आदर्श अनलाइन, बागलुङ
कोरोनाको दोस्रो लहर अघि धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङमा दुई पाङ्गे्र सवारी चालक अनुमति पत्रका लागि तीन हजार ५ सय जनाको आवेदन परेको थियो । जारी निषेधाज्ञाका कारण आवेदन स्विकृत भएर रोकिएका आवेदकहरुको परीक्षा बल्ल सञ्चालन गर्न थालिएको छ ।
यातयात व्यवस्था कार्यालयलाई आवेदनको परीक्षा लिन अहिले हम्मे हेम्मे परिरहेको समेत छ । कोरोनाका कारण लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिन नसक्दा अनलाइन मार्फत स्विकृत भएका आवेदन, कार्यालयमा सम्पर्क गर्न नआएको, डिजिटल फोटो खिच्न नपाएका र लिखित परीक्षा पास भएर ट्रायल परीक्षा दिन नपाएका तीन हजार ५ सय परीक्षार्थी रहेको धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङका सवारी चालक अनुमति पत्र शाखाका प्रमुख श्याम कुमार थापाले बताउनुभयो ।
“कोरोनाको दोस्रो लहरपछि ठप्प रहेको सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्न थालेका छौं, अहिले नयाँ आवदेक र कोरोना अघिका तीन हजार बढी आवेदकलाई लिखित तथा ट्रायल पास गराउनका लागि कार्यालयलाई सकस समेत भएको छ” थापाले भन्नुभयो, “कार्यालयले योजना बनाएर पुराना आवेदकहरुलाई छिट्टै परीक्षामा समावेश गराउने गरी लागिएको छ ।”
यातयात व्यवस्था कार्यालयमा कोरोना पछि असोज १५ गते मात्रै २२० जनाले सवारी चालक अनुमती पत्रको ट्रायल परीक्षा दिएका थिए । धौलागिरी यातयात व्यवस्था कार्यालय बागलुङले दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको परीक्षा पास गर्दा साथ परीक्षणकालीन लाइसेन्स प्रमाणपत्र दिन समेत थालेको छ ।
यसरी राजश्व काट्दा साथ क्यू आर कोड जडित अस्थायी लाइसेन्स वितरण थालिएको कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । उहाँले वैशाख १७ गते देखि बाँकी रहेका तीन हजार ५ सय परीक्षार्थीलाई दशै लगत्तै नियमित परीक्षामा सहभागी गराइने र यस अवधीमा नयाँ आवेदनलाई समेत अगाडि बढाइने जानकारी दिनुभयो ।
“कार्यालयले व्यवस्थापन गर्दैछ, पुराना र नयाँलाई कोटा निर्धारण गरेर भए पनि आवेदन पछिका सबै प्रकृयामा ल्याउछौं” कार्यालय प्रमुख थापाले भन्नुभयो “कार्यालयले चार पाङ्ग्रे सवारी चालक अनुमति पत्रको परीक्षाका लागि समेत जग्गाको खोजी गरिरहेको छ, सरकारी जग्गा नपाएमा मापदण्ड अनुसारको निजी ट्रायल सेन्टरबाट चार पाङ्ग्रे सवारीचालक अनुमति पत्रको समेत परीक्षा लिने गरी अगाडि बढेका छौं ।”
यातयात व्यवस्था कार्यालयले कोरोना कहरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने जनाएको छ । कानूनमै व्यवस्था भएको एक वर्षे परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेको कार्यालयले एक वर्ष पछि उक्त लाइसेन्स खारेज नभएको खण्डमा पाँच वर्ष अवधीको स्मार्ट लाइसेन्स उपलव्ध गराउनेछ ।