडीहरुमा ओभर लोडको समस्या देखिने प्रहरी आँकलन पनि छ ।

यो समयमा गाडीवालाले मनपरी भाडा समेत असुल गर्ने गर्दछन् । यातायात समितिले तोकेको भन्दा दोब्बर तेब्बर भाडा समेत असुल्ने गरेका छन् । यो समयमा नागरिकहरुलाई सहज रुपमा घर पु¥याउन मद्दत पुग्ने गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लाका ६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

योसँगै कोरोना संक्रमणबाट समेत जोगिनका लागि ट्राफिक प्रहरीले ‘माक्स लगाउँ, दुर्घटनाबाट बचौँ’ कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रिनाथ शर्माले जानकारी दिनुभयो । चाडबाडको समयमा धेरै दुर्घटना हुने र नागरिकहरुले जाखिमपूर्ण यात्रा गर्नु पर्ने भन्दै त्यसलाई रोक्नका लागि जिल्लाको बुर्तिबाङ, चिप्लेटी बसपार्क, दोबिल्ला, हटिया, खर्बाङ, मालढुङ्गामा ‘नागरिक सहायता कक्ष स्थापना गरेको उहाँले बताउनुभयो ।

‘धेरैजसो दुर्घटना चाडबाडको समयमा हुन्छ, यो समय धेरै नागरिक जोखिम मोलेरै गाडीमा यात्रा गर्छन्, गाडी चालकहरुले पनि क्षमता भन्दा बढी यात्रु गाडीमा राखेका हुन्छ,’ ट्राफिक प्रमुख शर्माले भन्नुभयो ‘यसरी यात्रा गर्दा दुर्घटना हुने जोखिम बढी हुन्छ, त्यसलाई रोक्नका लागि हामीले जिल्लाको विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ ।’

उहाँले जोखिमपर्ण यात्रासँगै नागरिकहरु ठगिने भन्दै विभिन्न स्थानमा चेकिङ पोस्ट समेत राख्ने गरेको बताउनुभयो । चालकले ट्राफिकको आँखा छलेर क्षमता भन्दा बढी सवार गराउने र दोब्बर तेब्बर भाडा असुल गर्ने सम्भावनालाई ध्यानमा राखेर छड्के चेकिङ समेत गर्ने उहाँको भनाई छ । ‘यात्रुहरु आफैले पनि दोब्बर तेब्बर भाडा तिरेको कुरा हामीसँग लुकाउँछन्, चालकले आँखा छलेर बढी यात्रु हाल्ने समेत गरेको पाइएको छ, त्यसको लागि हामीले छड्के चेकिङको व्यवस्था गरेका छौँ, यो समयमा जसले ट्राफिक नियमको पालना गर्दैन, त्यसलाई कडा कारवाही हुनेछ’ शर्माले भन्नुभयो ।

चाडबाडको समयमा यातायातलाई थप व्यवस्थित रुपमा संचालन गर्नका लागि जिल्ला स्थित यातायात व्यवसायी, यातायात व्यवस्था कार्यालयका प्रमुख लगायत सम्बन्धित सरोकारवालासँग छलफल गरेको शर्माले बताउनुभयो ।

धौलागिरी कालीका यातायात प्रालिकाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले यात्रुलाई सहज रुपमा गन्तव्य सम्म पु¥याउँदै आएको भन्दै चाडबाडको समयमा आफूहरु थप संवेनशील भएर यातायात संचालन गरिने बताउनुभयो । काउन्टर व्यवस्थापनदेखि लिएर अन्य व्यवस्थापनमा समेत धौलागिरी कालिका यातायात प्रालि लागेकाले यो समयमा आफूहरुले अनुमगन समिति बनाएरै काम गरिरहेको अधिकारी बताउनुहुन्छ ।

‘हामीले आजैदेखि काउन्टर व्यवस्थापन गर्नेदेखि अनुगमन समिति बनाएर अनुगमनमा लागेका छौँ, हाम्रो यातायात प्रालिबाट संचालन भएका गाडीबाट कोही पनि यात्रु नठिगिउन् भन्ने हिसाबले हामी लागेका छौँ, कुनै गाडीले यात्रु ठग्ने, दुःख दिने गर्छ भने त्यस्ता गाडी चालकलाई हाम कारवाही गर्छौँ,’ अध्यक्ष अधिकारीले भन्नुभयो ‘यात्रुहरुलाई सहज रुपमा पु¥याउने हाम्रो लक्ष्य हो ।’

उहाँले समिति अन्तर्गत चल्ने गाडीले कहिल्यै तोकेको भन्दा बढी भाडा नलिएको दावी समेत गर्नुभयो । ‘हामीले कहिल्यै राज्यले तोकेको भन्दा बढी भाडा लिएका छैनौ, लिदैनौ, चाडबाडका बेला धेरै दुर्घटना हुने हुँदा गाडीको सिट क्षमता भन्दा बढी यात्रु नराख्न चालकहरुलाई भनिसकेका छौँ’ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *