यस पटक छैन सुपथ पसल

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

चाडपर्व नजिकिए संगै बागलुङमा उपभोग्य बस्तुको मुल्य वृद्धि हुन थालेको छ । तर, चाडबाडको समयमा सस्तो मुल्यमा नून चिनी विक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले समयमै नून चिनीको विक्री नगर्दा उपभोक्ता मर्कामा परेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ताहरुले चर्को मुल्यमा चिनी खरिद गर्दै आएका छन् । अहिले बजारमा चिनीको मुल्य प्रति केजी एक सय रुपैयाँ छ । चाडबाड नजिकिए पनि साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले नून चिनी वितरण गर्ने सुरसार नै गरेको छैन ।

सरकारले असोज १० गतेदेखि सुपथ मुल्य पसल सञ्चालनमा ल्याउन भने पनि हाल सम्म बागलुङमा सुपथ पसल खुल्न सेकेको छैन । चाडबाडको समयमा अन्य कुरा महङ्गोमा किन्दै आए पनि नून चिनी सूपथ मुल्य पसलबाटै खरिद गर्दा उपभोक्ताले राहत महुशुस गर्दै आएका थिए । तर, यो वर्ष सूपथ पसल सञ्चालनमा नआउँदा समस्या भएको उपभोक्ता हरी प्रसाद सापकोटाले बताउनुभयो ।

“गत वर्ष किलोमै १५ रुपैयाँ सस्तो र नून चार रुपैयाँ सस्तोमा पाइन्थ्यो, अहिले चिनीको मुल्य बढेर प्रति केजी ९५ पुगेको छ भने नूनको मुल्य २५ पुगेको छ” उपभोक्ता सापकोटाले भन्नुभयो “उपभोक्ताले चाडबाडको मुखमा महङ्गो मुल्य तिर्दा समेत सरकोकारवाला निकाय मौन छ ।” बिचौलियाले एक केजी चिनीमै १६ रुपैयाँ र एक केजी नूनमा ७ रुपैयाँ नाफा खाँदै आएका छन् ।

भारतबाट चिनी आयात नहुँदा दसैँ अघि नून चिनीको सुथप पसल खोल्ने सम्भावना निकै कम रहेको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका प्रमुख मनोज श्रेष्ठले बताउनुभयो । “भन्सार छुट प्रकृयाले ढिलाई भएको भन्ने जानकारी पाएको छु, म निरन्तर सम्पर्कमा भए पनि दसं अघि चिनी आउने सम्भावना निकै कम रहेको छ, चिनी आउँदा साथ पसल खुल्नेछ” । भन्सार छुटका लागि आपूर्तीले अर्थ, अर्थले भन्सारमा चिठी पठाउनुपर्ने र प्रतिस्थापन बजेटले गर्दा केही समस्या भएको बुझिएको उहाको भनाई छ । चिनी आए तिहारमा भए पनि सस्तो मुल्यमा उपभोक्तालाई नून चिनी वितरण गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

कहिले चिनीको मुल्य निर्धारण नहुँदा गोदाममै चिनी थन्किएको अहिले चिनीको मुल्य समयमै निर्धारण भए पनि चिनी नआएको डिपो कार्यालयको भनाई छ । कार्यालयका अनुसार अहिले सरकारले तोकेको चिनीको मुल्य ७९ र नूनको मुल्य १८ छ । तर, एक किलो चिनीमै १६ रुपैयाँ र नूनमा ७ रुपैयाँ बढी मुल्य उपभोक्ताले तिर्दै आएका छन् ।

गोदाममा नून रहे पनि चिनी नआउँदा सस्तो पसल खुल्न नसकेको डिपो कार्यालयको भनाई छ । डिपोले होलसेलमा उपलव्ध गराएको नून चिनी सस्तोमा विक्री गर्न आग्रह समेत गर्दै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले चिनी दिन नसके पछि खुल्ला बजारमा चिनीको मुल्य बढेको हुन सक्ने तर नूनको मुल्य भने बढाउन नपाइने बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो ।

“सरकारले तोकेको मुल्यमा व्यापारीले चिनी नपाएको गुनासो छ, त्यसैले बजारमा प्रति केजी ९५ रुपैयाँ परेको होला तर नून त १८ मा खरिद गरेपछि २० मा विक्री गर्नुप¥यो” प्रजिअ कार्कीले भन्नुभयो “२५ मा नून विक्री गरेको गुनासो समेत आएको छ, यस्तो गर्न पाइदैन, हामीले त्यस्ता व्यपारीलाई तत्कालै कारबाहीको दायरामा ल्याउने छौ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *